रुपन्देहीका दुई युवाको उदाहरणीय काम

भिसा लागेको पासपोर्ट मेनपावरमा छाडी व्यवसायमा लगानी

bishownathरुपन्देही । विदेश जानका लागि गाँउमा ऋण खोजेर ठिक्क थियो । मेनपावरमा पासपोर्ट बुझाइसकेका थिए । विदेश जाने भित्रैदेखि इच्छा भने थिएन । पासपोर्टमा मलेसियाको तीन वर्षे भिसा पनि लागिसकेको थियो । जिल्लाको रुद्रपर–४ का विश्वनाथ ढकाल (२६), १२ कक्षा उत्तीर्ण भई बुटवल टेक्निकल इन्स्टिच्युटबाट तीन वर्षे आर्क वेल्डिङ् कोर्स सकेर बसेका थिए । भित्रैदेखि इच्छा नेपालमै बसेर केही गरौँ भन्ने थियो । त्यसैले भिसा लागेको पासपोर्ट मेनपावरमा छाडेर काठमाडौँबाट घर फर्किए २०६८ सालमा ।

त्यस्तै भर्खर एक वर्ष भएको थियो साउदी पुगेको उनी । उनी अर्थात् सोही स्थानका मदन पौडेल (३५) । २०६८ सालमा आफैले चलाएको ट्यांकर दुर्घटना भयो । उनलाई अझै याद छ जनै पूर्णिमाको दिन, दुर्घटना भएको तीन दिनपछि क्षतविक्षत भएको हात लिएर उनी नेपाल फर्किए उपचारका लागि । काठमाडौँको ओम अस्पतालमा उपचारका लागि राखियो । क्षतविक्षत भएको हात पाकेका कारण उपचार हुन सकेन र डाक्टरले हात देब्रे हात काटिदिए । उनी फेरि कामका लागि विदेश जान नसक्ने भए । हुन त आफैँले काम गरेको कम्पनीले उनलाई नबोलाएको पनि होइन तर उनी जान चाहेनन् ।

माथिका दुई फरक पृष्ठभूमि भएका युवाहरुको भेटले एउटा व्यवसाय थाल्यो २०६९ बैशाख १ गते । अहिले यी दुईले सञ्चालन गरेको व्यवसायले स्थानीय ५ जनालाई रोजगारसमेत दिएको छ । आफू नेपालमै स्वरोजगार भएर अरुलाई पनि रोजगार दिएका विश्वनाथ भन्छन्, ‘मैले मलेसियामा गएर कमाउने भनेको त्यही २०÷२५ हजार रुपैयाँ न थियो, मैले घरमै पाँच जनालाई सोही बराबरको तलब दिएर रोजगारी दिएको छु । यो भन्दा ठूलो सन्तुष्टि अरु के हुन सक्छ ।’
 
सुरुमा व्यवसाय सुरु गर्छु भन्दा आफूलाई कसैले ऋणसमेत नपत्याएको तितो यथार्थ उनीसँग छ । ‘घरमै व्यवसाय गर्छु भन्दा कसैले पनि पत्याएनन्, घरबाट पनि एकपटक विदेश गएर आइज, अनि कमाएको पैसाले व्यवसाय थाल भनेका थिए’, ढकालले भने, ‘त्यसैले आफ्नो सिपलाई एकातिर थाँती राखेर तरकारी बोक्न मलेसिया जान तयार भए ।’ यत्तिकैमा उनको भट मदनसँग भयो । मदन पनि विदेश नजाने यही केही गर्ने सोचमा थिए । मदनसँग के व्यवसाय गर्ने भन्ने उपाय थिए । एक हात पनि नभएको उनी पनि अन्यौलमा थिए । सिप भएका विश्वनाथको साथमा लागेर उनले व्यवसायमा लगानी गरी व्यवसाय सुरु गरे । यसरी सुरु गरेको बि एण्ड बि इञ्जिनियरिङ् अहिले तीन वर्ष पूरा भएको छ ।

फलाम तथा आल्मुनियमका झ्याल, ढोका, फेन्सि गेट, टसलगायतका बनाउने यो कम्पनीबाट तीन वर्षमा तालिमसमेत लिएर दक्ष भई आफ्नो व्यवसाय तथा अन्य स्थानमा रोजगार गरिहेको पौडेलले बताए । उत्पादनको जिम्मेवारी ढकालले समालेका छन् भने बजार व्यवस्थापनको जिम्मा मदनले लिएका छन् । ‘कामको चाप बढी छ, क्षमता बराबरको उत्पादन दिन सकिरहेका छैनौँ’, ढकालले भने, ‘लोडसेडिङ्को समस्या तथा कम भोल्टेजको विद्युत्ले समस्या परेको छ ।’ नयाँ अर्डर नलिए पनि एक वर्षका लागि काम रहेको उनले बताए । ‘१ सय ४५ वटा घरको काम चालु छ’, ढकालले भने ।

पौडेल व्यवसायसँगै सामाजिक सेवामा पनि लागेका छन् । उनी स्थानीय श्री लुम्बिनी ज्ञान निकेतन उच्च मावि र बुद्ध दीप अंग्रेजी आवासीय उच्च माविको विद्यालय व्यवस्थापन समितिका सदस्य हुन् । उद्योगबाट दुई परिवारको जीवन सहज रुपमा धानिएको छ । त्यतिमात्र होइन, ढकालले यही व्यवसायबाट बहिनीलाई आइटी तथा भाइलाई काठमाडौँमा स्नातोकोत्तर पढाइरहेका छन् ।   

‘विदेश गएको भए एउटा राम्रो घर बन्थ्यो होला, जीवन चल्थ्यो होला तर त्यो दिर्घकालीन हुने थिएन’, ढकालले भने, ‘अहिले घर मात्र होइन, दिर्घकालीन आय आर्जनको बाटो खुलेको छ ।’
दैनिक दक्ष युवाहरु विदेश पलायन हुँदै गर्दा यी दुई युवाले थालेको व्यवसाय उदाहरण बन्न सक्छ । चाहने हो भने नेपालमै केही गर्न सकिन्छ भन्छन् मदन । ‘आफ्नो सिपअनुसारको काम यही गर्ने हो भने विदेशमा भन्दा बढी कमाई गर्न सकिन्छ’, उनले भने, ‘त्यसको लागि सरकार तथा समाजले पनि प्रोत्सहान गर्नुपर्छ ।’

Loading...