सडक व्यवस्थापनमा युवा जोश

भाईँ कुन देशको भनेर सोध्छन्, दुःख लाग्छ: राई

काठमाडौँ । युवा जोश, केही गरौँ भन्ने अभिलाषा त थियो तर के गर्ने, कुनै काम थिएन । जीवनमा अनेक ठक्कर खाएको एक युवा काठमाडौँको चावहिलमा एक दिन कैयौँ घण्टा सडक किनारको रेलिङ्मा बसेर सडकमा नियाली रह्यो । सडकमा अनेक साना ठूला सवारी गुडे तर पनि सडकबीच खडा ट्राफिक भने दिनभर बीचमै खटिइरह्यो ।

 

 

केही गर्न इच्छा शक्ति चाहिन्छ । यही घटनाले बदल्यो शेखर राईको दैनिकी पनि । सडकमा बसेर पनि त केही गर्न सकिँदो रहेछ । त्यही दिन हो राईले सडकमा रहेर स्वयंसेवीको रूपमा काम गर्ने लिएको । काठमाडौँका सडकमा जहाँ बढी ट्राफिक जाम देखिन्छ त्यही भेटिन्छ एउटा युवा जोश । झुस्स केही छरिएर पलाएका दाह्री, मंगोलीयन अनुहार, सेतो घुमाउरो टोपी झट्ट हेर्दा चिनीया, जापानी वा कोरियन अनुहार, धेरै झुक्किन्छन् । बटुवाहरू सोध्छन्, ‘तपाईँको देश कुन हो ?’ सडकमा स्वयम्सेवकको रूपमा खटिन थालेको आठ वर्ष हुँदा अझै पनि यही प्रश्नले झस्काउँछ राईलाई । उनी भन्छन्, ‘अझै पनि मानिसहरू तपाईं कुन देशको भनेर सोध्छन्, कता कता आफू नेपाली होइन की भन्ने भान हुन्छ, आफ्नै देशमा समाज सेवा गर्दा पनि म नेपाली नै हुँ भनेर बताउँनु पर्दा कता कता दुःख लाग्छ ।’

२०६४ साल माघ १ गतेदेखि ट्राफिक सप्ताह हुँदा सुरुमा एउटा समिति बनाएर सडक व्यवस्थापनका लागि केही युवाहरु खटिन थाले । तिनै युवामध्येका एक हुन् २०३० सालमा पाँचथरमा जन्मिएका युवा शेखर । कैयौँ साथीले यो काम छाडिसके तर अझै पनि उनी उही जोशका साथ काम गरिरहेका छन् । केही वर्ष अगाडि एक जना विदेशी स्वयम्सेवीले सडक नियम उल्लंघन गरेको भन्दै एक जना ठूलै मान्छेलाई सडकमै थप्पड हाने । उनी थप्छन्, ‘एउटा विदेशीले नेपाली सडकको अवस्था सुधारका लागि काम गर्न सक्छ भने हामी नेपाली भएर पनि किन नगर्ने ? यही घटनाले मलाई अहिलेसम्म सडकमा खटाएको छ ।’

हँसिलो अनुहारभित्रको पिडा
एक सयभन्दा बढी टाँका लगाएको शरीर, अझै पनि शरीरभरि खुकुरीका दाग नै दाग छन् राईको । २०५२ साल भदौ १ गते ज्यान मार्ने आशयका साथ राईमाथि आक्रमण भयो । त्यसपछि करिब ३ वर्ष राई शरीरमा चोट लिएर हिँडे । शरीरका चोट निको हुँदै गयो । तर पनि राईले अझैसम्म न्याय नपाएको गुनासो गरे । ज्यान मार्ने उद्योगअन्तर्गत दोषीलाई पाँच वर्षका लागि कैद सजाय फैसला भए पनि घटना सर्वोच्चमा पुनरावलोकनका लागि रहेको उनले बताए । २०६७ सालदेखि सर्वोच्चमा पुनरावलोकनका लागि रहेको मुद्दा अझै फैसला हुुन नसक्दा अन्यायमा परेको उनले बताए । घटनालाई विर्सन चाहेको बताउने उनले सर्वोच्च अदालतले न्याय दिन ढिलाई गरेकोमा भने रोष पोखे । ‘हुन त सर्वोच्चमा न्यायाधीश कम छन् रे, त्यसैले पनि फैसलाका लागि समय लागेको भन्ने थाहा पाएको छु, यसरी न्याय सम्पादनमा ढिलाई हुँदा आम मानिसलाई दुःख पुगेको छ’, उनले बताए ।

सडक पछि भुकम्पपीडितको सेवा
सवारी चाप व्यवस्थापन गर्दै गर्दा देशमा भूकम्प गयो, देशले जन र धनको ठूलो क्षति भोग्यो । उनमा पीडाबोध भयो । भूकम्पपीडितको सेवामा खटिन पुगे । गृहमन्त्रालबाट पाएको भूकम्पपीडित सयहोग स्वयम्सेवक परिचपपत्र देखाउँदै उनले भने, ‘देश पीडामा पर्दा केही गर्नुपर्छ भन्ने लाग्यो, लगत्तै काभ्रे जिल्लामा उद्दारका लागि खटिएँ ।’ उनी काभ्रेको साँगामा भूकम्पपीडितको सेवामा खटिए । यसरी स्वयम्सेवक भएर खटिँदा धेरैले राम्रो भनेको, कसैले भने निरुत्साहित पार्ने गरेको उनको अनुभव छ । व्यक्तिको नाम उल्लेख नगर्ने भन्दै भने, ‘एक जना मन्त्रीले आफूलाई समाजसेवामा किन लागेको भनेर प्रश्न गर्दा पीडा भयो, मन्त्रीले समाजसेवा भन्दा पनि आफ्नो व्यवसाय र परिवारलाई ध्यान दिन सुझाव दिए ।’ यसरी केही गर्नेआँट भएका युवालाई पदमा बसेकाले नै निरुत्साहित पार्न खोज्नु दुःखद भएको उनको भनाइ छ ।

 

रंगीला शेखर
शेखर फुर्सद भए चलचित्र पनि हेर्छन् । हलिउडकी नायिका एन्जेलिना जोली उनकी मनपर्ने नायिका हुन् । त्यस्तै ज्याकी च्यान उनका मनपर्ने नायक हुन् । उनले हिन्दी चलचित्र सात पटक हेरेका छन् । विराटनगरमा बस्दा हरेक हप्ताको शुक्रबार हलमा फिल्म हेर्न जाने गरेको उनले बताए ।  
त्यतिबेला चलेको बलिदान फिल्मको ‘गाँउ गाँउबाट उठ, बस्ती बस्तीबाट उठ’ बोलको गीतले देशका लागि केही गर्नुपर्छ भन्ने भावना जगाएको उनको भनाइ छ । ‘२०५२ सालको घटनापछि घाइते हुँदा हिन्दी तथा पाकिस्तानी सिरियल खुब हेरियो’, उनले थपे ।

शेखरको दैनिकी
विहान उठेर आफ्नो नित्यकर्म भ्याइसकेपछि दुई घण्टा परिवारलाई व्यवसायमा सघाउँछन् । खाना खाइसकेपछि ट्राफिक कन्ट्रोलमा फोन गरेर सडकको अवस्थाका बारेमा बुझ्छन् । अनि सडक कहाँ बढी जाम छ, त्यही कुदिहाल्छन् । यसरी त्यहाँ पुग्दा उनी आफ्नै गोजीबाट पैसा खर्च गर्ने गरेको बताउँछन् । ‘सकभर म सडकमा गुडेका गाडिसँग लिफ्ट माग्छु र न्यूनतम भाडा तिर्छु’, उनले भने । यसरी निस्किएका उनी सडक खुला भएपछि फर्किन्छन् । कहिले त उनी साँझ अबेरसम्मै सडकमा खटिने गरेको बताउँछन् ।

सडक व्यवस्थापनामा सरोकारवालाबीच समन्वयको अभाव
नेपालको सडक व्यवस्थापनमा सरोकारवालाबीच समन्वयको अभाव भएको उनी बताउँछन् । ‘यस क्षेत्रमा काम गर्ने सम्पूर्ण निकायमा समन्वय छैन् । सबै आफ्नै ढंगले अगाडि बढेका छन्’, उनले भने, ‘सबै मिलेर काम गर्ने हो भने सुधार गर्न गाह्रो छैन् ।’ सडकको दुराअवस्थाका कारण सवारी दुर्घटना हुने गरेको उनको भनाइ छ ।

चालकहरुको व्यवहार राम्रो
काठमाडौँका सवारी चालकको व्यवहार राम्रो रहेको उनको अनुभव छ । यहाँका चालकहरूमा मनोवैज्ञानिक तथा सामाजिक व्यवहारमा सुधार पाएको उनले बताए । साथै, उनीहरुलाई सडकको बारेमा अधिक ज्ञान छ । ‘बिग्रिएको सडक छ, उनीहरुलाई थाहा छ, सडक कहाँ बिग्रिएको छ ? कहाँ ब्रेक लगाउनु पर्छ ? उनीहरु अभ्यस्त भइसकेका छन् ।’ चालकहरुको सेन्सअफ ह्यूमर राम्रो भएको उनको भनाइ छ ।

सडकमा खट्दा आनन्द आउँछ
सडकसँग नाता गाँसिएको बताउने उनले सडकमा खट्दा आनन्द आउने गरेको बताउँछन् । यसरी सडकमा खटिँदा कहिल्यै पनि झिजो नलागेको उनको भनाइ छ । ‘आई रीयल्ली इन्ज्वाय माई जब’, उनले भने, ‘कसैले गर भनेर भन्दापनि आफ्नै मनले भनेर गरेको काम हो । यो मेरो रुचिको काम हो ।’

युवालाई साथमा लिए परिवर्तन सम्भव
देश चलाउने नेता हुन् । राजनीतिज्ञहरुले युवाहरुलाई साथमा लिएर हिड्नु पर्ने उनले बताए । ‘युवाहरुलाई साथमा लिएर अगाडि बढ्ने हो भन्ने परिवर्तन सम्भव छ’ उनले भने । अहिले युवाहरुलाई प्रयोग गरिएको उनको भनाइ छ ।

Loading...