पहिलो नजरमा नै बस्यो प्यारः लगातारको फोनले जोडियो मनको तार


कहिले राज ज्ञानेन्द्र तथा कहिले प्रचण्डको अभिनय (क्यारिकेचर) गरेर चर्चामा रहेका हास्यकलाकार मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोसमेत क्यारिकेचर गर्न भ्याए । पछिल्लो समयमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको क्यारिकेचर गर्दै आएका मनोज गजुरेल आँफूलाई क्यारिकेचर र हास्यव्यंग्यका लागि जन्मिएको बताउँछन् । ‘पचास प्रतिशत मैले जन्मिँदै हसाउने खालको स्वभाव लिएर आएको थिएँ जस्तो लाग्छ’, गजुरेल भन्छन्, ‘र पचास प्रतिशत मेरो अभ्यासले मलाई यो क्षेत्रमा स्थापित गराएको हो ।’

संघर्षमय वाल्यकाल
वि. सं २०३० सालमा सुदुर पूर्वको ताप्लेजुङ जिल्लाको मा–माङ्खे जुन लिम्वुवान क्षेत्रमा पर्दछ त्यहाँ मेरो जन्म भएको हो । जन्मिएको पाँच छ महिनामा पिताजीको देहान्त भयो । त्यस पछि आमाले नै बाबुको भूमिका निर्वाह गरेर मलाई हुर्काउनु भयो ।  पिताको मृत्यु भएपछि आमाले हामी सात जना दाजुभाइलाई लिएर माइति गाँउ खेवाङ आउनुभयो । म जन्मथलोमा एक वर्ष बसेँ । आमाले हामी सात जनालाई लिएर मामाघर आउनुभयो । त्यहाँ म सात वर्ष विताएँ । त्यसपछि तराईमा झरियो । त्यहाँ मैले आठ कक्षा पास गरेँ । आठ कक्षा पास गरेपछि काठमाडौँ आएका हौँ । मैले पद्मोदय माध्यामिक विद्यालयबाट त्यतिखेरको उत्कृष्ट अंक ५४ प्रतिशत ल्याएर सेकेण्ड डिभिजनमा एसएलसी पास  गरेँ । त्यसपछि आर आर क्याम्पसबाट पत्रकारितामा ग्य्राजुयसन उत्र्तीण गरेँ ।

कलाकारिताको सुरुवात
म सम्झन्छु, मेरो पहिलो कलाकारिता २०४०÷२०४२ साल तिर पञ्चायत विरोधी आन्दोलनमा विभिन्न राजनीतिक आस्था भएका कलाकारहरु गाँउ गाँउमा पुग्नुहुन्थ्यो । म झापाको सतासीधाम गाविसमा बस्दथेँ । त्यहाँ अग्रज दाइहरु नविन सुब्बा किशोर राई लगायतका अग्रज कलाकारहरुले मलाई नाटक खेलाउनु भयो । मैले पहिले खेलेको नाटकमा मेरो जम्मा एउटा डयलग थियो । विषयवस्तु मलाई सम्झना छैन् । नाटकमा मैले घिमिरे बाको छोरोको रोल गरेको थिएँ । उहाँ एकदम चुरोट खाइरहने पात्र हुनुहुन्थ्यो । नाटकमा बाले भन्नुहुन्थ्यो, ‘ए कान्छा, चुरोट ले ले बाबु ।’ मैले नजिकै झुण्डाइएको ज्वारीकोट छामेर ‘कहाँ बा ?’ भन्नुपथ्र्यो ।

मनोज गजुरेलः कलाकारिता र पत्रकारिताको फ्यूजनः
पत्रकारको काम सूचनाको संप्रेषण गर्ने हो । कलाकारको काम भनेको देश विदेमा भएका घटनाहरुको अभिनयका माध्यमबाट सूचना दिने हो । फरक यति हो पत्रकारले सहि सूचनालाई सम्प्रेषणा गर्छन् । कलाकारले समाजमा भएका सूचनालाई अलिकति हाँस्यव्यंग्यको रंगरोगन लगाएर समाजलाई नै दिन्छन् । अझै पनि म आँफूलाई पत्रकार नै भन्न रुचाउँछु ।

जीवनको पहिलो पुरस्कार र राजनीतिक व्यंग्य
एक दिन हाँस्यव्यंग्य प्रतियोगिता भएको थियो । त्यहाँ म प्रथम भएको थिएँ । त्यहाँ मैले दुई वटा प्रस्तुती दिएको थिएँ । एउटा प्रस्तुती ‘राष्ट्रिय पञ्चायतमा के भयो ?’ भन्ने थियो । आजकल संसद गतिविधि भनेजस्तो त्यतिवेला राष्ट्रिय पञ्चायतमा के भयो ? भन्ने कार्यक्रम रेडियोबाट आँउथ्यो । त्यसको प्यारोडी मैले गरेको थिएँ । (हेर्नुहोस उनको प्यारोडी भिडियोमा) त्यतिखेर राजनीतिक चेतना त थिएन् । त्यतिखेर पञ्चायत विरोधी आन्दोलन चरिहरको थियो । वामपन्थीहरुको प्रभाव त्यतिखेर बढी हुनु र उत्तरमा चीन हुनु मैले प्रस्तुत गरेको व्यंग्यले मलाई फरक परिचय दियो । मैले त्यतिखेर प्रस्तुत गरेको व्यंग्यले मलाई राजनीतिलाई विषयबस्तु बनाउने प्रेरण दियो । त्यही भएर नै होला मैले अहिले पनि राजनीतिक व्यंग्य बढी गर्छु ।
म मा राजनीतिक प्रभाव मेरो दाइ बाट भएको थियो । मेरो दाइ केशव  गजुरेल त्यतिवेला विद्यार्थी राजनीतिमा हुनुहुन्थ्यो । दाइका साथीहरु पनि घरमा आउनुहुन्थ्यो । यसको मनोवैज्ञानिक प्रभाव पनि म मा परेको हुनुपर्छ । त्यसको कारणले मेरा व्यंग्यहरुमा राजनीतिक व्यंग्यहरु, राजनीतिक प्रभावहरु अलि बढी भएको हुन सक्छ ।
२०४५ सालमा हामी काठमाडाँै आउँदा पञ्चायत विरोधी आन्दोलन उत्कर्षमा थियो । त्यतिखेर म सानो सानो फुच्चे भर्खर १४–१५ वर्षका थिएँ । त्यतिवेला गणेशमान सिंहको घरमा भारतका चन्द्रशेखरलगायतका नेताहरु आएर भाषण गर्नुभयो । म त्यो लुकेर हेरेको थिएँ । त्यहीवेला मैले  गणेशमान बोलेको सिकेको थिएँ । स्कुलमा साथीहरुलाई उनको क्यारिकेचर गरेर देखाएँ ।

विद्यार्थी राजनीतमा प्रवेश
म पद्मोदय स्कुलमा पढ्दा अनेरास्ववियु पाँचौँ थियो अहिलेको एमालेको भातृसंगठन, त्यसको सदस्यता लिएको थिएँ । त्यपछि आर आर क्याम्पस प्रवेश गरेपछि त्यतिवेला जनमोर्चा भन्ने थियो । अहिलेको माओवादी, त्यसको विद्यार्थी संगठनमा प्रवेश गरेँ ।

पहिलो विप्लव म
पहिलो विप्लम म हुँ । पहिले मैले मनोज गजुरेल ‘विप्लव’को नाममा यथार्थको धरालत भन्ने व्यंग्य लेख्थेँ । दुई वर्ष चल्यो त्यो । गृस पोखरेलले मलाई सहयोग गर्नुभएको थियो । मनोज गजुरेलको नाम पत्रिकामा छपाइ दिने गृस पोखरेल त देउता नै भयो नी त ? पञ्चायत गयो,  मेरा सबै साथीभाई घर वरिपरिका छिमेकी सबै एमाले तर मेरो गुरु चाँही गृस पोखरेल ती रहेछन मसालका मान्छे, पञ्चायत सिद्धिएपछि थाहा भयो ।

राजनीतिबाट हाँस्यव्यंग्य अभियन्ता
जब मैले सर्टिफिकेट लेभल सकेँ त्यसपछि मैले आँफूलाई राजनीति भन्दा पनि हाँस्यव्यंग्य अभियन्ताको रुपमा स्थापित गराउने प्रयास गरेँ । त्यो बीचका राजनीति गर्दा घटनाहरु पनि रमाइला रमाइला छन । कुरा मैले दुई प्रकारले गर्छु एउटा रियल कुरा, अर्को गजुरियल कुरा । राजनीति भनेको राज्यको नीति हो । होलसेलमा राजनीतिलाई फोहोरी खेल पनि भन्यौँ, राजनीति नभएको भए के हुन्थ्यो पनि भनियो । राजनीतिलाई एउटा सफा सुन्दर बनाउनु पर्छ । मेरो हाँस्यव्यंग्यको उद्देश्य पनि त्यही हो । गजुरियल भाषामा भन्नुपर्दा ‘कुनै जमानामा म पनि ठूलो नेता भए, अकस्मात मान्छे बन्न मन लाथ्या र कलाकार भएँ ।’

नेता भएको भए के हुन्थ्यो ?
राम्रो हुन्थ्यो होला । ठूलो मान्छे हुन्थेँ । सहीद हुन्थेँ । मरिसक्या हुन्थेँ, फोटो टागिन्थ्यो होला । एक वर्षपछि मान्छेहरु सम्झिन्थे । त्यपछि सिद्धिन्थ्यो । आमा रुन्थिन बाबु रुन्थे । नेता सहीद हुन्नन् । उनीहरुले सहीद बनाउँछन् । म नेता हुन सक्दिनथेँ । कार्यकर्ता नै हुन्थेँ अनि सहीद हुन्थेँ ।
म मनोविज्ञानको विद्यार्थी त होइन् । राजनीति गर्ने मान्छे मष्तिष्कले चल्नुपर्छ । म त ह्ृदयले चल्ने मान्छे । यहाँ नेताहरु न त मष्तिष्कले चलेका छन् न त ह्ृदयले चलेका छन् । रिमोटले चलेका छन् ।

हामी एक वोत्तल रक्सीमा विक्यौँ
सम्पूर्ण दोष नेतालाई लाउने काम गलत हुन सक्छ । नेता मैले बनाएको त हुँ नी । तपाईँले बनाएको त हो नी । यहाँ मेरो मालिक म नै हुँ भन्ने मनस्थितीको विकास हुनुपर्छ । जबसम्म यसको विकास हुँदैन्, तबसम्म हामी एक बौत्तल रक्सी, एक माना चामलमा विकिरहेका हुन्छौँ । त्यो भन्दा माथि आँउदा एउटा पल्सर बाइक जसले दिन्छ उसको चुनाव प्रचारमा कुदिरहन्छौँ । भोलीका दिनमा जसले राजदुत, जिएम वा कुनै लाभका पदहरु पाइएला भनेर समाजको प्रतिष्ठित भन्ने मान्छे पनि सही वा गलत नछुट्टाइकन शक्तिको पछाडि लाग्छौँ । भनेपछि यसको जिम्मेवार हामी नै छौँ ।

जनतालाई सिमानाले खासै फरक पार्दैन
अहिले यत्ति मात्र भनौँ ‘संघी यता होस या संघी उता होस, जनतालाई खासै फरक पार्दैन् ।’ सुदुरको दुर्गम डढेलदुराको जोगबूढामा बस्ने एउटा दलितलाई सिमांकनले खासै असर गर्दैन् । उनीहरुलाई ‘संघी यता होस, संघी उताहोस, संघी जता होस, देश नफुटोस नेपालीको एकता नटुटोस’ यत्तिले मात्र फरक पार्छ ।

नेताहरुले सपना देखाए पुरा गर्नुपर्छ
हिजो ठूलो ठूलो सपना देखेर आन्दोलन गरेका जनतालाई नेताहरुले सपना देखाएका छन् । लिम्वुलाई लिम्वुवान दिन्छु भन्नु भएको छ । मधेसलाई मधेस दिन्छु भन्नुभएको छ । थारुलाई थरुवान दिन्छु भन्नुभएको छ । कर्णालीलाई अखण्ड दिन्छु भन्नु भएको छ । हिजो नै गल्ती भएको छ । यसको व्यवस्थापन कसरी गर्ने त मलाई पनि थाहा छैन् । म त हाँस्य व्यंग्य गर्ने मान्छे हुँ । तर हिजो जुन आस्वासन दिइएको छ त्यसबाट व्याक हुनु राम्रो होइन् ।

जीवन के ?
जीवन भनेको सयौँ रसको संयोजन हो । त्यहाँ प्रेम हुन्छ । त्यहाँ घृणा हुन्छ, त्यहाँ आक्रोस हुन्छ । त्यहाँ यौन हुन्छ त्यहाँ समाज हुन्छ । जीवन सबैसँग जोडिएको हुन्छ ।

पहिलो नजरमा नै प्यार
पुतलीसडकमा कावेली कुना भन्ने पसल थियो मेरो । पारी पट्टी अर्को पसल थियो । यसो हेर्छु दुई तीन पटक मलाई मनपर्ने ‘टाइप’ की केटी देखेँ । मेरो टाइप चाँही मलाई राम्री मनपर्छ तर गाँउले राम्री शहरीया होइन् । कालीकाली हिस्सी परेका कपाल छाडेको होइने बाँधेको होस । ओभर मेकअप नभएको गरगहना धेरै नलगाएको ठिकैठिकैको मेरो टाइप हो । त्यस्तै टाइपको युवती पारी देखेँ । फेरी म केटीको मामलामा काँतर छुँ । अब के गर्नेहोला भएको थियो । कता कताबाट त्यहाँको फोन नं. पत्ता लगाएर व्लफ कल दिएँ । त्यतिवेला के भने ? (आफ्नी त्यतिवेलाकी प्रेमीका अहिलेकी श्रीमतीलाई सोध्दै) ‘पहिला चिनजान भएको हो । सँगै पढेको भन्नु भयो ।’ (श्रीमती मीनाको जवाफ) । त्यस्तै छ सात महिनासम्म व्लफकलमा नै चल्यो । त्यसपछिको भेट अविश्मरणीय थियो ।
श्रीमती मीना भन्छिन्, ‘भेट्दाखेरी चाँही मलाई फोन गर्ने केटा यो होइन जस्तो फिल भयो, दाह्री पाल्नु भएको थियो ।’ म भर्खर १७÷१८ वर्षकी उहाँ एजेड देखिनुहुन्थ्यो (मनोजबीचमा थप्छन, त्यतिखेर पनि म अहिलेजस्तै थिएँ ।) यो बूढोले गर्लफ्रेण्ड होइन बहिनी जस्तो मानेर जिस्काए जस्तो लाग्यो ।’ पछि भेटघाट हुँदै गयो त्यसपछि भित्रि मनको तार जोडियो । त्यस्तो मन पराउनै पाइएन् । विवाह भएपछि सिद्धियो ।

मीनाको मनोजसँग गुनासोः धेरै जसो विजी नै भइराख्नु हुन्छ । धेरै बाहिर विजी हुँदा कहिलेकाँही रिस उठ्छ ।

श्रीमती रिसाउँदा फकाउने गजुरियल तरिका भन्न मिल्दैन । अब घरभित्रको कुरा बाहिर दिनु भएन् । त्यसको एक्स्ट्रा चार्ज लाग्छ ।

छोरा छोरी बोलाउने नाम कति हो कति
म नाम फरक फरक नामले म छोरा छोरीलाई बोलाउँछु । मेरो छोरोको नाम ३०–३२ वटा छन् । उनको पनि नाम कति हो कति छन् । छोरीको बोलाउने नाम ५१ वटा छन् । अब सँधै मीना भन्नु के भन्नु । फरक फरक नामले बोलाउँदा नयाँ पन आउँछ । कहिले के ले बोलाउने कहिले के भन्छु । नामै पिच्छे अर्कै भाव आउँ छ ।
मनोज खाने कुरामा एकदम सजिलो भएको बताउँछिन उनकी श्रीमती मीना । ‘खाने लाउने कुरामा उहाँ एकदम सजिलो हुनुहुन्छ’, उनी भन्छिन् ।

प्रेम विवाहमा तगारो मनोजको परिवार
प्रेममा परेपछि यो जोडीलाई तगारो मनोजको परिवार भयो । ‘मेरो घरबाट चाँही मान्नु भएको थियो, उहाँको परिवारले मानेको थिएन्’, श्रीमती मीना भन्छिन्, ‘उहाँ चाहीँ उपाध्याय बाहुन, म जैसी बाहुन, आमाले चाँही उपाध्याय बाहुन विहे गर्नुपर्छ भन्नु भयो ।’ विवाह वान साइडेड थियो रे । मीना भन्छिन, ‘मेरो परिवारले मात्र विवाह गरिदिएको हो ।’

सबैलाई हसाउँने मनोजलाई के ले रुवाउँछ
म रुन्छु । म २००३ मा जापानमा जाँदा मेरो एकदम मिल्ने दाई काकाको छोराको मृत्यु भयो । त्यतिवेला म खुब रोएँ । म साना तिना घटनाले पनि रुन्छु । म सिनेमा हेर्दा पनि रुन्छु । अरुको पीडामा पनि रुन्छु ।

घरमा पुग्दा आनन्द लाग्छ
मलाई घरमा पुग्दा आनन्द लाग्छ । आनन्द किन लाग्छ भने, म अरुवेला आकाशमा उडिरहेको हुन्छु । जब म घर आउँछु म ल्याण्ड गर्छु । म धर्तीमा टेक्छु । त्यहाँ प्रेम प्रष्फुटन हुन्छ । आँफूलाई सेफ फिल  गर्छु ।

जसको नक्कल गर्छु उही पावरलेस हुन्छ
मैले जजसको नक्कल गर्छु उही पावरलेस हुँदै जान्छ । खोई के भा को हो के ? यसलाई पनि म दुई तरिकाले व्याख्या गछु । एउटा रियल तरिका अर्को गजुरियल । म चर्चीत को नक्कल गर्छु राम्रो कामले होस या नराम्रो । तर जसको क्यारिकेचर गर्छु त्यो पावरलेस भइहाल्छ । राजा ज्ञानेन्द्रको गरेँ उनी पनि पावरलेस भए । प्रचण्डकोे गरे पहिला ‘प्रचण्…..ड’ हुनुहुन्थ्यो, अहिले ‘प्रचण्ड्’ हुनुभा’छ । माधव नेपालको उहाँ प्रधानमन्त्री हुँदा नक्कल गरेँ विचरा मैले नक्कल गरेको तीनचार महिनामा प्रधानमन्त्रीबाट निस्कनुपर्यो । रामदेवको गरेँ रामलिला मैदानमा उहाँ पनि भाग्नुपर्यो । थुप्रैको गरेँ । अहिले मोदीजीको गर्दै छु ।

व्यंग्य पचाउन सक्ने क्षमता सबैसँग हुँदैन
मैले कसैलाई गाली गरेको त होइन् । तँ सिद्धि तँ मरिहाल त कसैलाई भनेको होइन् । कलात्मक तरिकाले उहाँहरुको क्यारिकेचर गरेको हुँ । ज्ञानेन्द्र कालमा मैले ज्ञानेन्द्रको क्यारिकेचर गरेँ । मलाई थुप्रै फोन आउँथ्यो । व्यारेबाट फोन गरेर राम्रैसँग हजुर मनोजसर यो विषय नउठाइदिए हुन्थ्यो भन्थे । बडो शुन्दर भाषामा प्रभाव पार्ने हिसावले प्रेमपूर्वक धम्कीहरु पनि थुप्रै आए । तलाईँ सिद्धाइदिन्छु भन्ने पनि धम्की आए । त्यसपछि भुमिगत पनि भइयो ।

अलिकती डर होस अलिकती आश
च्यालेञ्ज हुनुपर्छ केही गर्दा पनि । डर होइन् च्यालेञ्ज हुनुपर्छ नत्र चाँडो बूढो भइन्छ । अलिकती डर होस अलिकती आश होस अलिकती प्रेम होस, अलिकती रिस उठोस । जीवनका सबै भावहरु सबै हुन । हाँस्यव्यंग्मा सबै छ । तर एउटा समस्या छ । जसलाई व्यंग्य गर्यो मानिस रिसाउँछन् । कहीँबाट शान्ति छैन् । नेतालाई गर्यो नेता रिसाउँने । नेता बाहेक अरु भेटिनस भनेर प्रश्न आँउछ जाती धर्मलाई गर्यो ए हाम्रो जाती धर्मलाई व्यंग्य गरिस भन्छन् । पुरुषलाई गर्या पुरुष भएर पुरुषकै व्यंग्य गर्छस भन्छन् । महिलालाई गर्यो त्यस्तै भन्छन् ।

Loading...