रंगीन दुनियाँका सादा राजभाइ


आँफैलाई फोटो पत्रकारिताका माध्यमबाट समाजलाई परिवर्तन गर्न सकिन्छ भनेर अगाडि लागेका छन्, व्यवसायीक फोटोग्राफर राजभाइ सुवाल । उनीसँग हलकारोले उनको नजरमा फोटोग्राफी र उनको व्यवसायीक फोटोग्राफीको बारेमा कुराकानी गरेको छ । प्रस्तुत छ सुवालसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेख
शुन्दरता हाम्रो देशको खिच्नेको नाम विदेशी ?
नेपाल शुन्दर छ । हाम्रो देशको शुन्दरता विश्वसामु पुगेको छ । तर पनि यो शुन्दरता खिच्नेको नाम विदेशीको छ । यही प्रश्नले मलाई फोटोग्राफीमा पुराएको हो ।
तीस पैतीस वर्ष अगाडिको कुरा हो । भर्खर नयाँ नयाँ प्रविधिहरु भित्रिएका थिए । क्यामेराहरु पनि आएका थिए । दाइले घरमा एउटा भिडियो क्यामेरा ल्याउनु भएको थियो । त्यो भिडियो क्यामेरा देखेपछि यसले कसरी फोटो खिच्ने होला भन्ने लाग्यो । त्यही कौतुहलताले मैले क्यामेरा चलाउन थालेको हुँ । अर्को कुरा के हो भने, म खिचापोखरीमा जन्मे हुर्केको मान्छे । धरहरा, बसन्तपुर क्षेत्रमा धेरै हिडिन्थ्यो । त्यो एरियामा हिँड्दा, त्यहाँको फोटोहरु, त्यहाँको व्यूटीहरु विदेशीहरुले आएर खिचेको देख्थेँ । त्यस्तै विभिन्न पत्रपत्रिकामा, पोष्टकार्डहरुमा त्यहाँको फोटो देखेपछि कौतुहलताका साथ कसले खिचेको रहेछ भन्ने लाग्थ्यो । नाम हेर्दा विदेशीको नाम हुन्थ्यो । अनी हामीले पनि फोटोग्राफी गर्न पाए, हाम्रो पनि यसरी नै नाम आउँथ्यो होला भन्ने लाग्थ्यो । त्यही इच्छाले नै मलाई फोटोग्राफीमा ल्यायो ।
फोटोग्राफीबाट ग्ल्यामर दुनियाँमा
अब ग्ल्यामर भनेको सबैको आकर्षणको क्षेत्र हो । आकर्षण भनेकै ग्ल्यामर हो । म पनि त्यही आकर्षणले आएको हुँ । मैले पत्रकारिता सुरु गर्दा, एउटा पत्रकारितामा संलग्न साथीहरुको सर्कल थियो । उहाँहरुसँग छलफल गर्दा गर्दै एउटा चलचित्रसम्बन्धि म्याग्जीन निकाल्ने सल्लाह भयो । त्यसबाट पनि म यो क्षेत्रमा प्रवेश गरेको हुँ । त्यो वेलामा चित्रयुग भन्ने पत्रिका थियो । मैले त्यसमा काम गर्न थाले । त्यसपछि कलाकार आवज भन्ने पत्रिका कलाकार सुवास गजुरेल, विजयरत्न तुलाधर भन्ने पत्रिका निकाल्यौँ । त्यसमा मेरो जिम्मा फोटो र डिजाइनिङ् थियो । त्यसपछि म यो क्षत्रमा बढी प्रवेश गरे जस्तो लाग्छ ।

प्रत्येक दिन व्यस्त दिन
मेले आफ्नो जिन्दगीमा कामको समय पाइन् । जागिरे जस्तो १० देखि ५ को समय मैले कहिल्यै पनि भोगिन् । मेरो हरेक दिन फरक हुन्थ्यो । हरेक पल व्यस्त हुन्थेँ । यसमा नै म रमाएको छु ।
विहान ४ः३० मा उठ्छु । विहान उठ्ने वित्तिकै पानी खान्छु । आदा÷एक लिटर पानी खाइसकेपछि मेरो दिनको सुरुवात भयो । त्यसपछि म मेडिटेशन गर्छु । त्यसपछि वेसिक योगा र फिजियाथेरापी मिसाएर एक्सर्साइज गर्छु । त्यसपछि टेलिभिजन हेर्ने पत्रपत्रिका पढ्ने गर्छु अनी मेरो दैनिकी सुरु हुन्छ ।
जहाँ इच्छा त्यहाँ उपाय भन्छन नी ? मान्छेलाई इच्छा हुनुपर्छ । समय म्यानेज गर्नुपर्छ । सबैलाई २४ घण्टा छ । २४ घण्टामा म साढे चार घण्टा भन्दा बढी सुत्दिन् । धेरै पहिले देखि नै मेरो बानी नै परेको छ, चार पाँच घण्टा सुत्ने । बाँकी १९ घण्टाको समय म के काम गर्ने कसरी गर्ने त्यसमा मात्र लागि परेको हुन्छु ।
म नेशनल फोटो जर्नासिस्ट फोरममा लागेको लगभग १८ वर्ष भयो । त्यसको म फाउण्डर मेम्वर पनि हुँ । पहिलो पटक यो संघ बनाउँदा खेरी २०५३ सालमा हामीले धेरै नै ‘स्ट्रगल’ गरेका थियौँ । अहिले म यसको अध्यक्ष भएको छु । त्यो एउटा व्यवसायीक रुपमा कार्य गर्ने संस्था हो । त्यसलाई दैनिक एक घण्टा समय दिने गरेको छु । त्यस्तै रोटरी क्लब अफ बाग्मती काठमाडौँको म चार्टर (फाउण्डर) मेम्वर हुँ । त्यसमा लागेमा १४ वर्ष भयो ।
अहिले हामी जहाँ छौँ, ‘क्रियटिभ डिजी स्टुडियो प्रालि’ मैले यसलाई २००६ मा बनाएको हुँ । यसको डिजाइन मैले २००४ देखि नै सुरु गरेको हुँ । म बम्वे गएँ । त्यहाँ त्यति चित्तबुझ्दो स्टुडियो देखिन । त्यसपछि म युरोप गएँ । जर्मन फ्रान्स, हल्याण्डमा मैले धेरैवटा स्टुडियो हेरेँ । मेरो काम नै त्यही भयो । राम्रो राम्रो ठाउँ घुम्न जान भ्याइन् । स्टुडियो घुमेर बसेँ । २००४ मा मैले जर्मनको एउटा स्टुडियो हेरेर मेरो स्टुडियो पनि यस्तै हुनुपर्छ भनेर स्केच कोरेँ र २००६ मा मैले यहाँ आएर स्टुडियो बनाएँ । यो स्टुडियो, नेपालमै फरक इन्फ्राष्टक्चर सुविधा दिने खालको बनाएको छु ।

मेहनत गरे असम्भव केही छैन्
यदी तपाईँले चाहनुहुन्छ भने, केही गर्न चाहनु भयो भने, आँफू जन्मेको ठाउँ आँफू जन्मेको देश, परिवार, छरछिमेक समाज सबैको लागि हामी केही न केही यहीँ बसेर गर्न सक्छौँ । मानिसले भन्छन् ‘नेपालमा केही छैन्, विदेश जानु पर्छ, कमाउनुपर्छ, अनि यहाँ आएर यसो गर्नुपर्छ उसो गर्नुपर्छ ।’ मलाई त्यस्तो केही लाग्दैन् । तपाईँले आफ्नो २४ घण्टाको समयमा नेपालमै मन लागाएर काम  गर्नु भयो भने नेपालमा नै जे पनि सम्भव छ । ‘इम्पोसिवल’ भनेको नेपालमा केही पनि छैन् । 


रंगीन दुनियाँको सादा मान्छे

मैले फोटोको दुनियाँ बाट साथी भाइ कमाएको छु । साथीहरु भन्छन्, ‘तँ त ग्ल्यामर दुनियाँको मान्छे, यस्तो, उस्तो भन्छन् ।’ म के भन्छु भने, ‘म ग्ल्यामर दुनियाँमा छु, रंगीन दुनियाँमा छु तर म चाँही सादा छु ।’ म एकदम ब्ल्याक एण्ड ह्वाइट मान्छे हुँ । रंगीन दुनियाँ छ भन्दैमा आँफू पनि रंग लगाएर रंगीन बनेर हिड्नुपर्छ जस्तो लाग्दैन् ।
मलाई सिम्पल ड्रेसहरु मन पर्छ कहिलेकाँही त्यस्तै कार्यक्रमहरु छ भने चाँही अलिकति स्टाइलिस डिजाइनर वेयरहरु पनि लगाउने गर्छु । अर्को कुरा म ‘भेजीटेरीयन’ हुँ । मलाई भेजीटेरीयन खाना मन पर्छ । पव्लिक प्लेसमा ड्रिंक गरेको छैन् । अहिलेसम्म स्मोक गरेको  छैन् । म घुम्ने भनेर डेटिङ् जाने, हाई फाई गर्ने पार्टीहरुमा गएर हा…. हु… गर्ने गर्दिन् । प्राइभेट पार्टीहरुमा कहिले काँही जान्छु । हल्ला खल्ला मन पर्दैन् । त्यसकारणले पनि मैले आफूलाई रंगीन दुनियाँको व्ल्याक एण्ड ह्वाइट मान्छे भन्छु ।  


नग्नता ग्ल्यामर होइन


ग्ल्यामर भन्ने वित्तिकै, जस्तोसुकै व्यक्ति, जस्तोसुकै उमेरसमूहको मान्छेलाई आकर्षण गर्ने खालेको कुरालाई ग्ल्यामर भन्छौँ । यसमा नग्नता भन्ने कुरै हुँदैन् । सायद कुनै देशमा होला । त्यहाँ नग्नतालाई नै ग्ल्यामर भनिएला । तर हाम्रो देशमा चाँही जुन चिजमा आकर्षण छ त्यसलाई ग्ल्यामर भनिन्छ । ग्ल्यामरमा नग्नता हुनुपर्छ, भल्गारीटी हुनुपर्छ भन्ने केही छैन् ।
फोटो खिचेरै कमाइन्छ
मैले २०३७/३८ सालमा मैले फोटो खिच्न सुरु गरेको हुँ । म प्रोफेशन बनेर फोटो खिचेर नै जीवन चलाउँछु भनेर लागेको चाँही २०४१ सालमा हो । म यो ३१ औँ वर्षमा छु फोटोग्राफीमा । नेपालमा फोटोग्राफी गरेर बाच्न सकिन्छ । फोटोग्राफी मात्र होइन् जे सुकै गरेर पनि बाँच्न सकिन्छ । तपाईँ जे गर्नुस नेपाल जस्तो सजिलो, अपर्च्यूनिटी भएको देश कहिँ पनि छैन् । तपाईँ मेहनत गर्नुस नेपालमै पैसा कमाउन सकिन्छ ।
नेपालमा फोटोग्राफी यति सजिलो छ की, तपाईँ भन्नु होला भुकम्पले क्षति पुरायो । होइन्, केही भएको छैन् । ७५ वटा जिल्ला मध्ये ४ पाँच वटा जिल्लामा बढी क्षति भएको छ । ६० वटा जिल्लामा त केही पनि भएको छैन् । ट्रेकिङ्को रुपमा लाङ्टाङ रुट केही बिग्रीए पनि सगरमाथा क्षेत्रमा केही भएको छैन् । सगरमाथाको मात्र फोटो खिचेर बस्नुहुन्छ भने पनि तपाईँलाई पुग्छ । जवानी छदाँसम्म माउण्ट एभरेष्टको फोटो खिचेर बस्नु जिन्दगी भर तपाईँलाई त्यही फोटोले खान पुग्छ । त्यति मात्र होइन अरु पनि अपर्च्यूनिटीहरु छन् । म फोटोग्राफीमा लागेर अरु देखिन तर छन् । तपाईँमा अठोट हुनुपर्छ । केही गर्छु भन्ने तपाईँलाई भित्रै देखि हुनुपर्छ । त्यतिमात्र होइन मेहनत हुनुपर्छ, धैर्य हुनुपर्छ । आज फोटो खिच्नु भयो, विकेन भोली खिच्नु भयो विकने भनेर तपाईँ निरास हुनु भयो भने काम लाग्दैन् । हामीले फोटो खिचेर फिल्ममा मात्र हेर्न पाउँथ्यौँ । अहिले तपाईँले फोटो खिचेर सेकण्डमा हेर्न पाउनु हुन्छ । इन्ट्राग्राम, लगायतका सोसल साइटमा सेकेण्डमा पोष्ट गर्नुभयो भने उत्तिनै खेर लाईक डिस्लाईक कमेण्ट आउँछ । अहिलेको जेनेरेशन राइट टाइममा छ । फोटो खिचेर नी कमाउन सक्छ ।

 

Loading...