व्यवसायीक जीवनमा सफल दिनेश

२०१८ सालमा लम्जुङको कुन्सा बजारमा जन्मिएका दिनेशकुमार चुके चितवनका चर्चित व्यवसायी हुन् । रियल स्टेट, होटल, फिल्म हललगायतका क्षेत्रमा लगानी गरेका चुके सामाजिक सेवामा पनि सक्रिय छन् । लम्जुङको सदरमुकाम कुन्सा बजारबाट सारेपछि बजार सुनसान भयो । त्यहाँबाट चुके परिवार चितवन बसाइ सर्यो ।
परिवारसँगै चितवन झरेका चुकेले नारायणगढको बालकुमारी मावि (हालको उच्चमावि)बाट एसएलसी उत्तीर्ण गरे । २०३६ सालमा विकम सकेपछि चुके सिए अध्ययनका लागि भारत पुगे । त्यहाँ चाटर्ड एकाउन्टे कोर्ष सकेपछि फेरी काठमाडौँ फर्किए । काठमाडौँमा सिए फार्म खोली काम थाले । यती गर्दासम्म चुके परिवारले नारायणगढमा व्यवासय जमाइसकेको थियो । उनले राजधानीमा केही साथीहरुसँग मिलेर बानेश्वरमा फिल्म हल खोले ।
काठमाडौँमा व्यवसाय सुरु गर्दै गर्दा उनले चितवनमा पनि लगानी थाले । नारायणगढमा पहिलोपटक सुविधा सम्पन्न होटल खोले । उनले नारायणगढ पुलचोकमा होटल गंगोत्री खोल्दा उनका कतिपय नजिकका साथीहरुले खराब व्यवसाय सुरु गर्यो भनेर आलोचनासमेत गरे । तर यसले उनलाई कुनै प्रभाव पारेन् । उनले होटल व्यवासयलाई सफल बनाए । अहिले उनको लगानीमा रत्ननगरको सौराहा चोकमा होटल गंगोत्री हाइवे पनि सञ्चालनमा छ । त्यस्तै रत्ननगरमा नै हंश मनोरञ्जन केन्द्र पनि सफल रुपमा अगाडि बढिरहेको छ ।
२०५१ साल तिर चितवनमा रियल स्टेट व्यवसाय सुरु गरे । उनी उक्त व्यवसायमा पनि सफल सावित भए । चितवन गुराँस इन्भेष्टमेण्ट एण्ड डेभ्लपर्स प्राली खोलेर यो व्यवसायमा लगानी भित्राए । उनको यो संस्था पनि चितवनमा सफल मध्येको एक हो । त्यस्तै उनले हंस बहुउद्देश्यि सहकारी संस्था पनि सञ्चालन गरेका छन् । उक्त सहकारीका अध्यक्षसमेत हुन् चुके ।
सामाजिक सेवामा राइनो क्लब स्थापित गरि समाज सेवामासमेत हात हालेका उनी रोट्राक्ट क्लबमा पनि आवद्ध छन् । चुके अहिले पनि अर्वुद्ध रोग निवार संस्थाका अध्यक्ष छन् । यस संस्था मार्फत उनले क्यान्सर रोगबाट पीडितहरुको सेवामा संलग्न छन् । व्यवसायीक हिसावले उनलाई श्रीमतीको पनि साथ छ । श्रीमती पनि उनको पेशा तथा व्यवसायमा साझेदार बनेर अगाडि बढिरहेका कारण उनको परिवारमा त्यस्तो मनमुटाव नआएका बताउँछन् । चार सन्तानका बाबु चुकेकी जेठी छोरी अमेरिकामा सिए अध्ययन गरिरहेकी छन् । त्यस्तै छोरा पनि अमेरिकामा नै अध्ययन गरिरहेका छन् । दुई जना जुम्ल्याहा छोरीहरु नारायणगढमा नै अध्ययन गरिरहेका छन् ।
यीनै चितवनका सफल व्यवसायीलाई हलकारोले आफ्नो नियमित स्तम्भ ‘एक दिन’मा प्रस्तुत गरेको छ । प्रस्तुत छ व्यवसायी दिनेश चुकेको जीवनी उनकैै आवाजमा भिडियोसहित ।

dinesh_kumar_chuke

Loading...