बाल गोपाल महर्जनः भोगटेको फुटबल देखी अन्तर्राष्ट्रिय उपाधी सम्म

आठ, नौ वर्षको सानो फुच्चे जो सुन्धाराका गल्लीमा भोगटेलाई बल बनाएर फुटबल खेल्थे । भोगटे नभेट्टाए मोजामा कपडा कोचेर बल बनाउथे तर फुटबल खेल्न छाड्दैनथे । छोरो फुटबल खेलेर हिडेको देखेर आमालाई पिर लाग्थ्यो । यसको भविष्य के हुने होला भनेर तर उनले फुटबल खेल्न भने छाडेनन् ।
तिनै भोगटेको फुटवल खेल्ने बाल गोपाल महर्जन अहिले नेपाली फुटवलका वाहा वाहीका पात्र बनेका छन् । महर्जन आफ्नो उमेरसँगै राष्ट्रिय स्तरको खेलाडी भए । नेपालले सन् १९९३ मा बंगलादेशमा भएको साग खेलकुद अन्तर्गत फुटवलको उपाधी जित्दा महर्जन राष्ट्रिय टोलीका सदस्य थिए ।
त्यसपछिका वर्ष नेपालले कुनै अन्तर्राष्ट्रिय उपाधि हात पार्न सकेन् । बाल गोपाल महर्जन राष्ट्रिय फुटबलका प्रशिक्षक बनेपछि २३ वर्ष पछि इतिहास उल्टियो । हालै नेपाली टोलीले बंगलादेशमै पुगेर अन्तर्राष्ट्रिय उपाधि जित्यो, बंगबन्धु गोल्डकप । यो त्यही भूमि थियो जहाँ बालगोपाल खेलाडीको रुपमा उपाधि जितेका थिए । त्यही मैदानमा प्रशिक्षकको रुपमा उपाधि भित्राए ।
जसले नेपाल र नेपाली निकै ठुलो खुशी दिएको छ । फुटबल खेलाडीहरु पर्दा अगाडीका हिरो हुन् । जसको सबैले वाह वाही गरे । पर्दा पछाडी मुख्य भुमिका निभाइ रहेका हिरो बाल गोपाल महर्जनका बारेमा कमैले चासो राखे ।
बाल गोपाल महर्जन राष्ट्रिय फुटबलका प्रशिक्षक भएपछि फुटबल जगतमा २३ वर्ष पछि पाएको यो खुशीले उनी पनि खुशी छन् । बाल गोपाल भन्छन् ‘खेल प्रतिको लगनशिलता कडा परिश्रम र भाग्यले पनि साथ दिएको हो ।’ छोराको वाह वाहले अहिले बाल गोपालकी आमा दङ्ग छिन् । बाल गोपालका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको संयुक्त परिवार छ ।

अहिले बाल गोपालको संयुक्त परिवार सिनामंगलमा बस्छन् । श्रीमती आफ्नो टेलरिङको काममा व्यवस्त छिन् भने बाल गोपाल आफ्नो खेलमा । २३ वर्ष अघि साग खेल जित्दा पनि एन्फा अध्यक्ष कारवाहीमा परेका थिए । अहिले २३ वर्ष पछि पनि राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय खेल जित्दा पनि एन्फा अध्यक्ष गणेश थापा कारवाहीमा परेका छन् । बाल गोपाल यो सन्दर्भलाई संयोगको रुपमा लिन्छन् ।
खेलमा कहिले काँही राजनीतिकरण भए पनि अहिले सक्षम खेलाडी टिममा हुँदा पिर नलाग्ने उनी बताउछन् ।
पहिले खेलाडीहरुका लागि जीवन निर्वाह गर्न समस्या हुन्थ्यो । भन्छन् ‘त्यही भएर मेरी आमालाई पिर लाग्थ्यो मेरो भविष्यको ।’ अहिले त सक्षम खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरुले लिने गरेको छ । अहिलेको अवस्था राम्रो छ । फुटबल खेलमा पुरूषको तुलनामा महिलाको खेल त्यत्ती माथि आउन सकेको छैन, उनले थपे । विभिन्न अवस्थाले गर्दा पनि होला महिलाहरुको खेल बलियो हुन नसकेको उनको बुझाइमा ।
यस्तै विषयमा आधारित रहेर हलकारो टिमले पूर्व खेलाडी तथा राष्ट्रिय फुटबल खेलाडी बाल गोपाल महर्जनसँग एक दिनमा प्रस्तुत गरेको छ । हेर्नुहोस उनको एक दिन भिडियोमा ।

Loading...