विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा

चितवन, ३० असोज । चितवन जिल्लाको सबैभन्दा ठूलो धनराशि पुरस्कार भएको विकास रनिङ शिल्ड २०७३ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

football-ground-chitwan

कात्तिक १ गतेदेखि नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइयो । प्रथम पुरस्कार तीन लाख रुपैयाँ रहेको प्रतियोगितामा नेपालका ११ र भारतका चार टिम सहित १५ वटा टिमले सहभागिता जनाएको कार्यक्रम संयोजक श्यामकुमार पियाले जानकारी दिए । वि.सं. २०५६ सालमा १२ औं संस्करण गरिएको प्रतियोगिताको १७ वर्षपछि १३ औं संस्करण आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता सम्पन्न गर्नको लागि क्याम्पाचौरको खेलमैदानलाई करिब तीन लाख रुपैयाँ खर्च गरेर व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा तीन वटै विभागीय टिम, ए डिभिजनका टिमहरु, झापा, कैलालीका टिम सहित तथा भारतका सिक्किम, कालिमपोङ, खर्साङका टिमका साथै चितवनको एउटा टिम समेत सहभागी भएका छन् । कात्तिक १४ गतेसम्म हुने प्रतियोगितामा त्रिभुवन आर्मीले बाइ पाएर अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ भने प्रतियोगिताको उद्घाटन खेल कात्तिक १ गते चितवन ११ र हिमालयन युथ क्लब कैलालीबीच हुने आयोजकले जनाएको छ ।

3

शिक्षा मन्त्री धनीराम पौडेलले उद्घाटन गर्ने प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल पुरस्कार पाउनेछन् ।  यस्तै, फेयर प्ले अवार्ड समूहलाई ट्रफी र नगद २५ हजार रुपैयाँ, प्रत्येक म्याचको उत्कृष्ट खेलाडीलाई प्रत्येक दिन १० हजार रुपैयाँ, म्यान अफ दि टुर्नामेन्टलाई नगद २५ हजार र सर्वाधिक गोलकर्तालाई नगद १५ हजार रुयैयाँ पुरस्कार राशिको व्यवस्था गरिएको छ ।

Loading...