भाषामा देखिएको विवादः प्राज्ञहरू नै नेपाली भाषालार्इ लङ्गडो बनाउँदै

nepali_bhasa

काठमाडौँ । अहिले नेपाली  भाषाको प्रयोग, मूलतः वर्णविन्यासलाई लिएर विभिन्न किसिमका बहस र छलफलहरू चलेका छन् । नेपाली भाषालाई  पहाडिया भाषा, खस भाषा, पर्वते भाषा, बाहुन —क्षेत्रीहरूकाको भाषा, शासक वर्गको भाषा भन्दै एक थरीहरू प्रायोजित किसिमले एक हिसाबले हिजोकै दिनदेखि नै लागेकै थिए ।  अब आएर अर्काथरीहरू पनि नेपाली भाषालाई सरल सहज, व्यावहारिक र समय सुहाउँदो बनाउने नाममा नेपाली भाषाको विकृतीकरणतर्फ लागेका छन् । नेपाली जनताले साम्राज्यवादका विरुद्ध लडेको इतिहासलाई विकृत बनाउन विदेशी जुठोपुरोमा रमाउनेहरू र डलर र युरोद्वारा निर्देशितहरू लागिरहेको बेला अब आएर भाषामाथि पनि प्रहार हुन थालेको छ  । त्यति मात्र होइन, नेपालको तराईमा बोलिने मातृभाषाहरू मैथिली, भोजपुरी, थारू, अवधि आदि भाषा विरुद्ध उभिँदै  सिंहदरवारमा बसेकाहरू भारतमै पनि विवाद र बहसको विषय बनिरहेको हिन्दी भाषालाई नेपालको सरकारी भाषा बनाउनु पर्ने भनेर अभिमत दिइरहेको स्थिति छ ।  यस्तो बेला नेपाली भाषाका विरूद्ध जुनसुकै  कोणबाट किन नहोस्, प्रहार हुने कुरा सामान्य छैन  । यो योजनाबद्ध र सोचीविचारी गरिएको कार्य हो भन्नुपर्ने अवस्था उत्पन्न भएको छ । नेपाली भाषाका  स्थानीय रूपहरूलाई (भाषिकाहरूलाई) अलग भाषाको मान्यता दिएर नेपाली भाषाको आयाम खुम्च्याउने कार्य भइरहेकै थियो । नेपाली भाषालाई विवादको  विषय बनाएर यसको सार्वभौम र सार्वकालिक महत्त्व घटाउने तथा अविश्वासको स्थिति निर्माण गर्ने काम नेपाली भाषा विरोधी अभियानको व्यावहारिक रूप हो ।

नेपालका बोलिने सबै मातृ भाषाहरू नेपालका राष्ट्रिय भाषा हुन् ।  तर नेपालमा हिन्दी मातृभाषा भएका नेपाली छैनन् र जेजति प्रतिशत  देखाइएको छ, त्यो पनि सही छैन, कृत्रिम हो ।  तर हिन्दी मात्रीभाषीहरूको संख्या बढाउने र यसलाई नेपालको सरकारी भाषा, रास्ट्रीय भाषा बनाउने योजनाबद्धताको थालनी भएको  छ र यसप्रति सबै सजग हुनु आवश्यक छ l

भाषाको भाषावैज्ञानिक नियम हुन्छ, यसको चरित्र गतिशील  हुन्छ, परीवर्तनशील हुन्छ ।  तर यसले निश्चित आकार र रूप लिन र व्यवहारमा मान्यता पाउन समय लिन्छ । स्थिरताका लागि समय लाग्छ । कसैलाई मन लाग्यो भन्दैमा यसको आकार  र रूप फेर्ने काम वैज्ञानिक हुनसक्तैन । यसलाई सरल र व्यावहारिक बनाउनुपर्छ,  तर यसका आधारभूत नियम, पद्धति तथा भाषावैज्ञानिक आधारहरूमा परिवर्तन  तथा परिमार्जन गर्ने कार्यले केही वैज्ञानिक  र वस्तुगत आधार खोज्छ ।

नेपाली भाषाप्रति चिन्ता व्यक्त गर्ने तथा यसको जगेर्ना गर्ने नाममा एक थरीहरू संस्कृत युगतिर, नेपालको सन्दर्भमा भन्दा मध्यचन्द्रिका भन्दा पनि उतै फर्किनुपर्ने जिकिर गरिरहेका छन् र अर्का थरीहरू साँध-सिमाना सबै मिचेर अराजकता र पूरै भाँडभैलोमा लागेका छन् । आदिमयुगतिर फर्कने र नेपाली भाषालाई समय सुहाउँदो बनाउने नाममा अराजकता, मनपरितन्त्र तथा चीरहरण गर्ने काम दुवै गलत छन् । अहिले नेपाली भाषाको हुर्मत लिने काममा केही मात्रामा नेपाली केन्द्रीय विभाग र सबैभन्दा बढी संसदवादी राजनीतिक पार्टीहरूको कोटा-भागबण्डामा चलेको नेपाल प्रज्ञा प्रतिष्ठानमा भारतीय झण्डा फहराउने कथित प्राज्ञहरू अग्र पंक्तिमा उभिएका  छन् । यस मामिलामा प्राध्यापक खगेन्द्र लुइँटेलको संयोजकमा बनेको समिति सकारात्मक  कदम हो ।

अब,  हिजो त्रिवि नेपाली केन्द्रीय विभागले गल्ती गरेकै हो भनेर प्रस्टताका साथ भन्नैपर्ने हुन्छ । जजसले गल्ति गरे तिनले ”हामीले गल्ति गरेकै  हो  सार्वजनिक रूपमै घोषणा गर्नुपर्छ । पहिलो गल्ती ‘उच्च माध्यमिक शिक्षा परिषद्’ को तजबिजमा साझा प्रकाशनबाट प्रकाशित कक्षा ११ को पुस्तक सबैको नेपाली (२०६७) बाट भयो  ।  यस पुस्तकको सम्पादकमा केशव सुवेदी, महादेव अवस्थी, जीवेन्द्रदेव गिरी, ताराकान्त पाण्डेय, रमेश भट्टराई, महेश्वर न्यौपाने, देविका राई, लेखनाथ गुरागाईँ, हेमनाथ पौड्याल, बद्रीविशाल भट्टराई मात्र होइन प्राध्यापक ठाकुर  पराजुली पनि हुनुहुन्छ भन्ने कुरा यहाँ स्मरणीय छ । साँचो-झुठो के हो, यसमा ठूलै आर्थिक खेल भएको कुरासमेत चर्चामा  आएका छन् l वास्तवमा योजनाबद्ध रूपमा विकृति प्रवेश गराउने काम यसै पुस्तकबाट भएको हो । यसले भित्र्याएको विकृतिलाई समयमै सच्याउनुको सट्टा नेपाली केन्द्रीय विभागका संयोजक प्राध्यापक देवी गौतम , पारस भण्डारी  र रामनाथ ओझा सम्पादक रहेको स्नातक नेपाली (२०६९) ले त्यसै विकृतिलाई अनुमोदन गर्यो  । यो नेपाली केन्द्रीय विभागले गरेको गम्भीर गल्ती थियो । नेपाली भाषालाई विकृत पार्ने प्रवृत्तिका विरुद्ध लड्नुपर्ने संस्था नै गलत दिशातिर उन्मुख भयो ।

अब आएर ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ ले विश्वास गुमाइसकेको छ । लाज पचेका  कथित प्राज्ञहरूहरू अझै गलत कुरालाई ढाकछोप गर्न प्रयासरत देखिन्छन् । ‘नेपाली बृहत् शब्दकोष २०७२’ को विक्रीवितरण पूर्णरूपमा बन्द गरिनुपर्छ  र  यो संस्थालाई नेपाली भाषा विरोधी संस्थाका रूपमा सूचीकृत गरिनुपर्छ । र सबैको नेपाली लाई नेपाली भाषा विकृतिको पहिलो आधार पुस्तक भनेर किटान गरिनुपर्छ । नेपाली केन्द्रीय विभाग नेपाली भाषा र साहित्यको अगुवा संस्था हो र बन्नुपर्छ । ढिलै भए पनि अहिले आएर यसले आफ्नो गल्ती स्वीकारेको छ र २०७३/६/१४ मा गरेको निर्णय छ सकारात्मक  छ । यसले अघि सारेका ११ ओटा बुँदा सही छन् र आगन्तुक शब्दहरूका बारेमा पनि  धारणा प्रस्ट पारिएको भए अझ राम्रो  हुन्थ्यो ।  केही फेरि ‘शहीद’ तिर फर्कनुपर्ने कुरा गरिरहेका  छन्, हामी ‘सहिद’ कै पक्षमा छौं  र यही नै सही हो ।

भाषाबारे पछिल्लो समय विवाद बढ्दै गए पछि त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरले साझा प्रकाशनबाट प्रकाशित त्रिविको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई खारेज गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुरको मिति २०७३–६–१४ मा बसेको विभागीय समितिको पूर्ण बैठकले २०६६ सालमा त्रिवि अनिवार्य नेपाली विषय समितिका तत्कालीन अध्यक्ष प्रा.डा. हेमाङ्गराज अधिकारीले अनिवार्य नेपाली शिक्षण निर्देशिकाको प्रकाशनका क्रममा विषय समितिमा वर्णविन्यासबारे छलफल नै नगराई निर्णय भएको भनेर साझा प्रकाशनबाट पुस्तकाकार रूपमा प्रकाशित गरेको शिक्षण निर्देशिकामा उल्लिखित विवादास्पद वर्णविन्यासलाई खारेज गर्ने निर्णय गरेको छ । उक्त शिक्षण निर्देशिकामा उल्लेख भएको वर्णविन्यासबारे २०६९ सालमा केही परिमार्जन गरी प्रस्तुत गरेको वैकल्पिक प्रस्तावलाई पनि विभागको बैठकले संशोधन–परिमार्जन गरेको छ । विभागबाट गरिएको यससम्बन्धी निर्णय निम्नानुसार रहेको छ :

(क.) श्रुतिसमभिन्नार्थक शब्द (फूल–फुल, पुरा–पूरा, तीन–तिन आदि) लाई दीर्घ नै लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने  ।

(ख.) जाति थर बुझाउने शब्दका अन्तिमको उकार दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने ।
(ग.) इच्छार्थक/आज्ञार्थक क्रिया (जाऊन् भनून्, खाऊ आदि) लाई दीर्घ मात्र लेख्नुपर्ने, ह्रस्व लेख्न नमिल्ने

(घ) जाति थर बुझाउने शब्द (शाह, शेर्पा, शेरचन आदि) मा तालव्य ‘श’ पनि लेख्न सकिने ।

(ङ) नाम र थरका बीचमा आउने मध्यवर्ती नाम (रा.मणि, प्रसाद, कुमारी, देवी आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने ।

(च.) रूढ अर्थमा प्रयोग हुने समस्त शब्द (विश्वविद्यालय, भाषाविज्ञान, पानीजहाज, विराटनगर, ललितपुर, कीर्तिपुर आदि) लाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने ।

 (छ) लामा वा छोटा सबै नामयोगी (स.सँग, माथि, अनुसार, बाहेक आदि) लाई पदयोग गरी लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने । व्यञ्जनान्त द्वयक्षरी र सोभन्दा बढी अक्षरका नामयोगीलाई पदवियोग गर्ने भन्ने कुरा मान्य नहुने ।

(ज.) अक्षरगणनास्वरान्त तथा व्यञ्जनान्तजस्ता त्रुटिपूर्ण आधारमा शब्दलाई लामा र छोटा गरी पदवियोग गर्न नमिल्ने (शिक्षामन्त्रीलाई जोड्ने तर प्रधानमन्त्रीलाई छुट्ट्याउने भन्ने कुरा मान्य नहुने) ।

(झ.) दुई शब्दबाट बनेका सबै समस्त शब्द (शुभयात्रा शुभकामना, दृश्यचित्र, रेखाचित्र आदि) लाई पदवियोग गरी लेख्न नमिल्ने, पदयोग गरेर नै लेख्नुपर्ने । दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्द (गाँस बास कपास, मन वचन कर्म, तन मन धन) लाई समास नगरी गाँस, बास र कपास; मन, वचन र कर्म; तन, मन र धन आदिलाई पदावलीका रूपमा प्रयोग गर्नुपर्ने ।

(ञ) द्वित्व शब्दमा सार्थक शब्दको नै आवृत्ति भई तिनले विशिष्ट अर्थ प्रदान गर्ने हुँदा द्वित. शब्दलाई सार्थक र निरर्थक भनी वर्गीकरण नगरी सबै किसिमका द्वित्व शब्दलाई पदयोग गरेर नै लेख्नुपर्ने, पदवियोग गर्न नमिल्ने (घरघर, घरसर, पानीपानी, पानीसानी आदि)

 (ट.) संयुक्त क्रिया (जानुपर्छआउनुहोस्, हेरिरहन्छ, पढिहाल्छ आदि) लाई पदवियोग गर्न नमिल्ने, पदयोग गरी ह्रस्व लेख्नुपर्ने ।

(ठ.) संयुक्त व्यञ्जनलाई खुट्टा काटेर (विद् या विद् वान्, द् वन्द् व, बुद् ध, शुद् ध, उद् धार आदि) लेख्न नमिल्ने, प्रचलनअनुसार (विद्या, विद्वान्, द्वन्द्व, बुद्ध, शुद्ध, उद्धार आदि लेख्नुपर्ने ।

(ड) क्षतिपूर्ति दीर्घीभवन र सङ्ख.पर्यार्यवाची शब्दको ह्रस्वीकरण गर्नेलगायत नेपाली वर्णविन्यास सम्बन्धमा हाल देखिएका सबै खाले विवादहरूबारे प्रयोक्ता र आम सरोकारवालासँग व्यापक छलफल गरी प्राप्त हुने निष्कर्षलाई मानक वर्णविन्यास मानी विश्वविद्यालय तहको शैक्षणिक प्रक्रियामा समावेश गर्नुपर्ने l
०००

Loading...