‘अफ ए लेसर गड’: मौन आवाजहरुको विद्रोह

- कुमारी लामा

of_the_lesser_god_kumari_lama

 सधैँ शान्त, धैर्य र कोमल देखिन्छिन् उनी । शंकासम्म पनि लाग्दैन त्यो शालिनता   भित्र उठिरहेको होला अनेकन असन्तुष्टि र बितृष्णाका छालहरु भनी । तर जब उपेक्षित, हेला गरिएका, सीमान्त पात्रहरु मार्फत पोखिदै जान्छ सामाजिक बिसंगती तब म साच्चै छक्क पर्छु । उनी एक सशक्त सर्जक । माया ठकुरी ।

परिचय आवस्यक छ र ?

यति मात्र भन्न मन छ । एक शक्तिशाली कथाकार उनी ।

जानी बुझी नै हात पारेकी हुँ उनको अफ ए लेसर गड (हालै अक्षर क्रियशनले बजारमा ल्याएको उनका प्रतिनिधि कथाहरुको अंग्रेजी अनुवाद संग्रह ) ।
 
कथाहरु छिचोली सक्दा ढुक्क भई भन्न सक्ने भएकी छु, सीमान्त सुवासको पारखी रहेछिन् उनी । सबैभन्दा पर छाडिएका, भुँइमा लडेकाहरु, हेपिएका दुःखी पीडितहरु नै हो उनको चासो । आवाज विहिनको बोली बनी दिनु, अशक्तहरुलाई हिम्मत दिनु, अरुले हियाएकाहरुलाई माया गर्न सक्नु बेस्सरी ठुलो मन चाहिन्छ । मनकी धनी हुन् उनी पक्का । पात्र चयनले नै यही भन्दैछ । मानवीय संवेदनाले आफु हायलकायल हुनु र कथामा उस्तै टिप्न सक्नु माया ठकुरीको खासियत हो ।

भोक लागेका बेला खाना भन्दा ठुलो के होला र …………?
हङ्गर कथाकी फुलमती र उनका केटाकेटी भोका छन् त्यसैले खानेकुरा भन्दा पर केही सोच्नै सक्दैनन् । मासु र चिउराको बास्नाले भसक्कै बिर्साइदिन्छ लोग्ने मरेको पीडालाई । फुलमतीले केटाकेटीका लागि मासु चिउरा मगाउछिन् । अन्तमा आफ्नै लागि पनि । भोकको धर्म भन्नु नै खाना हो । उनले धर्मको पालना गरेकी छन् । तर भर्खरै मरेको लोग्नेको अनुहार हेरेर आएकी एक स्वास्नीका लागि खाना खानु त्यसमा पनि मासु चिउरा ।. यो भयंकर ठुलो संघर्ष हो । विद्रोह हो । फुलमतीलाई सलाम । के गर्नु त, भोक लत्याउन नसकिने सत्य हो ।

ठकुरीका कथाहरुमा यस्तै अचम्मका घटना र पात्रहरुको बाहुल्यता छ । उनका सीमान्त पात्रहरु अपत्यारिलो तरिकाले विद्रोह छेड्छन् । उनीहरुका मौन आवाजहरु प्रष्टै सुनिन्छ । ‘द नाइट इज माइन जस्ट याज वेल’ की अम्बिका हुन् या निर्मलाकी निर्मला, कमजोर देखिए पनि यी पात्रहरु कथा अन्ततिर गज्जबसँग  बद्लिदिन्छन् । परिस्थिति र नियतको खेलका कारण उनीहरु सबै कुरा सहन सक्ने र फरक तरिकाले आफ्नो अस्तित्वको प्रत्याभुति गराउन सक्षम भइसक्छन् ।
 
अम्बिकालाई सधैँ लोग्नेबाट पाएको घृणा र अवहेलनाको क्षतिपुर्ति दिलाएको छ समयले । लोग्ने पक्षघातले थलिएका छन् । उनी लोग्नेको स्याहासुसार राम्रैसँग गर्छिन् । तर सधैँ लसुन र बेसारको गन्ध भनेर लोग्नेले गरेको तिरस्कारको बद्ला आज आफ्नै इच्छा अनुसार बेसार र लसुन गनाउने ‘म्याक्सी’ लागाएर लसुन नै चपाउँदै उनको छेउ जान्छिन् । उनी बहुतै खुस छिन् आज कारण उनी स्वतन्त्र छिन् । आज लोग्नेको कठपुतली नभई आफ्नै मर्जीले चल्न सकेकी छिन् । ठकुरी हामीलाई यस्तै जीवन्त पात्र छेउ पुर्याइदिन्छन् । हामी तुरुन्तै झ्याम्मिई जान्छौँ उनीहरुसँग । अथवा हामी उनीहरुको पीडामा रोइदिन्छौँ अनि खुसीमा हाँस्ने पनि गर्छौँ । यो एउटा सर्जकको सफलता हो ।

कथा निर्मलाको पात्र निर्मला पनि हामी छेउकै एक पात्र हुन् । आफ्नो आमाको मृत्यु र बाबुले सैतेनी आमा ल्याएपछि केटाकेटीले भोग्ने पीडा भोगेकी छ उनले । आमाको मायाको लागि सधैँ तड्पिरहेकी निर्मलामा सौतेती आमाको घृणा र अनेक दोषारोपणले विकास गरेको विकृत मनस्थिति साह्रै स्वाभाविक छ । घरमा पाएको अमिलो व्यवहारबाट एक्लो र निरिह भए पछि चालेको कदमले एउटा कोपिला कुसमयमै झर्छ । ऊ खोलामा हाम फाल्छे । केही दिनपछि ढाडिएको मृत शरीर बगरमा देखिन्छ । एकदमै नमीठो अन्त्य हुन्छ ती नाबालिकाको । मन चिसो हुन्छ । हामी माया खोज्छौ, स्नेह चाहन्छौ आफन्तबाट तर कहिलेकाही हामी निर्मला जस्तै नियति भोग्न बाध्य हुन्छौँ ।  

निर्मलाको मृत्युले मथिङ्गल घुमेको बखत लेखकसँग एकपटक गुनासो पोख्न मन  छ । हरे कति सारो दुःख र पीडाको भारि मात्रै बोकाइदिएको हौ पात्रहरुलाई । उफ । किन होला तिम्रा कथाहरुमा सुख र खुसीको अभाव । के जीवन भन्नु दुःखै मात्र हो त ? अन्याय, हिंसा, अभाव, बिसंगति, कुरुपता आदि मात्रै छ र संसारमा ? ए प्रिय लेखक किन यति साह्रो अँध्यारो छ तिम्रो मन ? अलिकति आशाको किरणसम्म छिर्न दिएको भए पनि त्यति डरलाग्दो अन्त्य त हुन्थेन होला नि ती धेरै पात्रहरुको ।

सायद दुःखकै पल्ला भारि छ संसारमा त्यसैले सर्जकहरु बढी उतै तानिन्छन् । ठकुरीका कथाहरुमा मुख्यत मानवीय भोगाइ र नियतिको प्रधानता छ । लाग्छ उनका कथाहरुमा समाज र मानिसहरु छर्लङग भेटिन्छन् । लाग्छ ती समाजका दर्पण हुन् । उनी मानवीय कमजोरी, उमेर जन्य असक्षमता आदि प्रति पनि उतिकै संवेदनशील देखिन्छिन् । प्रियम्बदा र मदर प्लिज लिभ जस्ता कथाहरुले डरलाग्दो गरी छोइदिन्छन् । उमेरसँगै प्रियम्बदालाई गाज्दै लगेको बिर्सने बानीले निम्त्याएको अवस्था बहुत मर्मस्पर्शी छ । होस र चेतनाका कारण हामी छौँ । जब होस नै गुमाउछौँ तब के होला हाम्रो हाल । सायद सबै सादा, सम्म, बराबर, उस्तै, न ठीक न बेठीक । प्रियम्बदाले सामान भरिएको झोलामा पानी खन्याउँछिन्, ओलटाइपल्टाइ पखाल्छिन् । उनलाई फोहोर लागेको साडी पखाल्नु थियो तर उनी सामान सहितको झोला पनि पखाल्छिन् । त्यसपछि उनी अनिश्चित यात्रामा लाग्छिन् ढुक्कैसँग । थाहा छैन कता । अब आउने दिन कस्तो भोग्दिहुन् यी होस् हराएकी प्रियम्बदाले । ज्या, यो जीवन…

समाजका यथार्थलाई टिप्दै मानवीय संवेदनालाई पोख्दै गर्दा माया ठकुरीले केही कथाहरुमा मानिसको मनोविज्ञानलाई राम्रैसँग नियाल्न भ्याएकी छिन् । कथा पेन फ्रेन्ड यसैको मीठो उदाहरण हो । उनले एउटा मानिसको कल्पना र यथार्थ बीचको भिन्न अनुभुति देखाएका छन् । पत्रको आधारमा प्लाटोनिक प्रेममा परेका छन् विजय । उनलाई लाग्छ पत्रमित्र सुस्मा बहुत सुन्दर छिन् । तर वास्तवमा उनी कालो वर्णकी नाकको अघिल्लो भाग नभएको अलि असुन्दर छिन् । विजय आफै पनि ६० बर्ष का छन् तर २५ वर्षे युवा भई पत्र लेख्दै छन् ।

सुन्दरता तिर मात्रै तानिनु हाम्रो कमजोरी हो । र अर्को कमजोरी, हामी भ्रममा बाँचुन्जेल खुस हुन्छौ तर जब यथार्थको नाड.गो रुप अघि पर्छ हामी सहन सक्दैनौ । सायद यही हो हामी मानिसको कमजोर पक्ष ।

यस संग्रहमा भएका विस वटा कथाहरु सबैमै पीडीत पात्रहरु छन् । फरक पात्रहरु, फरक परिवेश, फरक भोगाइहरु तर केन्द्र भन्नु दुःख नै छ । तर अथाह कष्टका बीच पनि उनीहरु निरन्तर संघर्षरत छन्, अघि बढिरहन प्रयत्नरत छन् । सायद यही धर्म हो जीवनको ।

माया ठकुरीको कथाहरु नेपालीमै पढिसकेका पाठकहरुका लागि कति इन्टरेस्टको विषय हुन सक्ला यो अनुवादित कथा संग्रह त्यो चाहि हेर्न थाती राख्छु । बिट मार्ने बखत भन्न मन लाग्यो

प्रिय लेखक,
तिम्रो प्रेमिल स्पर्शले जीवन्त भएका फूलमती, साने, नर बहादुर, निर्मला, दिपिका लगायतका सबै पात्रहरुप्रतिको तिम्रो स्नेहलाई नमन । तर अर्को पटक भने उनीहरुको सुख खुसी पनि थोरै खानतलासी गरिदिनु ल ।     

Loading...