साझालार्इ आफ्नो निजि प्रकाशनगृहको रूपमा चलाउँदै महाप्रवन्धक शर्मा

आफू निकटका व्यक्तिलार्इ अध्यक्ष बनाउन शक्ति केन्द्र धाँउदै

काठमाडौँ । हरेक दिनजसो साझा प्रकाशनसित सम्बद्ध समाचारहरू प्रकाशित भइरहन्छन् र यसका महाप्रवन्धक डोलिन्द्र शर्माले पनि सामाजिक सञ्जालमार्फत ”आफ्नो न्यायिक मन र विवेकको प्रयोग गरी स्वतन्त्ररूपमा सुझाव पाउँ, साझा प्रकाशनलाई आगामी दिनमा कसरी सञ्चालन गर्नुपर्ला ?”  भनेर आह्वान गरेको पढ्न पाइन्छ । यो सकारात्मक पक्ष हो ।

सरसरती हेर्दा महाप्रवन्धकको साझा प्रकाशनको वर्तमान र भविष्यप्रति एकदमै गम्भीर र यसलाई कसरी राम्रो र गम्भीर बनाउने भन्नेमा उनको चिन्ता र चिन्तन रहेको भन्ने कुरा देखिन्छ । तर साझाकै  कर्मचारी, कतिपय बोर्ड सदस्य र सेयरहोल्डरहरू र साहित्यकारहरूको भने साझा प्रकाशनको कार्यालय पार्टी कार्यालयजस्तो भएको बताउने गर्छन् । इमानदार, स्वाभिमानी र गैरपार्टी लेखकहरूका लागि साझा प्रकाशन बिरानोजस्तो हुनथालेको उनीहरू बताउँछन् ।

‘साझा बचाउ अभियान’ मा सेयरहोल्डरहरू, शुभचिन्तकहरू तथा कर्मचारीहरूसमेत लागेको अवस्थामा बचाउ अभियानको अभियन्ता आफू मात्रै भएको भन्दै आफूलाई नायकका रूपमा स्थापित गर्न महाप्रवन्धक शर्मा लागि परेको त्यहाँका कर्मचारी बताउँछन् । महाप्रवन्धक पत्रपत्रिकाहरू तथा फेसबुकमा प्रचार गर्दै साझा प्रकाशन तथा यहाँ कार्यरत कर्मचारीका समस्या समाधानमा ध्यान नदिएको अारोप स्रोतले लगायो ।

शर्माले शक्तिकेन्द्र धाएर नेताहरूसित फोटो सेसन गरेर आफ्नो पहुँच देखाउँदै कर्मचारी र सेयरहोल्डरहरूमाथि धाक रवाफ देखाउन खोजेको त्यहाँका कर्मचारीले बताए ।  नेताहरूको घरघर धाएर स्तरहीन पुस्तकहरू प्रकाशन गरेको तथा आफ्नो  इच्छाअनुसार निर्णय गरेर साझाको निर्णय भन्ने गरेकाले साझा प्रकाशनका बोर्ड सदस्यहरू नै शर्माप्रति आक्रोसित बनेका छन् ।

‘कर्मचारीहरूले वर्ष दिनदेखि तलब खान पाएका छैनन् । सेवा निवृत्तहरूले एक पैसा पनि हातमा नलिई अवकास लिनु परेको छ’, स्रोतले भन्यो, ‘सेयरहोल्डरहरूले पनि वर्षौँदेखिको रोयल्टी पाउन सकेका छैनन् । महाप्रवन्धक डोलिन्द्र शर्मा संस्थाको हितभन्दा पनि राजनीतिक नेताहरू रिझाएर कुर्सी बलियो बनाउनमा लागि परेका छन् ।’

साझाले गरेको ‘तीन जना स्रष्टा’ सम्मानको विषयलाई लिएर कर्मचारीले मात्र नभई बोर्ड सदस्य तथा सेयरहोल्डरहरूले पनि असन्तुष्टि जाहेर गरेका छन् । एमालेको तर्फबाट कोटामा निर्वाचित बोर्ड सदस्य विजय सुब्बाले उक्त कार्यक्रमकै बहिष्कार गरेका थिए ।

यो कार्यक्रम प्रधानमन्त्रीको चाकरी मात्र भएको र संस्थालाई आर्थिक भार मात्र भएको साझाका कर्मचारी बताउँछन् । ‘साधारण सभा तथा यस्तै विशेष सन्दर्भमा स्रष्टालाई सम्मान गर्दा उपयुक्त हुने भए पनि महाप्रवन्धकले जसरी यो कार्यक्रम गरे, यसमा सेयरहोल्डरहरूको ठूलोसङ्ख्या र बोर्ड सदस्यहरूबाट एक हिसाबले बहिष्कारको स्थिति बन्यो,’ स्रोतले भन्यो ।

पुराना र साझा पुरस्कार प्राप्त वरिष्ठ र सम्मान गर्नुपर्ने लेखकहरूलाई समेत “पुस्तक छापिदियौँ यति प्रति विक्री गर्नुपर्छ” “अमुक अमुकले यति बिक्री गरे, तपाईँले कति बिक्री गर्ने” भनेर दबाब शाझाले दिन थालेको समेत एक लेखकले बताए । किताबको छपाइ खर्च लेखक आफैँले व्यहोर्ने र पुस्तक पनि सबै किन्ने सर्तमा साझाको लोगो प्रयोग गर्न दिइएको समेत छ ।

यसबाट अब सही लेखक होइन, पैसावाल लेखकको पहुँच साझामा हुने कुरा निश्चिन्त छ । साझा प्रकाशन लेखकहरूको विचारमन्थनको थलो नभएर दुई नम्बरी व्यापारीको थलो बन्ने कुराको टिप्पणी पनि सेयरहोल्डरहरूबीच हुनथालेको छ । अलिकति बहस गर्नेबित्तिक कर्मचारी सरुवा गरेको तथा साझामा सक्षम मान्छे हुँदाहुँदै पनि बाहिरबाट ‘गरिमा’ का लागि सम्पादकको विज्ञापन गरेर आफन्तलाई तलब खुवाउन खोजेको अारोप शर्मामाथि कर्मचारीहरूले लगाउँछन् ।

केही वर्षयता साझामा अतिराजनीतिकरण, शक्तिकेन्द्र धाउने प्रवृत्ति, आवश्यकताभन्दा बढी कर्मचारी भर्ना गर्ने प्रवृत्ति र आर्थिक भ्रष्टाचार बढेको छ । ‘यही कारण जीर्ण बनेको साझा प्रकाशनलाई अघि बढाउने सन्दर्भमा छलफल गरिनुपर्नेमा त्यस्तो हुन सकेन्’, स्रोतले भन्यो, ‘एउटा आयोग नै बनाएर साझा प्रकाशनका समस्याहरूको समाधान र विगतमा भएका भ्रष्टाचारहरूको पनि छानबिन गरिनु आवश्यक थियो, तर त्यस्तो हुन सकेन् ।’

एक कार्यकाल सकाएका शर्मालाई नै पुनः महाप्रवन्धक पदमा ४ वर्षका नियुक्ति गरियो, यसले बोर्ड सदस्यहरूका साथै सेयरहोल्डरहरूलाई समेत आक्रोसित तुल्याएको छ । पछिल्ला दिनमा साझा प्रकाशन साहित्यिक भन्दा पनि बढी राजनीतिकरण र टेन्डर प्रवृत्तितर्फ प्रवृत्त हुनथालेको छ ।

हालै सरकारले साझा प्रकाशनका लागि केही रकम अनुदान र ऋणमा उपलब्ध गराउन गरेको निर्णय गरेको छ । तर पनि उक्त रकम के-कस्ता कार्यमा र कसरी खर्च गर्ने भन्ने प्रष्ट छैन् । प्रयोजन नखुलार्इ सरकारले रकम उपलब्ध गराउँदा यसको हिनामिना हुन सक्ने भन्दै साझाभित्रै विरोध गुञ्जिएको छ ।

पछिल्लो समय साझाको अध्यक्षको रूपमा आफू नजिकको मान्छेलाई नियुक्त गर्न महाप्रवन्धक शर्मा शक्तिकेन्द्र धाइरहेका छन् । उनले यसबीचमा पटक पटक प्रधानमन्त्रीलार्इ भेट गरेका छन् । त्यतिमात्र होइन् उनले प्रमुख प्रतिपक्षी दलका नेताहरूसँग पनि उठबस बाक्लो बनाएका छन् । एमालेप्रति नकारात्मक रहेका शर्मा एमालेभित्रकै गुटको प्रयोग गर्दै छन् भने आफूलाई माओवादी केन्द्रको खास मान्छेका रूपमा प्रस्तुत गर्दै हिँडेका छन् ।

यता महाप्रवन्धक शर्माले भने नेताहरूको किताब खोजीखोजी प्रकाशित गरेको नभई नयाँ प्रतिभालाई अवसर दिएको दाबी गर्छन् । नयाँको मात्र नभई पुरानाका स्तरीय पुस्तकहरू पनि प्रकाशित गरेको, काम नगर्ने र संस्थाहित विपरीत राजनीति गर्ने, कर्मचारी भडकाउनेहरूलाई सरुवा गरेको उनको भनाइ छ । पहिलेका भ्रष्टाचारका प्रकरण सार्वजनिक गर्न थालेपछि आत्तिएर उनीहरूका नजिकका व्यक्तिले आफूलाई बदनाम गर्न शक्तिकेन्द्रहरूसित जोडेको उनको दाबी छ । ‘म इमान्दारीका साथ साझा प्रकाशनको उन्नतिका लागि लागेको छु । मैले लेखकहरूलाई सक्दो सहयोग र सम्मान गरेको छु’,उनले भने, ‘योग्य र सक्षम व्यक्तिमार्फत ‘गरिमा’ को सम्पादन गराएर स्तरीकरण गर्न खोजेको हुँ ।’

सरकारको सहयोगबिना संस्था चल्न सक्दैन् । सरकार र राजनीतिक व्यक्तिसित सम्बन्ध सुमधुर पार्ने कुरामा विमति छैन् तर पनि बोर्ड सदस्यहरूबीचमै सहयोग र सहमतिको वातावरण बन्न नसके र सेयरहोल्डरहरूलाई बेवास्ता गरेर आफू खुसी जान खोजे संस्थाले अपेक्षित गति लिन नसक्ने कुरा स्वतःसिद्ध छ ।  साझा प्रकाशनले व्यापार प्रवर्द्धनमा  जोड दिनु आवश्यक छ, तर व्यापार प्रवर्द्धनमा जोड दिनु र व्यापारी नै बन्नु अलग कुरा हुन् । विगतमा आर्थिक क्षेत्रमा देखिएको अनियमितता, अपारदर्शीता तथा प्रकाशनको क्षेत्रमा देखिएको गुणस्तरहीनताप्रति संस्था प्रमुखले गम्भीरता अँगाल्नुका साथै व्यापक समझदारीको वातावरण निर्माण गर्नु आवश्यक छ ।

तर पनि ‘अक्सफोर्ड इन्टरन्यास्नल पब्लिकेसन’ र ‘समी सम प्रकाशन गृह’का प्रमुख हुँदा हुँदै राजनीतिक शक्तिकेन्द्रकै अाडमा साझा प्रकाशनको महाप्रवन्धक बनेका शर्माले आफूलाई ‘चतुर व्यापारी’को रूपमा उभ्याएका छन् र लाभको खोजी गर्दै छन् । एउटा निजि प्रकाशन गृहको साहु देखि आफूलाई साझा प्रकाशनको महाप्रवन्धकमा फेर्नका लागि प्राज्ञिक र बौद्धिक क्षेत्रसितको सम्बन्धलाई पनि गम्भीरतापूर्वक लिनु आवश्यक छ । यसैले नै ‘साझा बचाउ अभियान’ लाई दीर्घकालीन सहयोग पुग्नेछ ।

Loading...