प्रणय दिवसमा प्रेमिल जोडीलाई स्वागत गर्न आतुर सौराहा

भ्यालेण्टाइन फुड फेस्टिवल माघ २९ गते देखि

चितवन । हरेक वर्ष प्रणय दिवसलाई लक्षित गरी आयोजना गरिने सौराह फुड फेस्टिबल यस वर्ष पनि आयोजना गरिने भएको छ । आगामी माघ २९ गतेदेखी फागुन ४ गतेसम्म फेस्टिबलको आयोजना गर्न लगिएको हो ।

फुड फस्टिबलको आयोजक क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) सौराहले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी गराएको हो । यस समयमा सौराह क्षेत्रमा पर्यटकहरुको आगमन कम हुने हुंदा पर्यटकहरुलाई आकर्षित गर्नलाई प्रत्येक वर्ष फेस्टिबलको आयोजना गर्दै आएको क्षेत्रिय रेवान सौराहले जनाएको छ ।

फुड फेस्टिबलका संयोजक नरेश गिरीका अनुसार पर्यटकको बसाई लम्व्याउन र अन्य पर्यटकलाई पनि सौराह आउन यस फुड फेस्टिबलले प्रेरित गर्नेछ । फेस्टिबलमा थारु समुदायका परिकारहरु, विभिन्न समुदायका परिकारहरु, परम्परागत नेपाली खाना तथा विदेशी खानाका परिकारहरु समावेश गरिने छ ।

प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता भन्ने नारा सहित फुड फेस्टिबलको आयोजना गर्न लागिएको हो । फुड फेस्टिबल अबधीभर सौराह क्षेत्रका रेष्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीहरुद्धारा ३० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

करिब ४० लाख रुपैंया खर्च हुने अनुमान गरिएको फुड फेस्बिटलबाट ५० लाख बढिको कारोवार हुने आयोजकले विश्वास लिएको छ । फेस्टिबलबाट भएको आम्दानी मध्ये केही प्रतिशत अपांग तथा बृद्धबृद्धालाई सहयोग, खेल मैदान व्यवस्थापन, स्थानिय क्वल तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान) सौराहका अध्यक्ष लाल बहादुर भट्टले जानकारी दिएका छन् ।

भट्टका अनुसार फेस्टिबलमा राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पंगेनी, प्रजापती पराजुली लगायतका गायकहरुको प्रस्तुती रहने छ ।

Loading...