शक्तिखोरमा औद्योगित क्षेत्र बनाउने प्रक्रिया अगाडि बढ्यो

चितवन । सरकारले चितवनको कालिका नगरपालिका–४ शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने घोषणा गरेपछि निर्माण प्रक्रिया अघि बढाईएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले शक्तिखोरमा रहेको २ हजार विघा क्षेत्रफल जमिनमा आद्योगिक क्षेत्र बनाउन प्रक्रिया अघि बढाएको हो ।

आज औद्योगिक क्षेत्र स्थलमा गरिएको पत्रकार भेटघाटमा यही फागुन १८ गतेदेखि कार्यालय स्थापना गरि प्रक्रिया अघि बढाईने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष तथा महाप्रवन्धक नन्द किशोर बस्नेतले जानकारी दिनुभयो । उहाँले जग्गा दर्ता भएको एक महिना भित्रमा शक्तिखोर औद्योगिक क्षेत्रको प्रधानमन्त्री पुष्पकमल दाहालबाट शिलन्यास, शिलन्यास भएको १५ दिन भित्रमा डिपिआर गरिने चार वर्षभित्रमा उद्योग नै संचालन गर्ने लक्ष्य लिएर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड लागि परेको जानकारी दिनुभयो ।

अध्यक्ष बस्नेतले आफू जतिसक्दो छिटो औद्योगिक क्षेत्र निर्माण प्रक्रियालाई अघि बढाउन खोजिएको बताउनुभयो । सरकारले यही फागुन ३ गते शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको थियो । लगत्तै सरकारको स्वामित्वमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले प्रक्रिया अघि बढाएको हो ।

अध्यक्ष बस्नेतले स्थानीयले राखेको गुनोसोलाई सम्बोधन गर्दै डिपिआर गर्ने समयमा सबै मागहरु राख्न आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्र चितवनको मात्र नभई देशकै गौरव हुने भन्दै यसमा सहयोग गर्न स्थानीयबासीहरुलाई आग्रह गर्नुभयो । उहाँले औद्योगिक क्षेत्र स्थापना पछि चितवन आर्थिक हेडक्वाटर बन्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै साँसद शेषनाथ अधिकारीले स्थानीयबासीको समस्या समाधान गर्दै औद्योगिक क्षेत्र स्थापनाको कार्यलाई तिव्रता दिनुपर्ने बताउनुभयो । उहाँले औद्योगिक क्षेत्र स्थापनापछि यस क्षेत्रका बासिन्दाहरुको जीवनस्तर समेत उकासिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाली काँग्रेस चितवन जितनारायण श्रेष्ठ, नेकपा एमालेका प्रतिनिधि गोपी श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी कञ्चन शर्मा, राप्रपा चितवनका अध्यक्ष बद्री तिमिल्सिना, घरेलु तथा साना उद्योग कार्यालयका वरिष्ठ उद्योग अधिकृत होमप्रसाद घिमिरे, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमलगायतले बोल्दै औद्योगिक क्षेत्रले चितवनको विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताएका थिए । स्थानीय उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामाले आफूहरुको छलफल विना सामुदायिक वन क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्न लागेको भन्दै आपत्ती जनाउनुभयो । कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको थियो ।

Loading...