कविता: हार्दिक श्रद्धान्जली !

- मधु माधुर्य

इतिहासमा विस्मृतिको पर्यायबनिसकेको
बेबिलोनको एकान्त बगैंचामा
सुनिरहेको छु म
क्रिष्टिनाको बिलौना र ईश्वरसंगको एकतर्फी वार्ता:

“एक निरिह जुलियाको अन्जानमा ज्यान गयो
प्रिय भ्यालेण्टाइनको निर्मम हत्यासँगै,
पाप वा पुण्य त मैले गरेकी थिएँ भ्यालेण्टाइनसँग ..
मैले किन सहनु पर्यो अन्तिम बियोग भ्यालेण्टाइनसँगको
र आज एक्ली एक्ली छु
कहिले देख्न / भेट्न पाउँछु म प्रिय भ्यालेन्टाइनलाई ?
हे ईश्वर ! मैले तिमी त्यतिको क्रुर छौ भनेर सोचेकी पनि थिईनँ…”

त्यसपछि ….
जीवनलाई अश्रुसागर बनाएकी
क्रिष्टिनाले प्रश्नहरुको भारी
मेरो मुटु र कलेजामाथि बिसाई:

– “तिम्रो धर्मले के भन्छ ?
भ्यालेन्टाइन फेरी जन्मन्छ हो ?”
– “तिम्रा/मेरा धर्महरु के के भन्छन् भन्छन्
  प्रकृतिको नियमअनुसार ऊ आउन पनि सक्छ”

– “अहिले ऊ कहाँ छ ? के गर्दै छ ?”
-“खै ?! वैतरणी तर्दै होला …”
– “के तर्दै ???”
-“…..”

मसँग गरुडपुराण थिएन,
 “टिबेटियन बुक अफ डेथ” थमाई दिएँ तिनको कोमल हत्केलामा ….
अलिकति अर्जुन-कृष्णको संवाद सुनाएँ
शिव र पार्वतीको कहानी सुनाएँ
अलिकति क्राइष्टको अर्ति /उपदेश  सुनाएँ
बुद्ध र मेरो स्व.बाजेको दर्शन सुनाएँ

क्रिष्टिनाको बिलौनाको सामू
म कसरि दिन सक्छु जीवन र मृत्युको परिभाषा
मैले सुनाएँ मेरो अव्यक्त अनुभूतिको सार:
“क्रिष्टिना ! जीवन र मृत्यु पृथक हुनै  सक्दैन”
क्रिस्टिना रोइ रहँदा –
चीसो हिमाल झैँ
म-
ङ्गीच्च /फिसिक्क हास्न सकिन
म पनि भावबिभोर बनिरहेँ  …

-“एउटा अनुरोध छ मेरो”
– “के छ त्यस्तो भनन !”
– “अब म  हिमाल गएर
पार्वतीलेजस्तै भ्यालेण्टाइनकोलागि तपस्या गर्न चाहन्छु”
मैले हल्लाएँ स्वीकारोक्तिको टाउको !

नेताको नैतिकता झैँ
भाँच्चिएको धरहरा र भत्किएको असंख्य घरहरु देखेपछि
क्रिष्टिनाको आँसु टक्क रोकियो
भीरबाट खस्दा खस्दै रोक्किएको ढुंगाजस्तो !

मैले-
 हजार भ्यालेण्टाइनहरुले भूकम्पमा गुमाउनु परेको  क्रिष्टिनाहरुको कथा  सुनाएँ
हजार क्रिष्टिनाहरुले गुमाउनु परेको भ्यालेण्टाइनहरुको व्यथा  सुनाएँ
गृह-युद्धमा देशले गुमाएको नागरिकहरुको दुर्दशा सुनाएँ

ठमेलको चर्को संगीतले हाम्रो संवादमा अर्धविराम लगाइदियो :

– “के को नृत्य हो ?”
– “आज भ्यालेण्टाइन डे, तिनलाई सम्झेर मानिसहरु आज
हेर !
प्रेम-दिवस मनाइ रहेका छन्
उपहार साटासाट गरिरहेका छन्
जताततै पान र वाण कोरिरहेका छन्
झरिलो ओँठमा ओँठ बिसाएर
नाचिरहेका छन्
पिईरहेका छन्  
आफैलाई बिर्सिरहेका छन्…
आज विश्व नै उसको सम्झनामा अस्तव्यस्त छ “

– “को भ्यालेन्टाइन ?”
– “त्यहि भ्यालेन्टाइन, जसकोलागि
तिमीले
बेबिलोनलाई अश्रुसागर बनायौ
र बाँकी जीवन हिमालमा समाधिस्थ हुने प्रण गर्यौ “

-“के प्रेमकोखातिर मर्ने अरु सहिदहरु थिएनन् यो संसारमा ?”
-” मैले चिनेको पहिलो प्रेम-सहिद महादेव थिए
जसले आफ्नो प्रेमीको सरिरको अन्तिम अणु-परमाणु बोकेर हिंडे
त्यस्तो व्यक्तित्व अरु नभए पनि
अप्सरालाइ देखेर भाग्ने सयौं तपस्वीहरू
कति त प्रेमको आगोमा होमिएर मरे होलान्
भिक्षुणीलाइ देखेर गुम्बाको गौंडा भत्काउने कयौं साधकहरु
कति थिए अरु अझै कति छन् आजपनि
हिजो-अस्ति र भोलीजस्तै !”

हिमाल नपुग्दै पहाडको थुम्काथुम्की र देउरालीहरुमा
हामीले तितेपाती र सयपत्रीको पताहरु चढाउँदै गयौं
प्रेमको नाममा मर्ने जो कोहि महामानवकोलागि
सहिद /असहिदकोलागि
हिजो जो मरे
आज जो मरिरहेका छन्
भोली जो मर्न सक्छन्  ….!

क्रिस्टिना  लेक हुँदै माथि माथि उक्लँदै गई
म तल तल बेशीतिर झर्दै गएँ

सेती क्रिस्टिना सेतो हिउँको पृष्ठभूमिमा हराउँदै गई  …

आज पृथ्वीलोकमा
प्रेमको नाममा मानिसहरु
यसरि –
रमाइरहेका छन्
बहुलाई रहेकाछन्
पाप / पुण्य के गरे भ्यालेन्टाइनले ?
उसैलाई मान्छेहरु सम्झिरहेका छन्
मनस्थिति बदलिएर,
मानौं,
भोली नै प्रेमको विसर्जन हुनसक्छ …
मानौं, त्यस्तो ध्वनी जगाइएको छ –
“प्रेम छ भने वर्तमानमा
आजमात्र हुनसक्छ !
अर्थात्
आजमात्र हुनसक्छ प्रेमदिवस !”


पनि
मान्छेको
त्यहि भीडमा उभिएर
श्रद्धान्जली चढाईरहेछु :
अमर रहोस् प्रेम !

Loading...