राष्ट्रपति अघिअघि पूर्वराजा पछिपछि

चौधरी ग्रुपको शाश्वत धामको उद्घाटन

नवलपरासी । राष्ट्रपति विद्यादेवी भण्डारीले नवलपरासीको दुम्कौदप्मा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन गरेकी छन् । मंगलबार चौधरी ग्रुपको सिजी इन्ड्रस्टि्रयल पार्कमा निर्मित शाश्वत धामको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले ऋषिमुनीहरुलाई हाम्रा सांस्कृतिक धरोहरको रुपमा व्याख्या गर्दै यस धामले विश्व शान्ति, राष्ट्रिय एकता र भातृत्व विकासमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल धार्मिक सहिष्णुता र जातीय सद्भावको उदाहरणको रुपमा रहेको देश भन्दै नेपाल बुद्धको जन्मभूमि र यहाँ स्थापित शाश्वतधामले सामाजिक कल्याण र जागरणको क्षेत्रमा भुमिका निर्वाह गर्ने अपेक्षा गरिन् ।

राष्ट्रपतिले उदघाटन गरेपछि धाम आजैदेखि सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । शाश्वतधाममा एकम्बरेश्वर मन्दिरका साथै गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्तिघाट, धर्मशाला, यज्ञकुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकायल, हेरिटेज विल्डिङ हल, गौशाला, आर्गेनिक फार्म, ध्यान केन्द्र लगायत छन् ।

मन्दिरमा आज नै वैदिक सनातन धर्म अनुसार प्राणप्रतिष्ठापन पनि गरिएको छ । शाश्वतधाममा आउने पर्यटकहरुले पशुपति नाथ, मक्तिनाथ, स्वर्गद्वारी, गोसाईकुण्ड, बद्री, केदार, हरिद्वार जस्ता प्रमुख धार्मिक स्थलका पछिल्ला गतिविधिहरु ठूलो पर्दामा हेर्न पाउने व्यवस्था समेत मिलाइएको छ । धामको चारैतिर ढुंगा खोपेर बनाइएका स-साना स्पिकरबाट यहां आउने पाहुनाले मन्द आवाजमा भजन सुन्न सक्ने व्यवस्था मिलाइएको छ ।

यहाँ आउने पर्यटकले शाश्वतधामको निशुल्क अवालेकन गर्न पाउने व्यवस्था मिलाएको र विहान ७ बजेदेखि साँझ ८ बजेसम्म यहां आउने भक्तजन तथा पर्यटकले यस क्षेत्रको अवलोकन गर्न पाउने जनाइएको छ ।

धामको उद्घाटन पछि छुट्टै धर्मसभा भएको छ । धर्मसभामा पूर्व राजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथिको रुपमा राखिए पनि उनले धर्मसभालाई सम्बोद्धन भने गरेनन् । धर्म सभामा सहभागी हुन पूर्व राजा ज्ञानेन्द्र हिजो नै चितवन आएर बसेका थिए ।

उद्घाटन कार्यक्रम सकिएको करिब दुई घण्टा पछि पूर्व राजा ज्ञानेन्द्र कार्यक्रम स्थल आएका थिए । ज्ञानेन्द्र आउँदा राजाबादीहरुले ‘राजा आउ देश बचाउ’ लगायतका नारा लगाएका थिए । ज्ञानेन्द्रले शाश्वत धाम, धार्मिक ई-लाइब्रेरी लगायतको अवलोकन गरेका थिए ।

 

 

Loading...