एभरेष्ट सहकारीद्वारा पाठेघर र स्तन क्यान्सरको निःशूल्क परीक्षण

चितवन । सहकारीले समुदायप्रति चासो राख्नुपर्छ भन्ने सिद्धान्त अनुरुप एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि पाठेघर तथा स्तन क्यान्सर सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण गराएको छ । नारायणगढको लायन्सचोकमा रहेको संस्थाले बुधबार मनकामना अस्पताल प्रालिबाट आफ्ना महिला शेयर सदस्यका लागि निशुल्क रुपमा स्वास्थ्य परीक्षण गरेको हो ।

महिलालाई स्वास्थ्य सम्बन्धी सचेत गराउने उद्देश्यले स्वास्थ्य परीक्षणको आयोजना गरिएको कार्यक्रम संयोजक एवम् एभरेष्ट साकोसकी शिक्षा उपसमिति सदस्य अनुषा चुकेले बताइन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिन सबै जना सचेत हुनुपर्ने चुकेको भनाइ थियो । १०७औँ नारी दिवसको अवसर पारेर आयोजना गरिएको स्वास्थ्य शिविरमा मनकामना अस्पतालकी वरिष्ठ स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर बन्दना न्यौपाने खनालले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सरको चेकजाँच गरेकी थिइन् ।

स्वास्थ्य परीक्षणको उद्घाटन कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय सदस्य शान्ति अधिकारीले सहकारीले आफ्ना शेयर सदस्यका लागि स्वास्थ्य परीक्षण गर्नु प्रशंसनीय काम भएको बताइन् । आफ्ना शेयर सदस्यहरु स्वस्थ भएमा सहकारी पनि स्वस्थ्य र समृद्ध हुने अधिकारीको भनाइ थियो ।

कार्यक्रममा मनकामना अस्पतपालका विशेषज्ञ डाक्टर अर्जुन श्रेष्ठ, निर्देशक डाक्टर ध्रुव काफ्ले, प्रबन्ध निर्देशक डाक्टर शंकर ढकाल, अस्पतालका कार्यकारी निर्देशक अमृत कुमार मास्के, साकोसकी शिक्षा उपसमिति सदस्य  अग्गु श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा उपसमिति सदस्य अनुषा चुकेले स्वागत मन्तव्य राखेकी थिइन् ।

Loading...