बालबिवाकहका कारण विवाह दर्ता भएन्, नागरिकता नबन्दा छोराछोरीको जन्मदर्तामा समस्या

काठमाडौँ । जिल्लाको चौघर–६ की संगीता थिङ अहिले १९ वर्षकी भइन् । उनको काखमा दुई वर्षको छोरा छ । विद्यालय पढ्दा–पढ्दै १५ वर्षको उमेरमा विवाह भयो । आमाको मृत्युपछि घरमा हेलाको पात्र भइन् । कक्षा ९ मा पढ्दापढ्दै सँगै पढ्ने देवलाल लामासँग उनको विवाह भयो ।

न त उनको विवाह दर्ता भयो न नागरिकता नै बन्न सकेको छ । विवाह दर्ता र नागरिकता अभावमा संगीताको काखे छोराको जन्मदर्ता पनि हुन सकेको छैन । अर्को वर्षदेखि छोरालाई विद्यालय पठाउनुपर्ने अवस्था छ । तर, जन्मदर्ता नहुँदा उनको छोराले विद्यालय पढ्न समस्या पर्ने देखिएको छ । उमेर सानै भएका कारण विवाह दर्ता हुन नसक्दा संगीता समस्यामा परेकी हुन् । अहिलेका उनका श्रीमान् विदेशमा छन् ।

गाविसमा विवाह दर्ता गर्नका लागि श्रीमान्–श्रीमती नै जानुपर्छ । जनजातिको बाहुल्य भएको चौघरेमा यो समस्या उनको मात्र होइन, उनीजस्तै धेरै छन् विवाह दर्ता तथा नागरिकता नभएका किशोरीहरू ।२०७२ सालको विनाशकारी भूकम्प जाँदा लाक्पा शेर्पा जम्मा तीन महिनाका थिए । उनका बाबु काम गर्न भन्दै तराई गएका थिए, तर फर्किएनन् । अहिले उनी तीन वर्षमा टेकेका छन् । भूकम्पले घर भत्किएपछि आमा–छोराको बिचल्ली भयो ।

भूकम्पले घर भत्किएपछि बिचल्लीमा परेका लाक्पालाई डन्डुले तीन महिनादेखि पालेका छन् । उनकी आमा जईकुमारी काठमाडौंमा मजदुरी गरिरहेकी छन् । उनको पनि जन्मदर्ता हुन सकेको छैन । उनको जन्मदर्ता गराउन डन्डु पटक–पटक गाविस कार्यालय धाए ।तर, जवाफ एउटै पाए, ‘पहिला आमाबाबुको विवाह दर्ता हुनुप¥यो अनि मात्र हुन्छ ।’‘बाबु सम्पर्कमा छैनन्, आमाको न त नागरिकता बनेको छ न त विवाह दर्ता नै छ,’ उनले भने, ‘अब यो बच्चालाई विद्यालयमा भर्ना कसरी गराउने ?’

यसरी बालविवाहका कारण विवाह दर्ता नहुँदा नौघरेका किशोरी तथा उनीहरूका बालबच्चा राज्यले दिने सेवा–सुविधाबाट वञ्चित हुँदै आएका छन् ।चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधारणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता हुने नगरेको बताए । उनका अनुसार मानिसहरू आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गर्छन् ।

स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालीन असर पर्ने उनले बताए । ‘कानुनले बालविवाहलाई मान्यता दिएको छैन,’ उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन, नागरिकता नबन्दा उनीहरूबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’

कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै,’ उनले भने, ‘श्रीमान् विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आउँदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपछि बच्चाको पनि जन्मदर्ता हुँदैन ।’यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुनसमेत नपाउने गरेको सचिव खड्काको भनाइ छ ।

महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा बिजुक्छेले समयमै पारिवारिक घटना दर्ता नहुँदा मानिसहरू राज्यले पाउने सुविधाबाट वञ्चित हुँदै आएका छन् । कार्यालयले महिला बालबालिका लागि विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको उनको भनाइ छ ।

मानवअधिकारका लागि महिला (डब्लूएचआर) की कार्यक्रम प्रबन्धक उपासना राणा पारिवारिक घटना दर्ताको महत्व अझै पनि गाउँघरमा बुझाउन नसकिएको बताउँछिन् । ग्रामीण भेगमा सर्वसाधारणलाई यसको महत्व बुझाउन नसक्दा उनीहरू राज्यले प्रदान गर्ने सुविधाबाट वञ्चित हुँदै आएको उनको भनाइ छ ।

डब्लुएचअारले ललितपुरकाे चाैघरेमा एक दिने पारिवारीक घटना दर्ता सम्बन्धि प्रदर्शनी अायोजना गरेको थियो । ग्रामिण भेगहरूमा पारिवारिक घटना दर्ता नहुँदा समस्या भएको भन्दै पारिवारीक घटना दर्ताका लागि जनचेतना फैलाउनका लागि कार्यक्रम अायोजना गरिएको राणाले जानकारी दिइन् ।

Loading...