तरार्इ मधेसमा सरकारी होली

- कैलुब्राह

सनातनी हिन्दू धर्माधारीहरूले मनाउने ठूलै पर्व मध्यको एउटा पर्व हो होली । यो विशेष गरेर हिन्दूस्तान मण्डल र नेपाल मण्डलमा धुमधडकासँग मनाइन्छ । त्यसपछिको रहलपहलमा यो पर्व कुइरे खैरे र होचा पुड्काहरूको मुलुकतिर देशाटन गरी यी दुवै मण्डलबाट गएका हिन्दू धर्मधारी खाँटी मनुवाहरूले पनि मनाउने गर्छन् । हरेक वर्ष फन्को मार्दै आउने फागु पूर्णमासीमा यो पर्व मनाउने चलन सनातनदेखि चलिआएको छ । यो पर्वमा राता, पहेँला, काला, निला, हरिया इत्यादि भएजतिका रङ मिसाएको रङ्गिन पानीले एकापसमा छ्यापाछ्याप गरेर, अविर दलादल गरेर र धुइँसेमुइँसे भएर मानाउने गरिन्छ । यो पर्व विकसित हुँदै जाँदा रङरोगनको स्थान कुहेका बिकासी अण्डा, गाडि र मसिनबाट फालिएका मोविल, ग्रिज, चुला माथिको धुइँसो, तीनपानेको लेदो छोक्रा मिसाएर बनाइएको लेदो र लिदीले लियो । रैती मनुवाहरूले होली खेल्दा अचेल यही जिनिसको व्यापक मात्रामा प्रयोग भइआएको छ । अचेल यस्ता लिदी प्रयोग गर्ने कुरालाई अब्बल मानिन्छ । चुल्ठे, मुन्द्रे, टाटे, पाङ्ग्रे, जगल्टे, पुत्ले, भ्mयापुल्लेदेखि मच्छडदानीका कपडा लाउने र टुपिसे बस्त्रधारीहरूसम्मको लागि होलीको अब्बल रङ्ग बनेको छ यहि लेदो र लिदी । सहर बजारमा त झन् यसैको हालिमुहाली र बर्चस्व रहन थालेको छ ।

यसरी तयार पारिएको लेदो र लिदीले बाटाघाटामा हिँडडुल गर्ने सोझासिधा जनता जनार्दनलाई बिना अनुमति घरका छतबाट होस् या बाटाका कुनाकानी र गल्ली गल्छेडाबाट होस्, जहाँबाट मौका पर्छ त्यहिँबाट लुकेर बसेका उरन्ठेउला ठेट्नाहरूले हिर्काइहाल्छन् । त्यसपछि बाघले आहारा झम्टेझैँ बटुवालाई झम्टिएर उसलाई क¥याप्प समाएर कुरूप पारेर सिँगारिन्छ र होलीको जस्न मनाइन्छ । अझ स्त्रीलिङ्गका जवानी बटुवा छन् भने त उनीहरूलाई के खोज्छस् काना आँखो भइदिन्छ । उनीहरूमाथि सिनोमा गिद्द परेझैँ पर्छन् । छामछुम र माडमुड पारेर उसको हुर्मत लिन्छन् । लुच्छन् । यसैलाई होली भनिन्छ । सरकारको कानून नामको ढुङ्ग्रोले अनुमति बिना होलीमा कुनै पनि मनुवालाई रङ हान्न पाइँदैन, कसैले हानेमा कानून बमोजिम सख्त कारवाही चलाइने छ भनेर फुक्छ । उसको फुक्ने चाला पनि औपचारिकता मात्रै हो । यदि कसैले आफ्नो इच्छा विपरित मलाई रङ्ग हानेर कुरूप पारियो भनेर सरकारी बर्दीखानामा उजुरी दिन गयो भने पनि सरकारी बर्दीले ‘चाडपर्वमा अलिकता यसोउसो त भइहाल्छ नि यस्ता उजुर पनि लिएर आउने हो ?’ भनेर हप्काउँछ र उल्लु बनाएर पठाउँछ । यस्तो छ होली मनाउने काइदा ।

यतिखेर हुनुपर्ने चर्चाको विषय भनेको सरकारी होलीको हो । सरकारी होली मनुवाले खेल्ने जस्तो रङ्गको पनि होइन, लेदो र लिदीको पनि होइन । सरकारले गोलीबाट होली खेल्छ र रगतको रङ्गोली बनाउँछ । भर्खरै मात्र सप्तरीमा केही दिन अगाडि नेपाल मण्डलको सरकारले गोलीबाट होली खेल्यो र पाँचजना मधेशी मनुवाहरूलाई ठहरै पार्दै रगतको रङ्गोली बनायो । त्यसको दुईदिन पछि हिन्दूस्तानी सरकारले कन्चनपुरको आनन्द बजारमा गोलीकै होली खेलेर एकजना गोर्खालीको रगतले रङ्गोली बनायो । दुवैको होलीको निसाना बने गरिबगुरुवा पाखुरा बेचेर ज्यान पाल्ने निमुखा नेपाली रैथाने मनुवा । दुवैतिरका सरकार परे खाँटी हिन्दू धर्मधारी । सरकार भनेको गरिबगुरुवाको रगतको होली खेलेर कुर्चिमा विराजमान हुने जन्तु हो । यसले रगतको मात्रै होली खेल्न रुचाउँछ । होली खेल्नलाई सिमारेखाले पनि छेकबार लाउँदैन । लाउन पनि पाउँदैन । यो स्वतन्त्र हुन्छ । बरू ठूलो सीमानातिरको काला सरकारी बुटले साना सिमानालाई किचिमिचि पारिदिन्छ र साना सिमानातिर आएर होली खेल्छ । सात सालको रगतको होलीले चारतारेलाई सरकारमा पु¥यायो । सरकारमा पुगेर चारतारेले ताण्डव नृत्य देखाउन थालेपछि सत्रसालमा पञ्चप्रेतको सरकार उदायो । पञ्चप्रेतले पनि तीस बर्ससम्म रगतकै होली खेलेर सरकार चलायो । छयालीसको रहगतको होलीले काङवामको सरकार जन्मायो । त्यसले पनि रगतकै होलीमा जस्न मनाइरह्यो । बाउन्न बैसट्ठीको रगतको होलीले सुप्रिमो, गोर्खाली डाक्टर र काजीलाई सरकारमा विराजमान बनायो । अहिले टाउकाको मूल्य तोकेर होली खेल्ने र मूल्य तोकी माग्नेहरू एकै थलोमा बसेर रगतकै होली खेलिरहेका छन् । दाइ काले म पनि काले, काले काले मिलेर खाउँ भाले भन्दै हिजो जनयुद्धमा एकार्कालाई वर्गशत्रु ठानेर गोलीको होली खेल्नेहरू अहिले वर्गमिलान गरि एउटै सरकार बनाएर तिनै रैती मनुवाहरूको छाती ताक्दै रगतको होली खलिरहेका छन् । यो बहुदल र लोकतन्त्र पनि ठोकतन्त्र र दलालतन्त्र नै रहेछ । यसको होली पनि रगत र गोलीकै होली रहेछ । गणतन्त्र पनि आखिरमा गनतन्त्र नै रहेछ ।

अब रह्यो कुरा यस्तो होलीको विरोध र समर्थनको । यो रगतको होलीको विरोध गर्ने काइदा पनि गजबको छ । सरकारबाट हटेको भोलीपल्टबाट रगतको होली खेल्ने सरकारको विरोधमा देशभर शक्तिको तुजुक देखाउँदै कुदारेकुद गर्छ । सरकारी गोलीका लोला थाप्न तिनै गरिबगुरुवा रैती र कारिन्दाहरूलाई पठाउँछ । जब सरकारले बन्दुकबाट भटटट गोलीले होली मनाउन थाल्छ तब आफ्ना मरेका कारिन्दाहरूको लास महादेवले सतीको लास बोकेझैँ बोक्छ र सरकारमा जाने भ¥याङ बनाउँछ । त्यसपछि प्रभुहरूकहाँ बर माग्न जान्छ । प्रभुले तथास्तु भन्दै सत्ताजोगको बरदान दिएपछि सरकार फेरबदल हुन्छ । यसरी सडकको लाउके सरकारमा उक्लिन्छ, सरकारको लाउके सडकमा ओह्रालिन्छ । सरकारमा पुगेको लाउकेले फेरि रगतकै होली खेल्न थाल्छ । यसरी सरकारले मनाउने होली बाह्रै महिना जुनसुकै दिन पनि हुन्छ । रैतीहरूले मनाउने सनातनी होली बर्समा एकचोटी आउँछ । त्यो पनि पाहाडमा एकदिन र तराइमा अर्को दिन पर्छ । तर सरकारी होली र रङगोली सँधैभरी पर्छ । यसरी नेपाल मण्डलमा सरकारी होली मनाउने सरकारी पात्रो तयार भएको छ । सहर बजार र गाउँटोलका उरन्ठेउला चुल्ठे मुन्द्रे, टाटे पाङ्ग्रे ठेट्नाहरूले सोझासिधा ठिटाठिटीहरूलाई लेदो र लिदी छ्यापेर उनीहरूलाई क¥यापकुरूप पारेर मनाउँछन् भने सरकारले गरिबगुरुवा मनुवाहरूका छाती ताकेर गोली हान्दै रगतको होली मनाउँछ । आई रे आई रे गोलीका होली आई रे । हुर्रे ।
२८ फागुन २०७३

Loading...