६८ वर्षमा एसर्इर्इ दिँदै दुर्गे कामी

स्याङ्जा । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ६८ वर्षीय दुर्गे कामी सहभागी भएका छन् । कामीले फेदिखोलास्थित सिद्धार्थ मावि केन्द्रबाट परीक्षा दिएका हुन् । उनी फेदीखोलास्थित कालाभैरव माविका नियमित छात्र हुन् । उनी चार वर्षदेखि सोही विद्यालयमा अध्ययनरत छन् । चार छोरा, दुई छोरी र करिब डेढ दर्जन नातिनातिना भएका कामीको घर पनि फेदिखोला नै हो ।

आजको नयाँ पत्रिका दैनिकका अनुसार ३ देखि ५ कक्षासम्म खहरे प्रावि र त्यसपछि कालभैरव माविमा अध्ययन गरेको उनले बताए । पहिलो दिनको अंग्रेजी विषयको परीक्षा निकै राम्रो भएकाले उत्तीर्ण हुने उनले बताए । उनी मिहिनेती र अनुशासित विद्यार्थी भएको सिद्धार्थ माविका प्रधानाध्यापक एवं केन्द्राध्यक्ष मनोजकुमार शर्माले बताए ।

स्याङ्जामा माध्यमिक शिक्षा परीक्षामा नियमिततर्फ ६ हजार दुई सय २८ र एक्जाम्टेडतर्फ नौ सय ३७ गरी सात हजार एक सय ६५ विद्यार्थी सहभागी भएको जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए ।

Loading...