मावली गाउँमा क्रिकटेर ज्ञानेन्द्र मल्लको स्वागत

काठमाडौँ । दुई वर्षपछि आफ्नो मावलीगाउँ तनहुँको चापाघाट आइपुग्दा क्रिकेटर ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय टोलीको कप्तानको भूमिकामा छन् । मावलीगाउँ आएकै मेसो पारी दमौलीको एक विद्यालयले मल्लसँग विद्यार्थीले भेट्ने वातावरण मिलायो । ससाना बालबालिकाको क्रिकेटप्रतिको उत्साह देख्दा चकित परेका ज्ञानेन्द्रले भने, ‘उनीहरूमा क्रिकेटप्रतिको गहिरो लगाव पाएँ।’

अाजको अन्नपुर्ण पोस्ट दैनिकका अनुसार सधैं पत्रपत्रिकामा छापिएको तस्बिर र टेलिभिजनको पर्दामा देखिने आफ्ना क्रिकेट नायकलाई आफ्नै आँखाअगाडि देखेपछि त्यो सुनौलो अवसरलाई आदर्श विद्यागृहका बालबालिकाले खेर जान दिएनन् । उनीहरूले ज्ञानेन्द्रलाई क्रिकेटसँग सम्बन्धित एकपछि अर्को प्रश्न ओइर्‍याउन थाले । देशमा क्रिकेट खेलको भविष्यबारे संक्षिप्त मन्तव्य दिएपछि ज्ञानेन्द्र पनि बालबालिकाद्वारा अघि सारिएका प्रश्नको शान्तपूर्वक जबाफ दिन थाले ।

कक्षा ८ मा अध्ययनरत अनुप प्रधानले सोधे, ‘तपाईंलाई क्रिकेटले के दिएको छ ? ‘ यो प्रश्नको उत्तर दिनुअघि केहीबेर घोत्लिए ज्ञानेन्द्र । अनि मन्द मुस्कानसहित जबाफ फर्काए, ‘क्रिकेटबाट मैले धेरै कुरा पाएको छु ।’ उनले क्रिकेटमा लागेकै कारण नेपालमा आफूलाई धेरै सम्मान दिने गरिएको भन्दै यसले आफूलाई गौरवान्वित बनाएको प्रतिक्रिया दिए ।

‘तपाईंलाई परिवारको सहयोग कस्तो छ ? ‘ छात्रा शिला पाण्डेको प्रश्नको उत्तर दिँदा क्रिकेटर ज्ञानेन्द्रले आफ्नो विगत सम्झन पुगे । ‘सुरुमा त परिवारका सदस्यले पोजेटिभ रूपमा लिनुभएको थिएन तर अहिले भने उहाँहरूले पनि बुझ्नुभएको छ । यतिबेला परिवारबाट पनि निकै राम्रो साथ पाएको छु’, भविष्यप्रति निकै आशावादी देखिएका ज्ञानेन्द्रले अगाडि थपे, ‘नेपाली खेल क्षेत्रमा लाग्ने धेरैले सुरुआती समयमा सामना गर्नुपर्ने समस्या हो तर अहिले खेल क्षेत्रलाई पनि सकारात्मक आँखाले हेर्न थालिएको छ ।’

करिब तीन सय क्रिकेटप्रेमी विद्यार्थीको अगाडि उभिएका ज्ञानेन्द्रसामु एकपछि अर्को दमदार प्रश्न बर्सने क्रम जारी थियो ।

Loading...