सांस्कृतिक आन्दोलनले गम्भीर आत्मसमीक्षा र संश्लेषणको माग गरेको छ

- ऋषिराज बराल

आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म सबैभन्दा पहिले २०५५ साल चैत ५ मा अनेकोट प्रतिरोध सङ्घर्षमा वलिदानको बाटो रोज्ने कमरेड च्याङ्वा लामासहितका सांस्कृतिक कर्मीहरूप्रति क्रान्तिकारी अभिवादन गर्दछु र क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई नयाँ किसिमले एकताबद्ध पार्दै अघि बढ्न नयाँ जनवादी क्रान्तिका पक्षधर मित्रहहरूसित हार्दिक अपिल गर्दछु ।
आज राजनीतिक क्षेत्रले जुन किसिमको वैचारिक तथा राजनीतिक ऊर्जा दिन सक्नुपर्दथ्यो, त्यसो हुनसकेको छैन । माओवादको नाम लिएर विसर्जनवादको जसरी अभ्यास भइरहेको छ, यो खतरनाक छ । एक थरीले पार्टीको नामसित माओवादी जोडे पनि तिनले संसदीय व्यवस्थालाई बलियो पर्ने शपथ खाइसकेका छन्, अर्काथरीले पहिले नामबाट र पछि विस्तारै कामबाट पनि माओवादलाई हटाउने ”उत्तरवादी” महाभियान सुरु गरेका छन् । ”लाल झन्डाका विरुद्ध लाल झण्डा” को यो मिहीन योजनाबद्धता निकै खतरनाक छ  । घोषित संसोधनवाद भन्दा खतरनाक छ, यो ”उत्तरवादी”  विसर्जनवादी अभियान  । क्रान्तिकारी हुनुको भ्रम दिएर यसले युवाहरूको जमातलाई अंध्यारो सुरुङ्गमा धकेलिरहेको छ ।
‘पोलिटिक्स इन कमाण्ड’ मा कतै विमति छैन । तर माओले भनेझैँ राजनीतिले गलत बाटो लिएपछि अधिरचनाका अन्य अङ्गहरू अगाडि आउनु अपरिहार्य  हुन्छ र यतिबेर सांस्कृतिक–बौद्धिक क्षेत्रका सामु यो जिम्मेवारी आएको छ । राजनीतिले बाटो बिराउन थालेपछि साहित्यकारहरूले सचेतकको भूमिका खेल्नु आवश्यक हुन्छ ।
 अहिले मालेमाप्रति प्रतिबद्ध लेखकहरूको एउटा दरिलो मोर्चाको आवश्यकता भए पनि त्यसले मूर्त रूप लिनसकेको छैन । यस कार्यमा राजनीतिक तथा सांस्कृतिक दुवै क्षेत्रको क्रियाशील भूमिका आवश्यक छ । परन्तु समस्या यहींनेर छ । मार्क्सवादी साहित्यिक–सांस्कृतिक आन्दोलन माउबिनाको चल्लाजस्तो भएको छ । उपभोक्तावादी मानसिकता व्याप्त छ । अगुवाहरू नै अनुभववाद र प्रभाववादको जंजालमा रुमलिएका छन् र भताभुङ्ग र लथालिङ्गको साक्षी बनेर इतिहासको विकृतीकरणमाथि लालमोहर ठोकिरहेका छन् । क्षेत्रीयतावाद, कुण्ठावाद, गुटवाद र प्रभाववादी सङ्कीर्णताका कारण माओवादी सांस्कृतिक आन्दोलनमा झारपात–पतिङ्गरहरूको रजगज चलेको छ । वाघको छालामा स्यालहरूको रजाइँ छ । फ्याउराहरूको चुरीफुरी बढेको छ र इमानदार, क्षमतावान क्रान्तिकारी सांस्कृतिक कर्मीहरू पाखामा बसेर सबै चिज टुलुटुलु हेर्न बाध्य पारिएको स्थिति छ । यस्तो बेला क्रान्तिकारी सांस्कृतिक आन्दोलनका पक्षधरहरूले जुनसुकै चुनौतीका लागि पनि आफूलाई तमतयार राख्नु आवश्यक छ ।
 माओवादी राजनीतिक क्षेत्रमा देखिएको विचलन र अन्योलले अकर्मण्यताको स्थिति उत्पन्न गरेको छ । माओवादी आन्दोलनसित ऊर्जाशील र क्षमतावान शक्ति भएर पनि योजनाबद्धताको अभावमा यसले लेखन र वैचारिक क्षेत्रमा दरिलो हस्तक्षेप गर्नसकेको छैन । यथास्थितिवादी राजनीतिका झैँ यथास्थितिवादी लेखनचिन्तन हाबी हुनथालेको छ । वर्गीय प्रश्नहरू ओझेलमा परेका छन् र गैसस संस्कृतिको हालीमुहाली चल्नथालेको छ । चारैतिर खोटा मोहरहरूको चकचकी र जगजगीको अवस्थामा छ । इतिहासका निर्माताहरूका छातीमा फ्याउराहरू परेड खेलिरहेका छन् र इमानदार, स्वाभिमानी र सङ्घर्षशील सर्जकहरू किनारमा बसेर सबै बेथिति हेर्न बाध्य छन् । वाह्य शक्ति मात्र होइन, आफैंभित्रको फोहरमैला पनि सांस्कृतिक आन्दोलनलाई गति दिन बाधक बनेर उभिएको छ । पानी जमेको छ र फोहोर-मैला निकास हुन सकिरहेको छैन । यसै अर्थमा यतिखेर  दुवै मोर्चामा वैचारिक सङ्घर्ष तीब्र बनाउनु  आवश्यक छ ।
 अहिलेको स्थिति साहित्य तथा कलालाई समाज रूपान्तरणको महत्वपूर्ण हतियार मान्ने मार्क्सवादी स्रष्टाहरूका लागि साँच्चिकै चुनौतीको विषय बनेको छ । महान् जनयुद्धमा आर्जित सांस्कृतिक मूल्यमाथि धावा बोलिएको छ । एकहिसाबले साहित्यकै अपहरण भैरहेको बेला कलम र मादल वैचारिक सङ्घर्ष र समाज रूपान्तरणका सशक्त माध्यम हुन् भन्ने कुरामा विश्वास राख्नेहरू नयाँ किसिमले मोर्चाबद्ध हुनुको विकल्प छैन । समयको यो आवश्यकतालाई हामी सबैले आत्मसात गर्नु आवश्यक छ ।
 समयले एकपल्ट फेरि हामी माओवादी सांस्कृतिक कर्मीहरूका सामु त्याग र बलिदानको नयाँ प्रस्ताव राखेको छ । यो सत्यतथ्यलाई आत्मसात गरेर हामी मालेमाका पक्षधर सांस्कृतिक कर्मीहरू नयाँ किसिमले सङ्गठित र पुनर्गठित हुनु आवश्यक छ । ”उत्तरवादी” शून्यवादी चिन्तनका विरुद्ध मात्र नभएर माओवादका नाममा माओवादी सांस्कृतिक आन्दोलनलाई नै ध्वस्त पार्ने प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्षको आवश्यकता छ र यो काम नयाँ किसिमले मोर्चाबद्ध भएर मात्र सम्भव छ । यसका लागि हामी सबैले गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक छ ।
  मालेमाप्रति प्रतिबद्ध भएर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सांस्कृतिक सेनाको भूमिका पूरा गर्ने प्रतिबद्धता हाम्रो मिलनविन्दुको आधारभूत सर्त हो र हुनुपर्छ ।
‘सांस्कृतिक प्रतिरोध दिवस’ को यो ऐतिहासिक घडीमा, नयाँ जनवादी क्रान्तिका पक्षधर सांस्कृतिक कर्मीहरूबीच रहेका कतिपय व्यक्तिगत मतभेदहरू तथा वैचारिक विमतिहरू, खासगरेर ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को तेस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा देखिएका वैचारिक विचलन तथा भए/गरेका गलत निर्णयहरू सच्याउँदै नयाँ किसिमले एकताबद्ध हुनु आजको आवश्यकता हो । तेस्रो राष्ट्रिय सम्मेलनका सन्दर्भमा देखिएका वैचारिक विचलन तथा भएरगरेका गलत निर्णयहरू नै माओवादी सांस्कृतिक आन्दोलनलाई विसर्जनको दिशातिर लैजाने कारक पक्ष हुन् भन्ने कुरामा हामी प्रस्ट हुनैपर्छ । यसप्रति गम्भीर आत्मसमीक्षा र संश्लेषणको आवश्यकता छ । यो बिन्दुबाट अघि बढेर मात्र सांस्कृतिक क्षेत्रमा एकीकृत आन्दोलनको निर्माण गर्न सकिन्छ र हुन्छ । यस यथार्थलाई राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा क्रियाशील सांस्कृतिक कर्मीहरूले गम्भीरतापूर्वक लिनु आवश्यक छ ।
 अन्त्यमा,अनुरोध गर्छु :
‘सांस्कृतिक प्रतिरोध दिवस’ का सन्दर्भमा बलिदानको महान् बाटो रोज्ने महान् योद्धाहरूले निर्माण गरेको सौन्दर्यमूल्यप्रति प्रतिबद्ध बनौँ र नयाँ जनवादी क्रान्तिलाई केन्द्रमा राखेर एकताबद्धताका साथ अघि बढ्ने प्रण गरौँ ।
चैत ५, २०७३

Loading...