गैर आवासीय नेपाली नेपालको पूँजीः परराष्ट्र मन्त्री डा.महत

काठमाडौँ । परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गैर आवासीय नेपालीहरु नेपालको विकास र समृद्धिका लागि ठूलो पूँजी हुन् भन्नुभएको छ ।
मलेसियाको राजधानी क्लाललम्पुरमा आयोजित गैर आवासीय संघ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौ बैठकलाई आइतबार सम्बोधनगर्दै मन्त्री डा.महतले भन्नुभयो– गैर आवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पूँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।
मन्त्री डा.महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखाँै नेपाली विदेशिन बाध्य हुनुपरेको स्मरणगर्दै उनीहरुले संसारमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताउनुभयो ।
उहाँले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै भन्नुभयो– तपाईंहरुले अहिले संसारका कुनै पनि देशमा पुगेर आर्जन गर्नुभएको विशिष्ठ पहिचानको लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन् गर्नुहोस र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नोस् ।   
नेपालमा अर्काे महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनाहरुमा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाँउबाट सुरु हुन लागेको उहाँले बताउनुभयो ।
नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनर्संरचित रुपमा स्थीरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहकोले संसारका सबै गैर आवासीय नेपालीलाई नेपालमा लगानीका लागि उहाँले आग्रह गर्नुभयो ।
मन्त्री डा.महतले भन्नुभयो– नेपालले यतिखेर विकास र समृद्धिको मार्ग तय गर्दैछ, बिगतको जस्तो लगानीको वातावरण नरहेको भन्ने अवस्था अब देशमा छैन, त्यसैले म सबै गैर आवासीय नेपालीलाई नेपालको जलविद्युत, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि आग्रह गर्दछु ।  
उहाँले देशको आर्थिक तथा विश्वमा नै पूँजी र प्रविधिको विकास र आदानप्रदान गर्न सकिने एक प्रभावकारी मञ्चका रुपमा गैर आवासीय संघलाई लिएकोले यस अभियानको सहयोग र प्रवर्धनमा सघाउँदै आएको धारणा पनि राख्नुभयो ।
खाडी देशमा ठूलो संख्यामा रहेको नेपाली जनशक्तिको श्रमको सम्मान होस् र उनीहरुको हक अधिकार र सुविधाको संरक्षण र प्रवर्धन होस् भनी नेपाल सरकारले सक्दो प्रयास गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
उक्त बैठकमा गैर आवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय देशहरु, युरोप र अन्य देशहरुका अगुवाहरुकासाथै नेपालका उद्योगी व्यवसायीहरुको पनि सहभागिता रहेको छ ।
सो बैठकमा मलेसियाका लागि नेपाली राजदूत डा.निरन्जनमानसिंह बस्नेत, गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, पूर्व अध्यक्षहरु जिवा लामिछाने र उपेन्द्र महतोलगायतले सम्बोधन गर्नुभयो ।
सो बैठकका लागि मन्त्री डा.महत हिजो मलेसिया जानुभएको हो । उहाँ आजै साँझ स्वदेश फर्किँदै हुनुहुन्छ ।

Loading...