रकम अभावमा चेपाङ छात्रबास समस्यामा

चितवन । चेपाङ विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्दै आएको साविकको शक्तिखोरमा रहेको चेपाङ छात्रबासमा रकम अभाव भएको छ । रकम अभाव हुँदा छात्रवासमा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक गतिविधिमा समस्या देखा परेको चेपाङ छात्रवास व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर प्रजाले बताउनु भयो ।

विक्रम सम्वत् २०५७ सालमा जिल्ला विकास समिति चितवनको पहलमा शक्तिदोरमा स्थापना भएको छात्रवासमा चितवनका पहाडी क्षेत्रका चेपाङ विद्यार्थीहरु पढ्दै आएका छन् । चेपाङ विद्यार्थीलाई माध्यमिक शिक्षा प्रदान गराउने उद्देश्यले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने चेपाङ बालबालिकालाई उक्त छात्रवासमा ल्याएर राख्ने गरिएको अध्यक्ष प्रजाले बताए ।

चेपाङ विकास कार्यक्रम अन्तर्गत आउने वार्षिक साढे नौ लाख रुपैयाँले चेपाङ विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न समस्या परेको प्रजाको भनाइ छ । थोरै पैसा त्यसैमाथी मन्त्रालयबाट छात्रवाससम्म आउँदा लामो समय लाग्ने भएकोले छात्रवास सञ्चालन गर्न झनै समस्या परेको प्रजाले गुनासो गरे ।

‘मन्त्रालयबाट चेपाङ विकास कार्यक्रम अन्तर्गत छात्रवासको लागि रकम विनियोजन त हुन्छ’ प्रजाले भने, –‘उक्त रकम तहगत रुपमा छात्रवाससम्म आउँदा नौ÷१० महिना लाग्ने भएकोले छात्रवास सञ्चालन गर्न समस्या परेको छ प्रजाले दुखेसो पोखे । १२ जना छात्रासहित ३८ जना चेपाङ विद्यार्थी रहेका छात्रवास सञ्चालन गर्न वार्षिक रुपमा करिब दुई लाख रुपैयाँ अपुग रहेको प्रजाले बताए ।

रकम अभावले गर्दा छात्रवासको भौतिक पूर्वाधार मर्मतमा समेत समस्या परेको प्रजाको भनाइ छ । सरकारले समयमा नै रकम नपठाउँदा छात्रवासमा अध्ययन गर्ने विद्यार्थीहरुलाई रासन खुवाउन समेत समस्या परेको चेपाङ छात्रवास व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर प्रजाले बताउनु भयो ।

छात्रवासमा बसोबास गर्ने विद्यार्थीहरुलाई खाना पकाउनको लागि दाउरा समेत किन्नुपर्ने, छात्रवासमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई घर जान समेत भाडाको व्यवस्था गर्ने, छात्रवासमा बस्ने विद्यार्थीहरुको सम्पूर्ण खर्च छात्रवासले व्यहोर्ने भएकोले उनीहरुको खर्च बढी लाग्ने गरेको प्रजाको भनाइ छ । उक्त छात्रवासका विद्यार्थीहरु शक्तिखोरकै चतुर्मुखी माध्यमिक विद्यालयमा अध्ययन गर्ने गरेका छन् । हालसम्म चेपाङ छात्रवासबाट करिब साढे दुई सय जनाले एसएलसी उत्तीर्ण गरेका विद्यालयका सहायक प्रधानाध्यापक पूर्ण बहादुर पुरीले बताए । ​


Loading...