कास्की र सुनसरीमा बर्डफ्लु देखा परेपचि चितवनमा सतर्कता

चितवन । कास्की र सुनसरीमा कुखुरामा बर्डफ्लु देखापरेपछि देशको कुल उत्पादनको आधाभन्दा बढी कुखुराजन्य उत्पादन हुने चितवनमा उच्च सतर्कना अपनाइएको छ ।

यसका कारण अहिलेसम्म जिल्लामा बर्डलु भित्रिन नपाएको सरकारी अधिकारीले बताएका छन् । जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंका अनुसार जिल्ला भित्रिने र बाहिरिने कुखुराजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा कीटनाशक औषधि छर्केर मात्रै आवतजावत गर्न दिइएको बताउनुभयो ।

 काठमाडौ, पोखरालगायतका सहरमा कुखुराजन्य पदार्थ ढुवानी गरेका सवारीका साधनलाई भरतपुरको जुगेडी र पूर्वी क्षेत्रमा हेटौडालगायतका क्षेत्रमा पूरै सफा गरेर कीटनाशक औषधि छर्केर मात्रै जिल्ला प्रवेश गराइने गरेको उहाँले बताउनुभयो । कार्यालयले अण्डा, मासु, चल्ला, दानाको उत्पादन र बिक्री वितरण गर्न बनेका कुखुरासँग सम्बन्धित संघ संगठनका अध्यक्ष एवम् पदाधिकारीसग निरन्तर छलफल गरिरहेको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा सेढाईंले बताउनुभयो ।

दीर्घकालीन रुपमा सुरक्षाका लागि रणनीतिक योजना समेत बनाइएको उहाँको भनाइ छ । संघ संगठनमार्फत किसानलाई जैविक सुरक्षा अपनाउन अनुरोध गरिएको छ । जसमा फार्म प्रवेश गर्दा बाहिर लगाएको कपडा नलगाउन भनिएको उहाले बताउनुभयो ।

फार्म र घरसँगै नराख्न र फार्ममा नियमित चुना छर्कन अनुरोध गरिएको छ । कार्यालयले जिल्लाका १४ वटा सेवा केन्द्र मार्फत तालिका नै बनाएर नियमित अनुगमन गर्ने र खोजी अभियानकै रुपमा काम गरिरहेको प्रमुख सेढाईंले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने जिल्ला प्राविधिक समितिको बैठक बसेर विशेष उच्च सतर्कता अपनाउन सबैमा अपिल गरिएको छ । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा दयाराम चापागाईंले पूर्वमा मकवानपुर, पश्चिममा नवलपरासी जिल्ला र चितवनका पूर्वी तथा पश्चिमी भेगमा खोजी अभियानलाई तीव्रता दिइएको बताउनुभयो । कुखुरा धेरै मरेका, अण्डा कम पारेका र शङ्कास्पद देखिएका कुखुराको नमुना सङ्कलन री तत्काल परीक्षण भइरहेको पनि उहाँले बताउनुभयो  ।

नेपालमा एक सातामा एक लाख ३० हजार लेयर्स चल्ला र २२ देखि २५ लाख ब्रोइलर चल्ला उत्पादन हुदै आएको छ । नेपाल ह्याचरी उद्योग सघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बर्डफ्लु भित्रिन नदिन व्यवसायीलाई उच्च सतर्कता अपनाउन भनिएको बताउनुभयो ।

जैविक सुरक्षामा ध्यान दिए डराउन नपर्ने उहाँको भनाइ छ ।देशभरमा दैनिक २२ लाख अण्डा उत्पादन हुदै आएको छ । नेपालमा दैनिक आठ लाख ५० हजार किलो तयारी मासु खपत हुदै आएको तथ्याङ्क छ । नेपालमा कुखुराजन्य क्षेत्रमा  ७० अर्ब भन्दा बढी लगानी भएको व्यवसायीले बताउदै आएका छन् जसको ६० प्रतिशतभन्दा बढी लगानी चितवनमा रहेको छ ।

Loading...