सहकारीको वार्षिकोत्सवमा आश्रममा आश्रीतलाई भोजन

चितवन । नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर मानव सेवा आश्रममा एक दिनको खाना खुवाएको छ । सहकारीले भरतपुर १० मा रहेको मानव सेवा आश्रममा एक दिनको खाना खुवाउनुका साथै आफ्नो संस्थापक अध्यक्ष रविमान श्रेष्ठको स्मृतिमा १० हजार रुपैयाँ प्रदान गरेको छ ।
 
मानव सेवा आश्रमले स्थापना गरेको अक्षयकोषमा रहने गरि साकोसले श्रेष्ठको स्मृतिमा उक्त रकम प्रदान गरेको हो । एभरेष्ट साकोसका उपाध्यक्ष बालगोपाल चुकेका अनुसार अघिल्लो वर्षमा समेत साकोसाको वार्षिकोत्सव पारेर मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई एक दिनको खुवा खुवाइएको थियो ।

भोज भतेर गरेर धुमधामसँग वार्षिकोत्सव मनाउनुभन्दा असहाय व्यक्तिहरुको माझमा रहेर वार्षिकोत्सव मनाउँदा पूण्य मिल्ने भएकोले मानव सेवा आश्रमका आश्रितहरुलाई एक दिनको खाना खुवाइएको चुकेले बताए । असहाय व्यक्तिहरुलाई आश्रय दिने आश्रम प्रति कृतज्ञता ज्ञापन गर्दै उनीहरुको भरणपोषणको लागि आश्रमका व्यक्तिहरुलाई खाना खुवाउनुका साथै अक्षय कोषमा रहने गरि रकम प्रदान गरिएको चुकेको भनाइ थियो ।

वार्षिकोत्सवको अवसरमा खाना खुवाउने कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, भरतपुरकी प्रमुख रुपा केसीलगायतले मन्तव्य राखेका थिए । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष बालगोपाल चुकेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शान्तालाल पियाले स्वागत मन्तव्य राखेका थिए ।

Loading...