मुग्लिन–नारायणगढ सडकखण्डः मृत्युको मुखमा यात्रा

सडक निर्माण अहिलेसम्मकै सुस्त, दुर्घटनाको कहालिलाग्दो फेहरिस्त

प्रिनिश थापा
    चितवन÷मुग्लिन–नारायणघाट सडक खण्ड कति धेरै कठिनपूर्ण यात्रा हो, त्यो बाटो भएर हिँड्ने सबै परिचित छन् । कति बेला कहाँ दुर्घटना हुने हो, ड्राइभर र यात्री दुवै उत्तिकै चनाखो भएर हिँड्नुपर्छ । त्यसमाथि सडक विस्तारको कामले सडक धुलैधुलो छ । मुग्लिन–नारायणघाट सडकका विभिन्न पाटा खोतल्ने हामीले प्रयास सुुरु गर्यौँ । हाम्रा पाठकका लागि पहिलो सामग्री पस्कदैछौँ , जुन मुग्लिन–नारायणघाट सडक खण्ड भएर यात्रा गर्ने सबैको लागि काम लाग्नेछ । त्यति मात्र होइन, यो सामग्री पढ्नु भयो भने तपाईं कहाँ कसरी सावधानी अपनाउने भन्नेमा सूचित हुनुहुनेछ । हो, हामी त्यहीँ कुरा गर्दैछौँ, जहाँ मुग्लिन–नारायणघाट सडक खण्डमा कति धेरै दुर्घटनाग्रस्त क्षेत्र छन् । २७ किलोमिटरमा ३७ दुर्घटनाग्रस्त क्षेत्र । आफै अनुमान लगाउनुहोस, दुर्घटनाको खतरा कति होला ? अब यो भयानक खतराको सबै पक्षमाथि तपाईंलाई जानकारी दिँदैछौ पहिलो घट्ना, गत भदौ ५ गते मुग्लिन नारायणघाट सडक खण्डको चण्डिभञ्ज्याङ – ६ चितवनमा भयावह दुर्घटना भयो । दोस्रो घट्ना– गौरबाट पोखरातर्फ आइरहेको ग.१ख ३७०९ नम्बरको बस दुर्घटना हुँदा पच्चीस जनाको घटनास्थलमै ज्यान गयो ७ जना बेपत्ता भए ।

यस्तै, ४ जना गम्भीर घाइते भए भने २३ जना समान्य घाइते भए । मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालका अनुसार उक्त बस दुर्घटना अत्यन्तै भयानक थियो । त्रिशूली नदीमा खसेको बस भेट्टाउन मात्रै प्रहरीलाई डेढ घण्टा समय लागेको थियो । यो दुर्घटनामा प्रहरीले १६ यात्रु लाई उद्धार गर्न सफल भएको थियो । तेस्रो घट्नास् – गत, भदौ ९ गते चितवनको दारेचोक ९ मा पूर्व मुख्यसचिव एवं पूर्व गृहमन्त्री माधव घिमिरे सवार गाडी साँघुरो कल्भर्टबाट त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भयो । ४ जनाको शव प्राप्त भए पनि अझै २ जना बेपत्ता रहेका छन् । प्रहरीले अझै घिमिरेको खोजी कार्यलाई जारी राखेको बताएको छ । चितवन प्रहरीका अनुसार मुग्लिन नारायणगढ सडक खण्डमा भएका पछिल्ला ठुला दुर्घटनाका दुई उदाहरण हुन् यी । पछिल्ला ४ महिनामा मात्रै यो सडक खण्डमा भएका दुर्घटनामा ४४ जनाले ज्यान गुमाए भने ७० भन्दा बढी घाइते भए ।

यस्तै, मुग्लिन प्रहरीले दिएको जानकारी अनुसार चितवनको पूर्वमा मौवा खोला र पश्चिममा सिमलताल सम्म जम्मा २७ किलो मिटर दूरीमा गएको साउनदेखि कात्तिक मसान्तसम्म ४२ जनाले ज्यान गुमाए भने १२ जना बेपत्ता भए । यस्तै, १ सय ८२ जना घाइते भए । त्यस्तै, मुग्लिन–नारायणघाट सडक खण्डको ३६ किलो मिटरको दूरीमा दस वर्षको अविधमा भएका २सय १८ दुर्घटनामा ३ सय ५० ले ज्यान गुमाएका छन्। यी दुर्घटनामा ५० जना गम्भीर घाइते भए भने झन्डै ४ सय जना सामान्य घाइते भए । यस वर्ष को ४ महिनाको अवधिमा १० वर्षकै सबै भन्दा बढी ४४ जनाले ज्यान गुमाएका थिए । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी योगेन्द्र हमालका अनुसार मुग्लिन–नारायणघाट सडक खण्डमा सबैभन्दा बढी दारेचोक र चण्डीभञ्जाङ गाविस का सडक–खण्डमा दुर्घटना हुने गरेका छन् । २७ किलोमिटर दूरीमा यस वर्ष ४ महिनाको अवधिमा दारेचोक गाविसको सडक खण्डमा ७४ सडक दुर्घटना भएको छ भने चण्डीभञ्ज गाविसमा ३३ सडक दुर्घटना भएका छन् । प्रहरीका नजरमा सडक दुर्घटना बढ्नुको पहिलो कारण चालकलाई मान्छन् ।

सडक को पूर्वाधार खराब भए पनि चालक सचेत नहुँदा दुर्घटना हुने भएकोले दुर्घटनाको पहिलो प्रमुख कारक चालक हुने प्रहरीको ठम्याइ छ । सडक राम्रो छैन भन्ने थाहा हुँदा हुँदै जोखिम मोलेर सवारी चालाए पनि त्यसमा चालकको कमजोरी हुने प्रहरीको तर्क छ । अहिले नारायणगढ मुग्लिङ सडकखण्डमा बिग्रे भत्केका सडक संरचना समयमा मर्मत नभएकाले, चालकले छिटो गन्तव्यमा पुग्न ओभरटेक गर्ने प्रवृत्ति हावी भएकाले सडकको एकातिरको भागमा त्रिशूली नदी भएका कारण पनि दुर्घटनामा धेरैको ज्यान जाने गरेको चितवनका प्रहरी प्रमुख एवं  प्रहरी उपरीक्षक दिपक थापाले बताए । राजमार्गमा दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा बढी दुर्घटना हुने ३७ ठाउँ पहिचान गरेर सुधार गर्नका लागि सडक विभागलाई पत्र लेखेर पठाएको चितवन प्रहरी प्रमुख थापाले बताए ।

प्रहरीले सडक दुर्घटना बढी हुने स्थलमा सङ्केत ट्राफिक सङ्केत चिन्ह नभएको भन्दै सडक विभागलाई पटकपटक ध्यानाकर्षण गरे पनि कार्यान्वयन हुन सकेको छैन । गत असोज ९ गते पूर्वगृहमन्त्री माधव घिमिरे सवार गाडी दुर्घटना भएको स्थल चितवनको दारेचोकको घोप्टेभीरमा अझै पूर्ण रुप मा रेलिङ हालिएको छैन भने अत्यन्तै साँघुरा र घुम्ती धेरै भएका सडकमा प्रष्ट रुपमा संकेत चिन्ह राखिएको छैन । भएका सडक संकेत चिन्ह पनि धुलोले छोपिएका छन् भने कतै सङ्केत चिन्ह हुनु पर्ने अत्यावश्यक ठाउँमा पनि चिन्ह राखिएको छैन । नारायणघाट–मुग्लिङ सडकखण्डको जुगेडी पुलदेखि मौवा खोलासम्मको भागमा त्रिशूली नदी पर्ने गर्छ ।

यी क्षेत्रमा हुने अधिकांश सडक दुर्घटनामा सवारी साधन त्रिशूली नदीमा खस्ने गरेका छन् । नदीमा सवारी साधन खसेपछि क्षति न्यूनीकरण गर्न प्रहरीलाई पनि मुस्किल पर्ने गरेको छ । जीवित व्यक्ति फेला पार्न कठिन हुने कुरा त छँदैछ नदी बाट घाइते तथा मृतकको शव निकाल्न र बेपत्ता हरुको खोजीमा पनि चुनौती हुने गरेको चितवन प्रहरी प्रमुख थापाले बताए । उद्धारका लागि विशेष तालिम प्राप्त दक्ष प्राविधिक जनशक्ति छैन पौडीवाजहरु छैनन्, अन्य सामग्रीहरु लाइफ ज्याकेट, उद्धारका क्रममा प्रयोग गरिने आधुनिक सामग्रीहरु छैनन् । यी कारणले गर्दा राजमार्गमा भएका सडक दुर्घटनामा उद्धार गर्न निकै चुनौती रहेको छ । प्रहरीले यस्ता बेला डोरी, कोदालो, स्टेचर जस्ता सामान्य उद्धार सामग्रीको सहयोग लिने गरेको छ। चितवन प्रहरी प्रमुख थापा भन्छन् ‘‘अहिलेको यस्तो अवस्था र हाम्रो राजमार्गको जोखिमको अवस्था अनुसार हामीसँग अत्याधुनिक उद्धार सामग्री हुनुपर्ने हो । प्रहरी पनि तयारी अवस्थामा रहनुपर्ने हो ।

त्यी कुराहरु को व्यवस्था हुन सकिरको छैन् ।०स्ू सडक दुर्घटना कम गर्नका लागि गत भदौ १३ गते जिल्ला ट्राफिक कार्यालयले नाराणघाट–मुग्लिन सडक आयोजना प्रमुखलाई पत्र लेखेको थियो । पत्रमा खतरायुक्त ३७ ठाउँको पहिचान गरी दुर्घटना हुने कारण र सडक आयोजनाले गर्नु पर्ने कामका बारेमा उल्लेख गरेको थियो । प्रहरी भन्छन् दुरावस्थामा रहेको सडकको किनारामा रहेको प्याराफिट, क्रस ब्यारिअर भत्किएको काम नलाग्ने भएको । कतिपय स्थानमा झाडी बढेर चालकहरु झुक्किएर सडक किनाराबारे जानकारी हुन नसक्ने अवस्था रहेको,साँघुरो र बढी जोखिम रहेका स्थानहरुमा हुनुपर्ने ट्राफिक संकेतहरु सम्बन्धी सुरक्षा सङ्केत चिन्हहरु नभएको पाइएको जसको कारण दुर्घटना बढेको, सडक विभागको इन्जिनियर, निर्माण व्यवसायी कम्पनीका इन्जिनियर र प्रहरीको स्थलगत सडक अनुगमनबाट ३७ वटा स्थानमा प्याराफिट, ग्याबिन क्रस ब्यारिअर, मेटल क्रस ब्यारिअर, ह्वाइट पेन्ट्स, रिफ्लेक्टर, सङ्केत चिन्ह तथा सुरक्षा सम्बन्धी ट्राफिक सङ्केतबोर्ड राख्नुपर्ने भन्दै अविलम्ब निमार्ण तथा मर्मतसम्भार गर्न भन्दै पत्र बुझाएको थियो । प्रहरीले यसरी गरेको आग्रहलाई सडक विभागले लत्याएको छ । प्रहरी ले यसरी सतर्क गराएको ३ महिना बितिसक्दा पनि न क्षतिग्रस्त पुलका रेलिङहरु मर्मत गरिएको छ न त अन्य सडकका संरचना हरुको मर्मतसम्भार नै ।

कुँवर भन्छन्, सबै स्टेक होल्डर हरुले आआफ्नो जिम्मेवारी पूरा गर्ने हो भने सडक दुर्घटना धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । सडक निमार्णका क्रममा सडकमा थुपारिएका ढुङ्गा माटाको थुप्रो समयमै हटाइदिए दुई तर्फी सवारी सजिलै चल्छ, प्रहरीले दिएका ३७ वटा ठाउँमा सडक विभागले उच्च गुणस्तरीय र मापदण्ड अनुसारका संरचना बनाउनुर्पयो । बनाएको प्यारामिटर र संकेत चिन्ह पनि नाम मात्रको भएको छ । बनाउने बित्तिकै कुनै गाडीले छुने बित्तिकै भत्किएका छन् ।

प्रहरीले सवारी चालक र सहचालकका लागि चेतना जगाउने काम समेत गरेको उनले बताए । ड्रिङ्क एन्ड ड्राइभको केही समस्या रहेको र मदिरा पिएर सवारी चलाउनेलाई चितवन प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउने गरेको बताए । जुगेडी, भण्डारा लगायत का ठाउँमा लामो दूरीका सवारी साधनमा दुई जना सवारी चालक राखे नराखेको , मादक पदार्थ चेकजाँच गरे नगरेको बारे चेकजाँच गर्ने गरेको प्रहरी प्रमुख थापाको भनाइ छ । मुग्लिन बजार कटेपछि सुरु हुन्छ राजमार्गका पुल र सडकको दुर्दशा ।

मुग्लिनको एक नम्बर पुल छेउ भेटिएका नकुल थापाले ३ वर्षअघि रेलिङ भाँचिदा समेत सडक विभागले हालसम्म वास्ता नगरेको बताए । यता, सडक विभाग इन्जिनियर शिव खनालले चाहिँ हरेक वर्ष पुल मर्मतका लागि बजेट विनियोजन गरेको बताए । स्थानीय बिनोद केशीले भने ‘मन्त्री, नेता, सांसद सबै यही बाटो हिँड्छन तर कसैले यसमा ध्यान दिएनन् । दुर्घटना भएर भत्किएको ठाउँ समेत मर्मत गर्दैनन् ।’ साढे ५ मिटरदेखि ६ मिटर चौडाइको साँघुरो सडक, ठूला मालबाहक सवारीको बाक्लो आवतजावत , बिग्रेको सडक समयमा मर्मत नगर्ने, पुलका भत्किएका रेलिङबाट सबारी खस्दा समेत सरकारी निकाय मर्मत र सुधारका काममा लागि नपर्ने कारण राजमार्ग जोखिम बन्दै गइरहेको छ ।

चालकको लापवाही लाई कारण देखाएर सडकको मापदण्ड पालना नगर्ने प्रवृत्ति पनि सडक दुर्घटनाको अर्को कारण हो । सामान्यतया ४० मिटर गोलाईका घुम्ती रहनु पर्ने मापदण्ड भए पनि राजमार्गमा रहेका सयौँ घुम्तीहरु साँघुरा छन् । जहाँ चालकले सन्तुलन गुमाउदा बढी दुर्घटना हुने गरेको प्रहरी बताउँछन् । ट्राफिक प्रहरीका अनुसार नेपालमा बर्से्नि सडक दुर्घटनामा २ हजारले ज्यान गुमाउने गरेका छन् भने दैनिक औसतमा ५ जनाले ज्यान गुमाउने र १२ जना घाइते हुने गरेका छन् ।

सडक निर्माण अहिलेसम्मकै सुस्त !
राजधानी जोड्ने मुख्य लाइफ लाइनको रुपमा रहेको नारायणगढ ( मुग्लिङ सडकखण्डको पुर्निर्माणको काम अत्यन्तै सुस्त गतिमा गएको छ । तीन अर्ब रुपैयाँको लागतमा र्निर्माण थालिएको सो, सडकको काम अहिले चालीस प्रतिशत मात्रै पूरा भएको छ । सम्झौता अनुरूप आउँदो बैशाख भित्रमा काम सक्नुपर्ने भएपनि ठेकेदारको ढिलाइ सुस्तीका कारण अवस्था ज्युको त्यु नै रहेको छ । दुई बर्ष बितिसक्दा समेत कामले गति लिन नसकेपछि तोकिएकै समयमा काम सम्पन्न नहुने निश्चित देखिएको हो ।

भूकम्प र नाकाबन्दीका कारण भन्दै सो, सडक खण्डको कामलाई चार महिना सारेर भदौंमा सक्ने गरी सम्झौंता गरेको थियो । ३३ किलोमिटर सडक फराकिलो बनाउन कामको लागि आँपटारीदेखि दासढुङासम्म भारतीय बिएलए तथा नेपाली श्रेष्ठ निर्माण कम्पनी , सिमलतालसम्म भारतीय उड हिल तथा नेपाली लामा निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिन सम्म भारतको सुप्रिम र नेपाली रौताहा निर्माण कम्पनीले ठेक्का पाएका थिए ।

पहिलो सडक खण्डमा ३५ प्रतिशत काम सकिएको थियो भने दोस्रोखण्डको ४७ प्रतिशत काम सकिएको छ । तेस्रो ठेकेदार कम्पनीले करिब ३४ प्रतिशत मात्रै काम पुरा गरेको छ । यो सडकखण्डको केही स्थानमा पहाडनै काटेर बाटो फराकिलो बनाउन थालिएको भए पनि केही स्थानमा कालोपत्रे भने हुन नसक्दा यात्रुले दैनिकी धुलोको सास्ती भोगिरहेका छन् । वर्खासम्म पनि कालोपत्रे नभए हिलोले सवारी साधन चलाउन नसक्ने अवस्था आउँछ । यता, सडक परियोजनाका प्रमुख चन्द्रनारायण यादबले नारायणगढ – मुग्लिङ सडक खण्डको काम सकिन अझै एक बर्ष लाग्ने बताए ।

प्रनिश थापा

Loading...