नवनियुक्त प्रहरी प्रमुख अर्यालको वायोडाटा

२०४४ चैत २९ मा प्रहरीमा जागिर सुरू गरेको २९ वर्षपछि चैत २९ मै प्रहरी प्रमुखको पद समाल्दै

काठमाडौँ । २०४४ साल चैत २९ गते नेपाल प्रहरीमा प्रवेश गरेका डीआइजी प्रकाश अर्याल २९ वर्ष पछि २०७३ साल चैत २९ गते नै नेपाल प्रहरीको प्रमुखको जिम्मेवारी समाल्दै छन् । आफ्ना प्रतिस्पर्धी नवराज सिलवाललाई पछि पार्दै नेपाल प्रहरीको महानिरीक्षक बनेका उनले मंगलबार चैत २९ गते नै सपथ लिने स्रोतले बताएको छ । सोमबार अबेर सम्पन्न मन्त्रिपरिषदको सोमबारको बैठकले उनलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ ।

अाज भन्दा ५३ वर्ष अगाडि दाङको त्रिभुवननगर नगरपालिकामा ०२० साल असार १४ गते उनको जन्म भएको थियो । ०३५ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेका उनले त्यसपछि २०३८ सालमा मानविकी विषयमा उत्तीर्ण श्रेणीमा आइए पास गरे भने अर्थशास्त्र विषय लिएर दोस्रो श्रेणीमा ०४२ सालमा बीए पास गरे । बीए पास गरिसकेपछि उनी ०४४ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षक पदमा भर्ना भई सेवा प्रवेश गरेका हुन् ।

प्रहरी सेवामै रहेका बेला अर्यालले तीन वर्षअघि स्नातकोत्तरको अध्ययन पूरा गरेका हुन् । अर्यालले व्यापार प्रशासनमा ०७० सालमा स्नातकोत्तर (एमबीए) गरेका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालिम लिएको मिति ०४५ साल जेठ २ बाट गणना गर्ने हो भने अर्यालले अब ठीक एक वर्ष आइजीपी चलाउने छन् र ३० वर्षे सेवावधिका कारण अवकाश पाउनेछन् ।

सुरुमा एक वर्ष प्ररही निरीक्षकको आधारभूत तालिम लिएका अर्यालले भारत र अमेरिकाबाटसमेत तालिम र कोर्षहरु गरेका छन् । ०५९ सालमा उनले अमेरिकामा जघन्य मुद्दा सम्बन्धी १२ दिने कोर्ष गरेका छन् । ०५६ सालमा भारतमा प्रति आतंक तथा विशिष्ट व्यक्ति कमाण्डोसम्बन्धी तीन महिने कोर्ष गरेका छन् ।

त्यस्तै नेपालमा उनले लागू औषध कानून कार्यान्वयन कोर्ष, अपराध अनुसन्धान तालिम, कमाण्डो तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, कानून कार्यान्वयनमा मानवअधिकार तालिम, मानव स्रोत व्यवस्थापन, विपद व्यवस्थापन, प्रशिक्षक प्रशिक्षण लगायतका कोर्षहरु गरेका छन् ।

प्रहरी निरीक्षकका रुपमा ०४४ साल चैत २९ मा नियुक्ति पाएका अर्याल ०५१ सालसम्म काठमाडौं बाहिर सरुवा भएनन् । ०५२ साल पुसमा डीएसपीमा बढुवा भएपछि सोही साल माघ २५ गते डीएसपी बनेर तेह्रथुम जिप्रकाको कमाण्ड सम्हाल्न पुगे ।

तेह्रथुममा काम गरेको एक वर्षपछि फेरि प्रहरी प्रधान कार्यालयमा सरुवा भएका उनी ०५४ साल पुसमा उनी त्रिभुवन विमानस्थलमा सरुवा भएका थिए । ०५५ साल असार ३ गतेदेखि नयाँ बानेश्वरस्थित लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाइमा जिम्मेवारी सम्हालेका उनले त्यसको एक महिना पछि नै उनलाई दैलेखको डीएसपी भएर गएका थिए ।

दैलेखमा एक वर्ष काम गरेका उनले मकवानपुरको डीएसपी भए काम गरे मकवानपुरमा करिब ७ मनिा कमाण्ड सम्हालेपछि उनी उपत्यका ट्राफिक महाश्ााखा रामशाह पथमा काजमा सरुवा भए । त्यहाँ ५ महिना काम गरेपछि अर्याललाई प्रहरी प्रकान कार्यालय कार्यविभाग नक्शालमा खटाइयो ।

०५२ सालमा डीएसपीमा बढुवा भएका अर्याल ०६१ साल चैत १ गते प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भए । एसपी भएपछि अर्याललाई ०६२ साल बैशाख ५ गते पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र बिराटनगर पुगेका थिए ।

त्यसपछि ०६३ साल जेठ १६ गते कास्कीको प्रहरी प्रमुखका रुपमा सरुवा गरियो, जहाँ उनी करिब २ महिनामात्रै बसेर संयुक्त राष्ट्र संघ मिसनमा सुडान गए । सुडानबाट फर्केपछि उनी पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरामा काजमा खटिए ।

०६४ साल मंसिर १२ गतेदेखि अर्याल अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा खटिए । अर्याललाई ०६५ साल कात्तिक २९ गते रुपन्देहीको प्रहरी प्रमुख भएर त्यहाँ पुगे । रुपन्देहीमा कार्यरत रहेकै बेला उनी एसपीबाट एसएसपीमा बढुवा भएका थिए । एसपीबाट एसएसपी भएसँगै उनी ०६६ साल कात्तिकमा फेरी काठमाडौँ तानिए ।

उनी राष्ट्रिय प्रहरी प्रतिष्ठान पुगे त्यहाँबाट अर्याल ०६७ असारमा अञ्चल प्रहरी कार्यालयमा काजमा खटिए । त्यसको करिब १६ महिनापछि उनलाई प्रहरी महानिरीक्षकको सचिवालयमा जिम्मेवारी दिइयो । र, त्यहीँ रहँदा उनी ०६९ साल पुस ४ गते डीआइजीमा बढुवा भए । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय अपराध नियन्त्रण ब्यूरो (सीआइबी) मा खटाइयो ।

यसवीचमा अर्याल ०७० पुस ११ गते मध्य क्षेत्रीय प्रहरी कार्यालयमा खटाइएका थिए । त्यसको एक वर्षपछि प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालय नक्शालमा खटिए ।

डीआइजीको जिम्मेवारीमा रहँदा गत साल माघ २१ गतेदेखि अर्याल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रमुख थिए । विभिन्न पुरस्कार पाएका अर्याललार्इ ०५५ साल जेठ १३ गते नसिहत कारबाही गरिएको थियो । त्यही बर्ष मंसिर ४ गते सचेत गराइएको थियो ।

अबको एक वर्ष उनी अब नक्साल स्थित हेडक्वाटरबाट देशभरको प्रहरी सञ्जाल चलाउने छन् ।

Loading...