पूर्व सभासद ढुंगेललार्इ सात दिनभित्र पक्राउ गर्न सर्वोच्चको अादेश

काठमाडौँ । माअोवादी केन्द्रका नेता तथा पूर्व सभासद बालकृष्ण ढुंगेललार्इ सात दिन भित्र पक्राउ गर्न सर्वोच्चले अादेश दिएको छ । ओखलढुंगाका दुई युवकको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढुंगेललार्इ सात दिन भित्र पक्राउ गर्ने सर्वोच्चले प्रहरी महानिरीक्षकका नाममा अादेश दिएको हो ।

तत्कालिन माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा ओखलढुंगाका दुई युवक भुवन श्रेष्ठ र उज्वन श्रेष्ठको हत्या अभियोगमा ढुंगेललार्इ दोषी ठहर गर्दै सर्वोच्चले सजाय सुनाएको थियो । सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ मा ढुंगेललाई सो हत्यामा दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको फैसला सुनाए पनि उनी पक्राउ परेका छैनन् ।

ढुंगेल पहिलो संविधानसभा (संसद)मा नेकपा माअोवादीबाट सदस्य बनेका थिए । तर सात वर्षदेखि उनलाई प्रहरीले पक्राउ गर्न नसकी फरारको सूचीमा राखिरहेको छ । अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलना मुद्धामा फैसला गर्दै सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले पटक पटक सुरक्षा निकाय र सम्बन्धित निकायमा निजलाई पक्राउ गरी कारवाही गर्न अदालतले आदेश दिइएको भए पनि ती निकाय एकअर्को निकायमा पत्राचार गर्नमै सीमित रहेको उल्लेख गर्दै ढुंगेललाई तत्काल पत्राउ गर्न निर्णय दिएका छन् । साथै उनलाई किन अवहेलना मुद्धा नलगाउने भन्नेबारे कारण देखाउन पनि अादेश दिइएको छ।

फैसलामा दोषी ठहर भएका ढुंगेलले विभिन्न समयमा सार्वजनिक रूपमा अदालतको आदेश अवज्ञा गरेको, प्रधानन्यायाधीशलाई वारेण्ट जारी गर्ने धम्की दिएको, सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरू बोलेको उल्लेख गर्दै अदालतले दोषी ठहर गरेका व्यक्तिबाट यस्ता आपत्तिजनक कार्य हुनु स्वीकार्य नहुने उल्लेख गरिएको छ। फैसलामा भनिएको छ, ‘अदालतबाट सजाय पाएको व्यक्ति फैसला मान्दिनँ, खारेज गर्छु भन्ने र फैसला गर्ने तथा न्यायपालिकाको नेतृत्व गर्ने न्यायाधीश तथा प्रधानन्यायाधीशप्रति अमर्यादित, आपत्तिजनक, भौतिक आक्रमण जस्ता धम्की दिने र कानुन कार्यान्वयन गर्नुपर्ने निकायहरू मुकदर्शक बन्ने स्थिति रहेमा यस मुलुकमा अदालत रहनु र नरहनुको कुनै अर्थ रहँदैन।’

Loading...