बालकृष्ण ढुङ्गेल प्रकरणले उब्जाएका प्रश्नहरू

- डा. ऋषिराज बराल

“बालकृष्ण ढुङ्गेललाई सात दिनभित्र पक्राउ गर्नु” भनेर अदालतले सरकारलाई दिएको निर्देशनको सन्दर्भलाई लिएर अहिले सञ्चारमाध्यमहरू तथा सामाजिक सञ्जालहरू रंगीचंगी भएका छन् । कतिले यसप्रति खुसी जाहेर गरेका छन् र कतिपयले प्रश्न उठाएका छन् । कतिपयले यो प्रकरणलाई लिएर माओवादीलाई वदनाम  गर्ने र आक्रोस पोख्ने माध्यम पनि बनाएका छन् ।
यथार्थतः ढुङ्गेल प्रकरण नयाँ होइन । यो दुई-तीन वर्षदेखि निरन्तर चर्चाको विषय बनेको सन्दर्भ हो । बालकृष्ण ढुङ्गेल जनयुद्धसित गाँसिएका पात्र हुन् र जनयुद्धसित जोडिएका सन्दर्भहरूलाई नितान्त व्यक्तिगत सन्दर्भ हानेर निस्पृह हुन मिल्दैन । अवश्य पनि हो, जनयुद्धमा कतिपय घटनासन्दर्भहरू पार्टीको नीति, योजना र कार्यक्रमबाहिर गएर खास व्यक्तिको निजी योजना तथा स्वार्थमा घटेका छन् र व्यक्तिगत रिसइवी साध्न पनि जनहत्याका घटनाहरू भएका छन् । तर ती एकदमे थोरै र विशिष्ट किसिमका छन् । यसमा बालकृष्ण सन्दर्भलाई जोड्न मिल्दैन l बालकृष्ण प्रकरणलाई जसरी विशेष मुद्दा बनाउन खोजिएको छ, यो निजी मामिलामा सीमित छैन, यो योजनाबद्धतामा आएको छ । यसलाई आधार बनाएर सिङ्गो माओवादी आन्दोलन, यसका स्थानीय तहदेखि केन्द्रीय नेतासम्म प्रहार गर्ने नजिरका रूपमा एउटा मनोआतङ्क निर्माण गर्ने उद्देश्यका साथ आएको छ यो प्रसंग । अहिले उनी कुन समूहसित सम्बद्ध छन् भन्ने कुरा भन्दा पनि यो प्रश्न सबै थरी ‘माओवादी’ हरूका लागि साझा सन्दर्भ र समस्या हो । यसलाई यस अर्थमा बुझनु र ग्रहण गर्नु आवश्यक छ ।
यो प्रश्नसित ढुङ्गेलसित मात्र जोडिएका छैनन् । अग्नि सापकोटालाई समेत यस्तै प्रश्नसित जोडेर चर्चाको विषय बनाउने गरिएको छ र विस्तारै अरू नाम पनि सतहमा ल्याइनेछ । तर जनयुद्धकालमा काङ्ग्रेस-एमालेका भिजिलान्तेहरूदेखि लिएर प्रहरी र सेनाले गरेका हत्या, आतङ्कका कुरा कथित मानअधिकारवादीहरू तथा अधिभक्ताहरूले उठाएको पाइँदैन । घरमा बसेका मान्छेलाई माओवादी बनाएर हत्या गरिएको छ,  बलात्कार गरिएको छ, खेत जोत्ताजोत्तैको मान्छेलाई माओवादी बनाएर हत्या गरिएको छ । थुप्रैलाई माओवादी बनाएर नितान्त व्यक्तिगत रिसइवी साधिएको छ ।  यी सबै कुरालाई स्वाभाविक जस्तो ठानी  अहिले तपसिलमा राखिएको छ । माओवादी विरुद्ध सबै एकमत देखिन्छन्, तर सेना, प्रहरी  र भिजिलान्तेहरूका कुकृत्यबारे कोही बोल्दैनन् । यस्ता सन्दर्भहरू उठ्दा केही दिनअघि सेनाका तर्फबाट चुनौतीपूर्ण  प्रतिक्रिया आएको कुरा पनि यहाँ स्मरणीय छ ।
वास्तवमा यो बालकृष्ण ढुङ्गेलको मात्र प्रश्न होइन । सिङ्गो पार्टीअन्तर्गतको घटना भएकाले यसमा खास व्यक्ति सिकार बन्नु विडम्बनाको विषय हो । यसको जिम्मा पार्टीले लिनुपर्छ । नेताहरूले लिनुपर्छ, त्यसमा पनि कमाण्डरका रुपमा सत्तासुख भोगिरहेका प्रचण्डले लिनुपर्छ ।  अहिले बालकृष्णका सामु आत्मसमर्पण गरेर जेलमा निर्वासित हुने अथवा भूमिगत हुने भन्ने मात्र बाटो छ । एक हिसाबले आतंकित जीवन बितिरहेका छन् उनी l  भूमिगत हुने कुरा व्यक्तिको कुरा नभएर आन्दोलनको कुरा हो । बालकृष्ण प्रकरण भनेको कानुनी र मनोवैज्ञानिक  दुवै आधार निर्माण गरेर सबै थरी माओवादीहरूलाई आतङ्कित पार्ने, टुक्राटुक्रा गरेर माओवादीलाई सिध्याउने सन्दर्भ हो यो । यस अर्थमा यो साझा समस्या हो र सारतत्वका दृष्टिले यो प्रचण्डमाथिको प्रहार हो ।
 विस्तृत शान्तिसंझौता सबैका लागि हो र सबैले पालना गर्नुपर्ने विषय हो । तर व्यवहारमा यसको पालना, अरू कुनै पार्टी र सरकारले गर्नु नपर्ने र माओवादीले मात्र गर्नुपर्ने स्थिति बनेको छ । विस्तृत शान्तिसंझौतालाई एकथरीले रछ्यानमा फ्यालेको स्थिति छ । जनयुद्धसित सम्बद्ध तमाम समस्या  मेलमिलाप आयोगमार्फत  तय गर्ने भनिए पनि एकपछि अर्को गरेर माओवादीहरूलाई आतङ्कित पार्न  थरीथरीका आदेश र निर्देश गर्ने स्थिति भएपछि विकल्प आत्मसमर्पण अथवा विद्रोह मात्र रहन्छ र सच्चा माओवादीले दोस्रो विकल्पमा नै  भविष्य देख्छ ।
साँचो कुरा के हो भने कहिले अन्तर्राट्रिय अदालत र कहिले के भनेर माओवादीहरूलाई आतङ्कित पार्ने काम भएको छ र कमजोरहरूले  आत्मसमर्पणको बाटो रोजि पनि सकेका छन् ।  प्रचण्डको पछिल्लो यात्रा पनि यसैको परिणाम हो । तर जति आत्मसमर्पण गरे पनि यो बाटोमा हिँडुन्जेल उनलाई यो आतङ्कले छोड्ने छैन भनेर उनले बुझ्नुपर्ने हुन्छ l
जनयुद्धकालमा माओवादीलाई सिध्याउन लगाइएको सङ्कटकालमा  “रक्षाका लागि आक्रमण” को नीति तय गरेझैँ अहिले रक्षाका लागि प्रतिरोध हो । प्रतिक्रियावादी सत्ताको अदालतमा विभिन्न किसिमका स्वार्थ समूहहरू सक्रिय हुने हुनाले स्वार्थ नमिलेका कारण यदाकदा केही सकारात्मक निर्णय गरेको देखिए पनि यसले वर्गस्वार्थ भन्दा  पर गएर माओवादीको पक्षमा फैसला गर्ला तथा गर्नेछ अथवा गर्ला भन्नुको अर्थ छैन ।  सारतः जसको सत्ता उसको अदालत हुन्छ र हुने गर्छ । अन्तिम सत्य यही नै हो । सबैले निसाना बालकृष्ण र प्रहार प्रचण्ड र अन्य नेताहरू भनेर बुझ्नु सही हुन्छ । अब आत्मसमर्पण अथवा प्रतिरोध दुईटा मात्र बाटा छन् ।  प्रतिरोधका लागि तयार हुन्छन् अथवा प्रतिरोधपछि उत्पन्न हुने परिस्थितिबाट बच्न माओवादी भनिएकाहरू घोसेमुन्टो लगाएर लुते वक्तव्यमा आफूलाई सीमित पार्छन्, यो हेर्न बाँकी नै छ ।
 माओवादीका नाममा निहत्था जनाको हत्या गरिएकाहरूको कुरा किन उठ्दैन ? बेपत्ता पारिएकाहरूको कुरा किन उठ्दैन ? यो घटनाले प्रस्ट रूपमा  प्रतिरोधमा उठ्न आह्वान गरेको छ । अब रक्षाका लागि हतियार उठाउनुको विकल्प छैन भन्ने कुरा यसले  देखाएको छ । नयाँनयाँ बालकृष्णहरू बन्दै जाने कि  प्रतिरोधका लागि तयार हुने ? अब अरू विपल्प देखिँदैन ।
सत्य के हो  भने नयाँ जनवादी क्रान्तिको झन्डा न उचाल्ने हो भने, सशस्त्र सङ्घर्षको बाटो अबलम्बन नगर्ने हो भने बाबुरामको बारेमा भन्न सक्तिन ,  जनयुद्धको इतिहासित गांसिएकाहरू अरू  सबैको इतिहास बालकृष्ण ढुङ्गेलको जस्तै हुनेछ  l प्रचण्डले साम्राज्यवाद-विस्तारवादको काखमा जतिपल्ट  टाउको जोते  पनि खैरियत छैन र बाबुराम-उपेन्द्रको हूलमा बैद्य कमरेडहरूले जति टाउको लुकाउन खोजे पनि केही हुनेवाला छैन  l सत्य यही नै हो  l  नयाँ जनवादी बैद्यदेखि ”पार्टीका नेताहरू राष्ट्रघाती छन् तर सेना राष्ट्रवादी  छ”  भनेर दलाली गर्ने समाजवादी ठकुरी बाबुसाहेबहरू हुन्, सबैले सोच्ने र बुझ्नुपर्ने कुरा यही हो  l
बालकृष्णको सन्दर्भ  आरम्भ मात्र हो, विषयप्रवेश l यो एक्लै आएको छैन l यस यथार्थलाई सबैले बुझ्नु आएअश्यक छ l

Loading...