अमेरिकालाई उत्तर कोरियाको चेतावनीः कुनै पनि वेला परमाणु युद्ध छेड्न सक्छौँ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वलाई थर्मो–न्यूक्लियर युद्धतर्फ धकेल्न खोजेको आरोप उत्तर कोरियाले लगाएको छ । उसले यसको प्रतिकार गर्न उत्तर कोरिया तयाररहेको समेत चेतावनी दिएको छ ।

उत्तर कोरियाका भाइस मिनिस्टर हान साङ रयोलले ट्रम्पलाई कोरियाली प्रायद्वीपमा तनाव पैदा गरेको आरोप लगाउँदै उत्तर कोरियाको सेनालाई उत्तेजित बनाउने काम नगर्न समेत चेतावनी दिएका छन् । अमेरिकाले आफ्ना सेनालाई उत्तेजित बनाउने काम जारी राखे कुनै पनि वेला विश्वमा परमाणु युद्ध छेड्न सक्ने उनले चेतावनी दिएका छन् ।

रयोलले भने, ‘यदि अमेरिका यस्तो चाहन्छ भने हामी युद्धका लागि तयार छौं ।’  उनले उत्तर कोरियाले देशको परमाणु कार्यक्रम जारी राख्ने र सहि समयमा यसको परीक्षण गर्ने समेत बताए । साथै चीनका विदेश मन्त्री वाङ यीले पनि अमेरिकालाई संकेत गर्दै उत्तर कोरियालाई उत्तेजित गर्ने काम जारी राखे त्यसको प्रतिकुल नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

उत्तर कोरियाले देशका संस्थापक किम इल सुङको जयन्तीको अवसरमा आयोजित नेशनल डेमा परमाणु हतियार लन्चिङ गर्न सक्ने बताइएको छ । उत्तर कोरियाको न्यूज एजेन्सी केसीएनए न्यूजका अनुसार अमेरिका कोरियाली प्रायद्वीपमा हस्तक्षेप दिइरहेको छ । यो यस्तो क्षेत्र हो, जहाँ ठूलो मात्रामा न्यूक्लियर हतियार छ ।

समाचारमा अमेरिकी हस्तक्षेप बढेमा आउने समयमा युद्धको अवस्था उत्पन्न हुन सक्छ र बिश्वको शान्ति र सुरक्षा खतरा उत्पन्न हुने चेतावनी उल्लेख छ ।

यसैबीच उत्तर कोरियाले आफूमाथि हुने कुनै पनि प्रकारका परमाणु आक्रमणको प्रतिकार गर्न आफू तयार रहेको दाबी गरेको छ । अमेरिकाले विभिन्न देशमा आक्रमणलाई तिब्र पार्दै गर्दा उसले परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको बताएको हो ।

अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनी समेत दिएका छन् । ‘हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,’ एक जना सैन्य उच्च अधिकारी चोइ ¥योङ हाइले भने ।

आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका थिए ।
उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको हो ।

अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्ध पछिल्लो समय तनाबपूर्ण बनेको छ । उत्तर कोरियाले यसबीच पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृङ्खलावद्ध रुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ ।

Loading...