भरतपुरमा मनोनयन दर्ताको रौनक – फाेटाेफिचर

चितवन । स्थानीय तह निर्वाचन २०७४ का लागि चितवनमा भरतपुर महानगरपालिकाको मेयर पदका लागि प्रमुख चार दल सहित ११ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवार मनोनयनको दिन मंगलबार साँझ ६ बजेसम्म ११ वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताए । मनोनयन गर्नको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भित्र उम्मेदवारहरुलाई प्रवेश गराइसकिएको र उनीहरुको उम्मेदवार दर्ता हुने बेलासम्म उम्मेदवारी मनोनयनको काम भइरहने न्यौपानेले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिकाबाट मेयरको लागि दिनेश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । यस अगाडि चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङ र भरतपुरका पूर्व नगरसभापति मिलनबाबु श्रेष्ठले मेयर पद छोड्न नमानेपछि कृष्णप्रसाद सिटौला पक्षधर कोइरालले मेयरको टिकट पाएका हुन् । काँग्रेसबाट उपमेयरमा पार्वती शाहको उम्मेदवारी परेको छ । त्यसैगरी, नेकपा एमालेको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर पदमा देवी ज्ञवाली तथा उपमेयरमा दिव्य आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा रेणु दाहाल र उम्मेदवारमा सुरेन्द्र गुरुङको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरको उम्मेदवारको लागि बद्रि तिमिल्सीना र उपमेयरमा रिना गुरुङको उम्मेदवारी परेको छ । राप्रपाबाट भरतपुरको उपमेयरमा उम्मेदवारी दिने गुरुङ स्थानीय कालिका एफ एम प्रालिकी स्टेशन म्यानेजर समेत हुन् ।

त्यस्तै, नेपाल फोरम लोकतान्त्रिकबाट भरतपुुरको मेयरमा राजु पौडेल, उपमेयरमा निरु कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट मेयरमा ज्ञानबहादुर गुरुङ र उपमेयरमा निर्मला आले मगर, नेपाल दलित पार्टीको तर्फबाट मेयरमा दिलबहादुर बिक, राष्ट्रिय जनमोर्चाको तर्फबाट मेयरमा भक्तिराम गौतम र उपमेयरमा उमादेवी शर्माको उम्मेदवारी परेको छ ।

 

Loading...