स्थानीय तह निर्वाचनमा भोट कसलाई ?

- मोहन बस्याल

स्थानीय निर्बाचन नजिकिदै गर्दा साँच्चिकै आफ्नो ठाउँमा सृजनात्मक विकास भएको हेर्न चाहने हो भने नेता चयन गर्दा बढो ध्यान दिनुपर्छ । हुनत कुनै दलबाट उपयुक्त ब्यक्ति उमेद्वार बनेर आओस भन्ने आम नागरिकको चाहनाले कहिले काही काम गर्दैन । दलका ठुला नेतालाई विभिन्न प्रकारका प्रलोभन र प्रभावमा पारेर पनि कतिपयले उमेद्वारी लिएर आउछन् । उमेद्वारीमा परेकाहरुबाटै छान्नु पर्ने बाध्यता नागरिक सामु हुन्छ । यसरी छान्नु पर्दा केही कुरामा ध्यान दिनै पर्छ ।

१. सामाजिक नेतृत्वको अनुभव छ ?
स्थानीय सरकार स्थानीय जनताको दैनिक सरोकारको नेतृत्व गर्ने निकाय हो । यस्तो नेतृत्व कुनै ब्यापार ब्यवसाय गरेर टन्न पैसा कमाएर पार्टिैलाई रकम बुझाएर टिकट पाएको ब्यक्तिले गर्न सक्दैन । कुनै एउटा पार्टीको झण्डा बोकेर मात्र हिडि रहने । आफ्नो पार्टिको मान्छे बाहेक अरुलाई मान्छे नै नगन्नेले पनि गर्न सक्दैन । उसले स्थानीय विद्यालय, सहकारी, सामुदायिक बन, उद्योग बाणिज्य संघ, कुलो तथा सिंचाई समिति, खानेपानी तथा सरसफाई समिति जस्ता सामाजिक संस्थाको नेतृत्व गरेको छ की छैन । उसको कार्यकालमा ति संस्थाको क्रियाक्लाप कस्तो थियो । ति कुरा ध्यान दिनु पर्छ । सामुदायीक बनको नेतृत्व गर्ने अनि घरमै फर्निचर उद्योग चलाएर मालामाल बन्नेहरु पनि उमेद्वार छन् । सरकारले दिने अनुदान दिने पैसा लिन सहकारी खोल्ने र अनुदान सकिएपछि बन्द गर्नेपनि छन् । राम्रो भन्दा आफ्नो नजिकको नातेदारलाई निजि स्रोतको शिक्षक राख्ने ब्यवस्थापन समिति अध्यक्ष पनि उमेद्वार बनेर आएका छन् ।कतिपय विद्यालयका शिक्षक वा प्रधानाध्यापक पनि आएका छन् । आफ्नो विद्यालयको नतिजा शुन्यमा गएको ध्यान नदिने तर पार्टिका सभा सम्मेलन नछुटाई पुग्ने गरेकाहरुलाई पनि स्थानीय तहको नेतृत्व दिन जरुरी छैन । कतिपय उमेद्वार बीस बर्ष अघिकै उमेद्वार पनि छन् । कोही उवेलाकै गाविस अध्यक्ष र मेयर पनि छन् । तिनीहरुले कस्तो काम गरे । उमेद्वार भएर पराजित भएका भए उनीहरु सामाजिक काममा सहभागि भए की भएनन् मुल्यांकन गर्नु पर्छ । एक पटक स्थानीय निकाय वा स्थानीय सामाजिक संस्थाको नेतृत्व गरि सकेको व्यक्ति असल चरित्रको छ भने पार्टि हेर्न जरुरी छैन । भोट हाल्दा हुन्छ । आफुमात्र हाल्ने होईन आफ्ना टोल छिमेक आफन्त सबैलाई भोट हाल्न प्रेरित गर्नुपर्छ ।

२. केन्द्रीय नेतृत्वसंगको सम्पर्क कस्तो  छ ?
स्थानीय परिवेसबारे जानाकारलाई स्थानीय तहको निर्बाचनमा प्राथमिकता दिनु पर्छ । तर जानाकारहरु बीच पनि केन्द्रिय नेतृत्वसम्म पहुँच भएको ब्यक्ति छ भने उसलाई उपयुक्तहरु बीच पनि उत्कृष्ट मान्न सकिन्छ । चाहे जे जे भने पनि अझै पाँच बर्ष स्थानीय तह केन्द्रिय निकायकै भरमा चल्छ । त्यसैले यस पटक केन्द्रिय नेतृत्वसंग समन्वय गर्न सक्ने पहुँच भएका नेतालाई मौका दिदा आफ्नो क्षेत्रको राम्रो विकास गर्न सकिन्छ । यस्तो पहुँचको मुल्यांकनसंगै बसेर खिचेका फोटा वा सेल्फी हेरेर भने गर्न हुँदैन । वा केन्द्रीय नेताका नातेदार वा परिवारका सदस्य भएर पनि हुँदैन । जस्तो अर्थ मन्त्रालय बजेट महाशाखामा काम गर्ने कर्मचारीका सहपाठी, योजना आयोगका आयुक्त वा अधिकृतहरु, भावी अर्थमन्त्रीका सहयात्री छन भने उनीहरुलाई प्राथमिकता दिदा राम्रो । यसो गर्दा योजना निर्माणका लागि विज्ञ उपलब्ध गराउने र बनेका योजनामा बजेट विनियोजन गर्न सजिलो हुन्छ । स्थानीय तहले केन्द्रिय तहबाट बजेट ल्याउन गफले काम गदैैन स्पष्ट योजना चाहिन्छ । यो कुरा ख्याल राख्नु पर्छ ।

३. रैथाने हो ?
अपवादका रुपमा फिरंगीहरुले पनि विकास गर्छन । त्यसैले बाहिरबाट आएकाहरुलाई निशेधनै गर्नुपर्छ भन्ने छैन । तर उसको बसाई बर्षौ देखि त्यही छ । र भावी सन्ततीपनि त्यही बस्ने गरि पेसा ब्यवसाय गरेर बसोबास गरि रहेको देखिन्छ भने त्यसलाई प्राथमिकता दिनु राम्रो हुन्छ । जस्ले तपाईको स्थानीय तहको क्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्न सुरक्षीत देख्दैन त्यसले तपाईको बसाईपनि सुरक्षित गराउन सक्दैन । तपाईको स्थानीय तहको नेतृत्व गर्ने मानिसको स्थायी बसोबास त्यहाँ हुँदैन भने सार्बजनिक जग्गा प्रदुषण गराउने उद्योगलाई दिएर बस्ती बस्न नसकिने बनाउन सक्छ । कमिसन लिएर ढुंगा गिटी निकालेर खोलालाई पुरै बगर बनाई दिन सक्छ । बन फडानी हुन सक्छ । सार्बजनिक ठाउँ लिलाम हुन सक्छ । त्यसैले सकभर त्यही भुमिका मर्निङ वाक गर्ने र साँझमा पुजा आजामा भजन गाउदा भेटिने भयो भने गजब हुन्छ । विरामी हुँदा स्थानीय स्वास्थ्य संस्थामा गराउछ  गराउँदैन ? आफ्ना सन्तानलाई स्थानीय शैक्षिक संस्थामा पढायोकी बाहिर राखेर पढायो ति सबै कुराको मुल्यांकन गर्नुपर्छ ।

४. विगत भन्दा बढि आगतलाई हेरौं ।
कतिपय उमेद्वारहरु विगतमा राम्रो काम गरेका पनि हुन सक्छन् तर उनीहरुको बर्तमान र भविश्य के छ त्यो पनि हेरौ । विगतमा काम गरेकालाई सधै सम्मान दिनुपर्छ तर सम्मान दिने नाउँमा वर्तमान अवस्थामा स्थानीय तहको नेतृत्व दिन सकिदैन । अहिले स्थानीय तहको नेतृत्व दिने भनेको वर्तमानलाई राम्रो नेतृत्व दिन सक्ने मात्र होईन भविश्यमा पनि राम्ररी डोर्याउन सक्ने हुनुपर्छ । विगतमा राम्रो काम गरेकाहरुको अनुभव लिर्दै अगाडी बढ्न सक्ने युवा छान्यौ भने राम्रो हुन्छ । भोलीका दिनमा पार्टिको केन्द्रिय नेतृत्व हुँदै सरकारको नेतृत्व गर्न सक्ने सम्भावना बोकेका मानिस छन भने ति ब्यक्तिलाई मौका दिनु पर्छ । यस्ता मानिसले आफ्नो कार्र्यकालमा पुरा गर्न नसकेका योजनालाई केन्द्रिय निकायमा बसेर पुरा गर्न सहयोग गर्न सक्छन् । यस्ता सम्भावना बोकेका युवा जिल्लामा औलामा गन्न सकिने मात्र हुन्छन् । प्रष्ट चिन्न सकिन्छ ।

५. सामाजिक स्वभाव छ ?
कतिपय ठुला नेता पनि जर्जर स्वभावका देख्न सकिन्छ । हामीले देख्छौ संसदमा कुर्सी फाल्नेहरु, बजेटको ब्रिफकेश फुटाउनेहरु यस्ता स्वभाव भएका जर्जर स्वभाव र  पाशविक प्रवृति भएका ब्यक्तिलाई स्थानीय तहको नेतृत्व दिने होईन वडा सदस्य पनि दिनु हुँदैन । स्थानीय तहका परिषदमा विभिन्न टोल विकास संस्थाको नेतृत्व गर्दै पनि पुगेर बवण्डर मच्चाउन सक्छन । सकभर जिम्मेवारीबाट बाहिरनै राख्नुपर्छ । यस्ता मानिसहरुले कहिले पनि राम्रो योजना ल्याउन सक्दैनन् । तर सधै अरुले ल्याएका योजनाको आलोचना गर्छन । विगतमा सर्बदलिय समितिमा बसेर पनि यस्ता मानिसले चरित्र देखाएका हुन सक्छन् त्यो ख्याल गर्नुपर्छ । जस्तो विगतमा आफ्नो पार्टिको नेता प्रमुख अतिथि हुने भएमा मात्र गाउँ, नगरवा जिल्ला परिषद गर्न दिने नत्र नदिनेहरु । यस्ता मानिसले गाउँको विकासका  लागि नयाँ बजेट जुटाउने हैन आएको बजेट पनि कार्यान्वयन गर्न नदिएर फिर्ता पठाउँछन् । कतिपय आफ्नो पार्टि निकटको ठेकेदारलाई जिम्मा दिने भए मात्र आयोजना अगाडी बढाउन दिने नत्र नदिने हुन्छन् । कतिपयले आफ्ना युवा संगठनलाई कमिसन माग्छन् । यस्ता धुन्धुकारीलाई स्थानीयतहको नेतृत्वमा आउन दिनु हुँदैन । यो पाँच बर्ष स्थानीय नागरिकले आफै योजना निर्माण गरेर त्यसको कार्यान्वयन गर्न पाए भने आमुल परिवर्तन हुनेछ ।

६. ब्यक्तिगत विज्ञता के हो ?
आफ्नो भौगोलिक क्षेत्रको अवस्यक्ता अनुसार फरक फरक क्षमता भएका मानिसलाई स्थानीय तहको नेतृत्व दिनुपर्दछ । कृर्षिमा आधारित अर्थतन्त्र भएको ठाउँका नागरिकले कृषिसंग जानाकार ब्यक्तिलाई अगाडी सार्नुपर्छ । कृषि पढेको वा ब्यवसायीक कृषि गरेको अनुभव छ भने उस्ले कृषिको आधुनिकिकरणका लागि राम्रा योजना ल्याउन सक्छ । पर्यटन ब्यवसायमा आवद्ध भएको ब्यक्ति छ भने पर्यटकीय विकासका लागि नयाँ योजना ल्याउन सक्छ । उद्योगी हो भने औधोगिक विकासका लागि काम गर्न सक्छ। शिक्षा क्षेत्रमा लामो अनुभव छ भने शैक्षिक केन्द्रका रुपमा विकास गर्न सक्छ । नेपाली भुमीको हरेक ठाउँमा नयाँ नयाँ किसिमका सम्भावना छन् । यो सम्भावना पहिल्याउन त्यस किसिमका विज्ञलाई अगाडी सार्न जरुरी हुन्छ । सहकारीका विज्ञले सहकारी अभियान मार्फत स्वरोजगार गर्ने, बचत गर्ने अभियान ल्याउन सक्छन् । शिक्षासेवीले निशुल्क र ब्यवहारिक शिक्षाको कार्यक्रम ल्याउन सक्छन् । यस्तो सम्भावना बोकेका मानिस छ भने एक पटकलाई पार्टि होईन उमेद्वार हेर्न सकिन्छ ।

७. पारिवारिक पृष्ठभुमि र आर्थिक अवस्था ।
तपाईको स्थानीयतहको नेतृत्व गर्ने नेताको पारिवारिक पृष्ठभुमि र आर्थिक अवस्था के हो ध्यान दिनु पर्छ । त्यही नेताको आयस्रोतमै परिवार निर्भर छ भने एक पटक सोच्नुपर्छ । किनकी स्थानीय तहको नेतृत्वगर्ने मानिसले आफ्नो पेसा ब्यवसायलाई ध्यान दिन सक्दैनन् । र स्थानीय सरकारबाट विधि सम्मत रुपमा आउने रकमले सिंगो परिवार पाल्न कठिन हुन्छ । यस्तो अवस्थामा परिवारका सदस्यको बैकल्पिक आयस्रोत भएको अवस्था भएकालाई प्राथमिकता दिनु पर्छ । साथै उसको विगतको आर्थिक अवस्था के हो अहिलेको अवस्था के छ ? के गरेर पैसा कमायो त्यो पनि ध्यान दिनुपर्छ । विभिन्न अवैधानिक काम गरेर पैसा कमाउने बानी परेकाले स्थानीय तहको जन प्रतिनिधिको अधिकार प्रयोग गरेर फेरी अकुत पैसा कमाउन ध्यान दिन सक्छ । आर्थिक अवस्था कमजोर भएर फरक पर्दैन तर सिंगो परिवारमा निर्भर छ भने पक्कै पनि गाह्रो पर्छ ।

अहिले सम्म नेतालाई लागि गरेर हामी चोखो बनि रहेका छौ्र । तर पाँच बर्षपछि हामीलाई त्यो अधिकार हुने छैन । अहिले हामीले असल नेता चयन गर्न चुक्यौ भने नेतालाई गालि गर्ने अधिकार हामीमा रहदैन । विगतमा जानिएर चिनिएन तर अहिले दर्जनौ विकल्प हुने छन् । निर्धक्क असल चयन गरौं । असल मानिस चयन गराउन सामजिक सञ्जाल वा मञ्चको प्रयोग गरेर अभियान सञ्चालन गरौं । एउटा असल नागरिकले सिंगो देशमा विकासको लहर ल्याउन सक्छ । प्रतिस्पर्धा निम्त्याउन सक्छ ।
भरतपुर १० चितवन
हाल युएई
कार्यसमिति सदस्य ः नेपाल पत्रकार महासंघ युएई ।

Loading...