विस वर्षमा संकलित अखेटोपहार नष्ट (फोटो फिचर)

चितवन । पुर्वीचितवनको टिकौलीमा रहेको सशस्त्र बन रक्षक तालिम केन्द्रमा भण्डारण गरेर राखिएका बन्यजन्तुहरुका अवशेष “अखेटोपहार” अंगहरु नष्ट गरिएको छ । झण्डै बीस वर्ष यता संकलन भएका एक सिंगे गैंडाको खाग, पाटे बाघको छाला, जंगली हात्तीका दाह्रालगायतका जीवजन्तुका अंगहरु “अखेटोपहार” चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सोमवार नष्ट गरिएको हो ।

विसं २०५४ सालदेखि देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालय लगायतमा संकलन भएका अखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएको थियो । लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन गर्न अप्ठेरो भएको र सुरक्षा चुनौती समेत बढ्दै गएको भन्दै त्यसलाई नष्ट गरिएको हो ।

अखेटोपहारहरु जलाएर यसको कुनै पनि महत्व छैन भन्ने सन्देश राष्ट्रिय निकुञ्जले दिन खोजेको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले वताउनु भयो । नष्ट गरिएसंगै यसले चोरी शिकारीलाई निरुत्साहित गर्न मद्दत मिल्ने उहांले वताउनु भएको छ । अनुसन्धानका लागि केही नमूना राखेर अरु सबै नष्ट गरिएको कंडेलले बताउनुभयो ।

जीवजन्तु मरेमा वा मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै, तस्करहरुबाट बरामद भएका अंगहरु पनि संकलन हुने गरेका छन् । सरकारले टिकौलीमा वि.सं. २०५४ सालमा केही अखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अंगहरु सुरक्षित राखिएका थिए । निकुञ्जका अनुसार विभिन्न जनावरका एक सय ११ थरिका अंग जलाइएको हो ।

गैंडाका ३ सय ६९ खाग, पाटे बाघका ६९ वटा छाला, जंगली हात्तीका १ सय ८५ वटा दाह्रा, चितुवाका ४ सय ९३ छाला, कस्तुरी मृगको ३६ थान बिना लगायतका वस्तु संकलन गरेर नष्ट गरिएको प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताए । चितवनमा बाघ, गैंडा, चितुवा, भालु, माछा प्रजाति, मृगलगायतका सात प्रकारका जनावरहरुको अखेटोपहार संकलन हुने गरेको छ । कार्यक्रममा विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरु, मध्यवर्तीका प्रतिनिधि, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि,बुद्धिजिवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Loading...