रेणु दाहालका श्रीमानले दिए देबी ज्ञवालीका छोराविरुद्ध किटानी जाहेरी

फेसवुकमा अश्लिल गाली गरेको आरोप, प्रमाणित भए पाँच वर्ष जेल सजाय

चितवन । जिल्लाको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी परेको छ । दाहालका श्रीमान् अनिलकुमार पाठकले निरब ज्ञवाली र एसबी बोहोरा विरुद्ध किटानी जाहेरी दिएका हुन् ।

चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दीपक थापाले दुई जनाविरुद्ध किटानी जाहेरी परेको शनिबार जानकारी दिए । सामाजिक सञ्जालमा दाहाललाई अश्लिल गाली गर्ने निरब भरतपुर महानगरका एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् । त्यस्तै बोहोरा पनि एमाले कार्यकर्ता हुन् ।

‘जसले जे गरे पनि हुन्छ जस्तो देखियो, एउटा गलत नजिर बस्ने अवस्था देखिएकाले मेरो श्रीमानले जाहेरी दिनुभएको हो’, दाहालले भनिन् । रेण दाहाल पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डकी छोरी हुन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडौँ जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको उपरीक्षक थापाले जानकारी दिए । विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कसुर प्रमाणित भएमा  दुई लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद या दुबै सजाय हुनसक्ने उनको भनाइ छ ।

निरव ज्ञवाली र एसबी बोहराको नामको फेसबुक आइडीमा दाहाललाई अश्लिल शब्दमा गाली गरी लेखिएको छ । विद्युतीय कारोबार ऐन २०६३ ले बन्देज लगाएको कानुन विपरितको कार्य गरेको हुँदा निज अन्यायी दुबै जनालाई खोजतलास गरी यसै कार्यालयबाट तत्काल पक्राउ गरी ल्याई विद्युतीय कारोबारी ऐनअनुसार हदैसम्मको सजाय जरिवानासमेत गरी न्याय पाउँ, पाठकको किटानी जाहेरीमा उल्लेख छ । उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

भरतपुर महानगरमा निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ । सोही समयमा उनीहरुले सामाजिक सञ्जालमा दाहाल विरुद्ध अश्लिल शब्द प्रयोग गर्दै पोष्ट गरेका थिए ।

Loading...