दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता सुरू

काठमाडौँ । दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको हो ।

निर्वाचन आयोगले बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ । सम्बन्धीत स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि उम्मेदवारहरू दलबलसहित पुग्न थालेका छन् ।

१, ५ र ७ नम्बर प्रदेशमा असार १४ गते चुनाव हुनेछ । १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकामा दोस्रो चरणमा असार १४ गते चुनाव हुन लागेको हो । प्रदेश नम्बर २ मा भने असोज २ गते चुनाव गराउने निर्वाचन आयोगले निर्णय गरेको छ ।

पहिलो चरणअन्तर्गत प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा वैशाख ३१ गते निर्वाचन सम्पन्न भएको थियो । भरतपुर महानगरपालिकाबाहेक अन्य सबै तहको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । सरकारले जेठ ३१, असार ९ हुँदै असार १४ गतेलाई दोस्रो चरण निर्वाचनको मिति तय गरेअनुसार आइतबार मनोनयनको कार्यक्रम राखिएको हो ।

प्रदेश नम्बर १, ५ र ७ मा ६४ लाख ३२ हजार ७६५ मतदाता छन् । यी मतदाताले निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चुन्नेछन् ।

यो निर्वाचनबाट १३ हजार ५५६ जना जनप्रतिनिधिहरू निर्वाचित हुने छन् ।

Loading...