कतार संकटः नेपाली मजदुरमाथि कुनै असर नपर्ने कतारको स्पष्टोक्ति

काठमाडौँ । कतारमा काम गरिरहेका नेपाली कामदारहरु कुनै पनि समस्यामा नरहेको कतारले जनाएको छ । पछिल्लो समय कतारमा कुटनीतिक संकट उत्पन्न हुँदा त्यहाँ कार्यरत साढे चार लाख नेपाली मजदुरको बारेमा चिन्ता बढ्दै जाँदा कतारले यस्तो बताएको हो ।

नेपालका लागि कतारका राजदुत युसुफ विन मोहम्मद अल हेलले मंगलबार श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरसँगको शिष्टाचार भेटमा कतारमाथि छिमेकी देशले नाकाबन्दी लगाए पनि त्यहाँ कार्यरत श्रमिकहरुमाथि कुनै असर नपर्ने बताएका हुन् । उनले कतारमा राजनीतिक समस्य उत्पन्न भए पनि त्यहाँ कार्यरत श्रमिकहरुको अवस्था पहिलेको जस्तै भएकोले चिन्ता लिनु पर्ने अवस्था नभएको जानकारी मन्त्री मन्सुरलाई जानकारी गराएका हुन् ।

भेटमा मन्त्री मंसुरले कतारमा पछिल्लो राजनीतिक घटनाक्रमका कारणबाट उत्पन्न हुनसक्ने सम्भाव्य असहज परिस्थितिबाट कतारमा कार्यरत रहेका नेपालीमा पर्ने असरबारे कतारी राजदुतसँग चासो व्यक्त गरेका थिए ।

श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलका अनुसार भेटमा श्रममन्त्री मन्सुरले कतार समस्याको समाधान शान्तिपूर्ण तरिकारले कुटनीतिक तबरबाट होस भन्ने नेपालको शुभेच्छासमेत व्यक्त गरेका थिए । कतारमा छिमेकी मुश्लिम राष्ट्रहरु युएई, दुबई, साउदी अरबलगायतका मुलुकले कुटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएका छन् ।

Loading...