गुटगत प्रतिस्पर्धाले डायस्पोरा विभाजन हुने डा. केशव पौडेलको उद्घोष

गौरी जोशी एमाले समर्थक प्यानल निर्माण गरेर एनआरएनए निर्वाचन लड्दै

- सिमरन शर्मा

न्यूजर्सी । गैरआवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका लागि २०१७–२०१९ सम्मको कार्यकालका लागि प्रष्टरुपमा नेपालकै राजनीतिक दलजस्तो टिम बनाएर चुनावी प्रतिस्पर्धामा जाँदा डायस्पोरा विभाजन हुने प्रतिक्रिया दिन्छन् वर्तमान अध्यक्ष डा. केशव पौडेल ।

नेपालमा प्रलयकारी भूकम्प गएकै दिन अध्यक्ष निर्वाचित भएका डा. पौडेल भूकम्पपछि लगभग पूर्णकालीनरुपमा नेपालमा उद्धार र राहत वितरणमा खटिए । भूकम्पकै कारण लामो समय मैले मेरो कार्यकाल नेपालकै लागि काम गरेर बिताएँ, अब एक पटक अमेरिकाको नेपाली डायस्पोराका लागि काम गर्ने इच्छा भएकाले पुनः उम्मेदवारी दिंदैछु, तर नेपाली राजनीतिक दल जस्तै अध्यक्षदेखि सदस्यसम्म सातै छाप हामीलाई भन्दै धु्रवीकृत भएर प्रतिस्पर्धामा जानु हितकर होइन भन्छन् डा. पौडेल ।

प्रवासमा जात, धर्म, जिल्ला, क्षेत्र र गाउँका आधारमा विभाजित नेपाली समाजलाई हामी अगुवा भन्न चाहनेहरुले नै मिलाउनुपर्छ भन्दै डा. पौडेल स्पष्ट पार्छन्– ‘मलाई पनि हाम्रो टिम बनाएर, प्यानल बनाएर अध्यक्षदेखि सदस्यसम्म नाम सार्वजनिक गरौं भन्ने ५० वटै राज्यका साथीहरुबाट व्यापक दबाब छ, तर म त्यस्तो प्यानल र टिम निर्माणको पक्षमा छैन ।

राम्रो मान्छे जुन ठाउँको, जुन गाउँको भए पनि आउनुप¥यो । संस्थालाई मर्यादित बनाउनुप¥यो । नेपाल र नेपालीको हितमा काम गर्नुप¥यो ।’

उता, अध्यक्ष पदका अर्का प्रत्यासी गौरीराज जोशी भने नेपाल कम्युनिष्ट पार्टी एमालेका समर्थकहरुलाई टिममा राखेर प्रतिस्पर्धामा जान लागेको खबर सार्वजनिक भएको छ । गौरी जोशीले एमालेको प्रवास संगठनको अध्यक्ष पदबाट भर्खरै पेन्सन पकाएका सञ्जय थापालाई पुछारको पद सदस्यमा ठाउँ दिएर एनआरएनमा जसरी पनि स्पेश दिलाउने बचन दिएको स्रोतको दाबी छ ।

जोशीको टिमबाट एमालेका प्रखर कार्यकर्ता पुरुषोत्तम बोहरा क्षेत्रीय उपाध्यक्षमा भिड्ने पक्का भएको छ भने अमेरिकास्थित एमालेकै प्रवास संगठनमा प्रवासी नेपाली मञ्चमा ६ महिना अगाडिसम्म व्यापक सक्रिय अच्युत सिग्देललगायत विष्णु राना मगर, परशुराम भण्डारी, गोपेन्द्र भट्टराई, रविन वज्राचार्य र गायक सुमन बुढा मगर भिड्दै छन् ।

राजनीतिक आस्थाका आधारमा जोशीको सेन्टिमेन्ट स्पष्टरुपमा बाहिर नदेखिए पनि अमेरिकामा लामो समयदेखि प्रवासी नेपाली मञ्च नामक एमालेको प्रवास संगठनमा सक्रियहरुलाई टिममा राखेर निर्वाचनमा जानुले गौरी जोशीको आस्था एमालेतिर रहेछ भन्ने हाललाई स्पष्ट भएको छ ।

उता, नेपाल विद्यार्थी संघमा रहेर काम गरेकै भए पनि अमेरिकी एनआरएनमा नेपाली राजनीतिको रंग दिनु हुँदैन, यसले समाज दुर्गन्धित हुन्छ भन्ने जिकिर गर्छन् डा. केशव पौडेल । वर्तमान कार्यसमितिभित्रकै कतिपय असाध्यै राम्रा, असल र इच्छुक साथीहरु एनआरएनको विभिन्न पदमा आउनुपर्छ र कतिपय बाहिरका साथीहरु पनि क्रमशः नेतृत्वमा आउनुपर्छ तर राजनीतिक, गुट र समूहको रंगीन लुगा फुकालेर आउनुपर्छ भन्छन् पौडेल ।

व्यवसायी गौरीराज जोशी सफल व्यापारी हुन्, तर यसरी राजनीतिक कार्यकर्तालाई समूहमा राखेर जसरी पनि अध्यक्ष बन्ने होडबाजीमा हिंडेको जस्तो देखियो भन्छन् न्यूजर्सीस्थित एडिसनमा बसोबास गर्दै आएका डम्बरसिंह थामी । बोस्टनका रामजी अधिकारी पनि थामीकै लयमा बोल्दै भन्छन्– ‘जोशीजीलाई दुलाहा राजा बनाएर एनआरएनलाई सधैं असहयोग गरेर भद्रगोल बनाउन कम्मर कसेर लाग्नेहरु जन्ती गइरहेको देखिन्छ ।’

रामजी अधिकारीले भने जस्तो जोशीको टिम भनेर सार्वजनिक भएको सूचीमा गत निर्वाचनमा पराजित हुनेबित्तिकै धाँधली भयो भन्दै अदालत पुगेका सञ्जिव श्रेष्ठ, रविन वज्राचार्य र उमा कार्की थापासमेत अग्रपंक्तिमा छन् ।

एकातर्फ मुद्दा, मामिला गर्दै हमेसा नकारात्मक टिप्पणी गर्नेहरुलाई अँगालो हालेर जोशीले जसरी पनि पद हत्याउने रणनीति लिएको स्रोतको दाबी छ भने अर्कोतर्फ एनआरएनलाई राजनीतिक गन्धबाट टाढा राख्नुपर्ने आवाज उठिरहँदा एमाले पार्टीबाट टिकट लिएरै निर्वाचन लडेजस्तो जोशीले गर्नुले एनआरएन अमेरिकालाई कता पु¥याउने हो चिन्ता बढ्दो छ ।

 

Loading...