कविताः आमा, तिम्रो सपनाको क्यानभास

- विधुर ढकाल

आमा तिम्रो कोमल हातबाट
कति भयो पकाएको खान नपाएको
सायद तिमीले अफ्नो कान्छोलाई मन पर्ने
भटमास भुटेर सातु पिनेकी हौली
तामाको अचार पनि साँधेर राखेकी हौली
सपनाको महल बनाउन
परदेशिएको तिम्रो छोरो
सपनाको महलमा नै थिचिँदै छ
किचिँदै सपनाका स्वर्णिम पाइतालाहरुले ।

तिम्रो सपनाको तस्बिर कोर्न भन्दै
मुग्लानिएको तिम्रो कान्छो
आज आमा
सपनाको रङझैँ
क्यानभासमा पोतिएको छ,
विनासुन्दरता
खाली एउटा अज्ञान चित्रकारले
कोरेको तस्बिरजस्तै
रङमा बढी पानी मिसिएर लत्पतिएजस्तै
पसिनाका टाटाहरुसँगै रंगिएको छ,
सुन्दरताको आभास मात्र
गर्न जान्दैन आज यो तस्बिर
न त तिमीले देखेको
सपनाको जस्तो
तस्बिर कोर्न सक्यो
न त आमा
तिम्रो कान्छोले तिमीलाई
जीवनको क्यानभासमा
सुगन्धित रङ नै भर्न सक्यो
मलाइ माफ गर है आमा !

हो, मैले तिमीलाई
सुन्दर सपना देखाएकै हुँ
मुग्लान छिर्ने बेलामा
ठानेको थिएँ आमा
यहाँ त धनको बोट नै छ
र तिम्रा सपना सजाउन
टिप्नेछु पत्रजस्तै धनलाई
तर आमा,
यहाँ न त धनको बोट पाएँ
न त एकलाई दुख्दा अर्काेलाई दुख्ने
मनको चोट नै पाएँ
आमा !
केवल पाएको तिम्रा
अधुरा सपनाका ताँतीहरु
तिम्रो चाउरिएको अधरमा देखिएको
आशाका विस्मृत मुस्कानहरु ।

आज सोच्दैछु आमा ⁄
तिमीले कस्तो पूरा नहुने
सपना देखिछ्यौ
मैले कस्तो पूरा नहुने
सपना देखाएछु
सपनाको क्यानभासमा
कोरिएका तस्बिरहरु
वास्तवमै आमा
बिपनाको क्यानभासमा
कोर्न कठिन हुँदो रहेछ ।

हामीले सपनाको क्यानभासमा
कोरेका तस्बिरहरु
बिपनामा अरुका क्यानभासका
स्वर्णिम तस्बिर हुँदा रहेछन् यहाँ
हामीले सपना देखेर
निर्माण गरेका संरचनाहरु नै
अर्काका हुँदा रहेछन् आमा !
किनकि हाम्रो निधारको क्यानभासमा
हाम्रो सपनाको क्यानभासमा
कोरिएको तस्बिर
भावीले कोर्नै बिर्सिएकी रहेछ ।

Loading...