क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि हुने खेलाडीलाई विदाई

चितवन । मध्यमाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७३ मा सहभागि हुने चितवनका खेलाडीहरुको शनिबार विदाइ गरिएको छ ।
विभिन्न विधामा सहभागी हुन लागेका ७४ खेलाडीलाई खेलकुद विकास समितिको हलमा कार्यक्रम आयोजना गरी विदाइ गरिएको हो । जिल्लामा विद्यालय स्तरबाट उत्कृष्ट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा भाग लिन पाउँछन् ।

विदाइ कार्यक्रममा बोल्दै प्रमुख अतिथि चितवन क्षेत्र नम्बर ३ का साँसद एवम् नेकपा एमालेका अध्यक्ष कृष्णभक्त पोखरेलले खेलाडीहरुले प्रतियोगिताबाट राम्रो उपलब्धि हासिल गरि जिल्लाको नाम राख्नेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा बोल्दै खेलकुद पत्रकार मञ्च चितवनका महासचिव दिपेन्द्र अधिकारीले अघिल्लो वर्ष जस्तै यस पटक पनि चितवनको टिम मध्यमाञ्चलमा उत्कृष्ट भइ शिल्ड हात पार्नेमा विश्वस्त रहेको बताए ।

चितवन २०७२ मा मध्यमाञ्चल प्रथम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष केशव आचार्यले प्रतियोगिहरुलाई अनुशासित भइ खेल कौशल प्रस्तुत गर्न निर्देशन दिए । कार्यक्रम जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगा लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । एथ्लेटिक्सतर्फ १९, भलिवलमा १८, कब्बडीमा १८, तेक्वान्दोमा ६, कराँतेमा ६, फूटवलमा ४, क्रिकेटमा ३ र उसुमा ६ जना खेलाडीले चितवनबाट प्रतिनिधित्व गर्दैछन् ।

Loading...