विराटनगर महानगरमा काँग्रेस विजयी पराजुली बने मेयर

मोरङ । दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान भएको एक मात्र महानगर विराटनगरमा काँग्रेले जित हासिल गरेको छ । बिराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भीम पराजुली विजयी भए । त्यस्तै उपमेयरमा पनि काँग्रेसकै इन्दिरा कार्की विजयी भएकी छन् ।

मेयरमा पराजुलीले २३०३१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमाले र फोरम लोकतान्त्रिकका साझा उम्मेदवार एमालेका विनोद ढाकाले १७३२१ मत पाएका छन् । संघीय समाजवादी फोरम र माओवादीका साझा उम्मेदवार उमेद यादव तेस्रो स्थानमा आए ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसकी इन्दिरा कार्कीले २०१८६ मत पाएकी छन् । दोस्रो स्थानमा रहेकी माओवादी केन्द्रकी उम्मेदवार नमिता न्यौपानेले ११५४४ मत पाएकी छन् । तेस्रो स्थानमा फोरम लोकतान्त्रिक र एमाले गठबन्धनकी उम्मेदवार सूची चौधरीले रहिन् ।

महानगरपालिकामा नेपाली कांग्रेसको यो दोस्रो जित हो । यसअघि ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसकै चिरीबाबु महर्जनले जितिसकेका छन् । काठमाडौं र पोखरा महानगरपालिकामा भने एमालेले जितेको छ । चुनाव सम्पन्न भएका चार महानगरमध्ये कांग्रेस एमालेले दुई दुईवटामा जित निकालेका छन् ।

भरतपुर महानगरपालिकामा विवादका कारण अहिलेसम्म परिणाम आउन सकेको छैन । अर्को कान्छो नगरपालिकामध्येको वीरगञ्ज महानगरपालिकामा भने चुनाव हुनै बाँकी छ ।

बिराटनगरमा मेयर पदका लागि एमालेले फोरम लोकतान्त्रिकसँग र संघीय समाजवादी फोरमले तालमेल गरेका थिए । तर, एक्लै मैदानमा उत्रिएका कांग्रेस उम्मेदवार पराजुलीलाई गठबन्धन गर्नेहरुलेसमेत हराउन सकेनन् ।

महानगरका वडाहरुमा पनि कांग्रेस नै हावी भएको छ । कांग्रेसले ७, एमालेले ३, माओवादी केन्द्रले १, संघीय समाजवादी ६ र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।

Loading...