गुरुपूर्णीमामा मानव सेवा आश्रमका बालबालिकालाई छात्रवृत्ति

चितवन । गुरु पूर्णिमाको अवसर पारेर भरतपुर २ बेलटाँडीमा रहेको नेपाल मानव धर्म सेवा समिति हंस कीर्ति आश्रमले १७ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आश्रमले नारायणगढ तथा गैंडाकोटका विभिन्न तीन वटा विद्यालयमा कक्षा २ देखि ७ सम्म पढ्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

बालकुमारी माध्यमिक विद्यालय नारायगणका कक्षा ६ र ७ मा पढ्ने पाँच जना, राष्ट्रिय प्राथमिक विद्यालय नारायणी नदी किनारमा कक्षा २ देखि ५ सम्म पढ्ने सात जना र महेन्द्र स्मारक निमावि गैंडाकोट नवलपरासीमा कक्षा ५ र ६ मा पढ्ने पाँच जना गरि जम्मा १७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नेपाल मानव धर्म सेवा समितिका नारायणी अञ्चल संयोजक थिरप्रसाद धितालले जानकारी दिए ।

त्यसैगरी आश्रमले गत वर्षदेखि स्थापना गरेको शिक्षा अभियानमा समेत शैक्षिक सामग्री संकलन गरिएको छ । कापी, सिसाकलम, मेटाउनी सहितको शैक्षिक सामग्री संकलनपछि विपन्न वर्गका विद्यार्थी पढ्ने विद्यालयमा लगेर प्रदान गरिन धितालले बताए । गत वर्ष संकलन गरिएको शैक्षिक सामग्री पदमपुरको विद्यालयमा लगेर त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिएको धितालले जानकारी दिए ।

आइतबार आयोजना गरिएको छात्रवृत्ति प्रदान एवम् गुरु पूजा सत्संग भजन कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गुरु पूर्णिमाको महिमाको बारेमा प्रवचन तथा भजन कीर्तन समेत गरिएको थियो । कार्यक्रममा साधु महात्मा अन्नपूर्ण बाइजी, साधु महात्मा विणा बाइजी, भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडा सदस्य राजबहादुर भण्डारी, नेपाल मानव धर्म सेवा समिति चितवनका सचिव भीमलाल पाण्डेलगायतले मन्तव्य राखेका थिए ।

महात्मा पुनित बाइजीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति नारायणी अञ्चल सचिव विनोद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।

Loading...