एक वर्षमा स्क्रब टाइपसका कारण ४ को मृत्यु, एकको मृत्यु डेंगुबाट

- ६८७ जनामा डेंगु भेटियो

चितवन । चितवनमा चालु आर्थिक वर्ष २०७३÷०७४ मा डेंगु र स्क्रब टाइफसका कारण पाँच जनाले ज्यान गुमाएका छन् । मृत्यु भएका मध्ये चार जना स्क्रब टाइफसका र एक जना डेंगुका बिरामी भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार यस वर्ष पनि किटजन्य रोग फैलिन सक्ने भएकाले सतर्कता अपनाइएको छ । चालु आर्थिक वर्षमा एक हजार छ सय २८ जनाको स्क्रब टाइफस परीक्षण गरिएकोमा पाँच सय पाँच जनामा संक्रमण भेटिएको थियो ।

त्यस्तै, दुई हजार पाँच सय ६२ जनाको डेंगु परीक्षण गरिएकोमा छ सय ८७ जनामा डेंगु भेटिएको केसीले बताए । चितवनका मात्रै छ सय १० जनालाई डेंगु लागेकोमा रत्ननगर नगरपालिकाका चार सय ८२ जना डेंगुबाट प्रभावित भएका थिए ।

स्वास्थ्य मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको आयोजनामा मंगलबार भरतपुरमा आयोजना भएको महामारी रोग र स्वास्थ्य सेवा विषयक पत्रकार अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै अनुप अधिकारीले किटजन्य रोगको कारण लाग्ने महामारीको बारेमा यहाँका जनता जानकर भएपनि वातावरणीय सरसफाईमा सरकारी निकायको मुख ताक्ने गरेको बताए । स्क्रब टाइफस रोगको महामारी नियन्त्रणको लागि भनेर जिल्ला जनस्वास्थ्य कार्यालय एक सय ९६ वटा किट किनेर अस्पतालहरुमा पठाएको अधिकारीले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार वर्षायामसँगै फैलिने महामारी नियन्त्रणको लागि कार्यालय तयार रहेको छ । कार्ययोजना निर्माण गरेर आफूहरु अगाडि बढेको जानकारी गराउँदै झाले विशेष गरि वातावरणीय सरसफाईमा जोड दिए । व्यक्तिगत सुरक्षा र सरसफाईमा ध्यान दिएमा किटजन्य रोगहरु महामारीको आफै नियन्त्रणमा आउने झाको भनाइ थियो ।

 

Loading...