मदन पुरस्कारका लागि चर्चामा छन् यी पुस्तक

काठमाडौँ । आगामी असोजमा प्रदान गरिने ‘मदन पुरस्कार–२०७३’ का लागि उत्कृष्ट नौ पुस्तकको सूची मदन पुरस्कार गुठीले सार्वजनिक गरेको छ । सो सूची सार्वजनिकसँगै मदन पुरस्कारको चर्चा सुरु भएको छ ।

२०७३ सालमा प्रकाशन गरेर मदन पुरस्कार गुठीमा दर्ता गराइएका पुस्तकमध्येबाट उत्कृष्ट नौको मनोनयन सो पुरस्कार गुठीले आइतबार सार्वजनिक गरेको हो ।मदन पुरस्कारका लागि यसपटक कथा, कविता, उपन्यास, खण्डकाव्य, नियात्रा र वास्तुकला संस्कृतिसम्बन्धी पुस्तक उत्कृष्ट नौको मनोनयनमा परेका छन् ।

२०७३ सालको मदन पुरस्कारका लागि कथाबाट दुईवटा पुस्तक परेको छ । हरि अधिकारीको कथासंग्रह ‘प्रतिनायक’ र राजेन्द्र पराजुलीको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’ मनोनयनमा परेका हुन् । यी दुवै संग्रह गत वर्ष चर्चामा थिए । अधिकारीको प्रतिनायकलाई शिखा बुक्सले प्रकाशन गरेको हो । विभिन्न समयमा लेखिएका १५ वटा कथालाई यस संग्रहमा समेटिएको छ । यस्तै पराजुलीको शुक्रराज शास्त्रीको चस्मालाई सांग्रिलाले प्रकाशनमा ल्याएको हो । यसमा पनि विभिन्न शैलीका समसामयिक कथाहरू छन् ।

२०७३ मा बजारमा आएका कवितासंग्रहमध्येबाट दुईवटा कवितासंग्रह मदन पुरस्कारका लागि मनोनयनमा परेका छन् । जसमध्ये सिमा आभासको कवितासंग्रह ‘म स्त्री अर्थात् आइमाई’ र नवराज पराजुलीको कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ रहेका छन् । यी दुईमध्ये फाइन प्रिन्टले प्रकाशन गरेको पराजुलीको कवितासंग्रह सगरमाथाको गहिराइले बढी चर्चा कमाएको थियो । जसमा सटिक र व्यंग्यप्रधान कविताहरू छन् । अर्को कवितासंग्रह म स्त्री अर्थात् आइमाईको प्रकाशन मञ्जरीले गरेको हो । गत वर्ष धेरै चर्चामा नरहे पनि यो संग्रहभित्र सशक्त कविताहरू छन् । शीर्षक हेर्दा नारी प्रधानजस्तो लाग्ने भए पनि यसमा पनि विभिन्न विषय, परिवेश र स्वादका कविताहरू छन् ।

२०७३ सालमा प्रकाशित उपन्यासमध्येबाट मदन पुरस्कारका लागि दुईवटा मात्र उपन्यास मनोनयनमा परेका छन् । यी दुईमध्य शरद पौडेलको उपन्यास ‘तपन’ र राज सरगमको उपन्यास ‘छाउघर’ मनोनयनमा परेका हुन् । जसमध्ये फाइन प्रिन्टले प्रकाशन गरेको छाउघर भने नेपालका पश्चिमी क्षेत्रमा विधमान छाउपडी प्रथामा केन्द्रित छ । लेखक सरगमले स्थलगत अनुसन्धानपछि यो उपन्यास पाठकमाझ ल्याएका हुन् ।

यस्तै सांग्रिलाले प्रकाशन गरेको पौडेलको उपन्यास तपन ग्रामीण संघर्षमा आधारित छ । ठेट नेपाली ग्रामीण भाषाको प्रयोग, त्यहाँको जीवनशैली र संघर्षका रोचक कथाका कारण यो उपन्यास सशक्त र पठनीय बनेको छ ।

यस्तै २०७३ सालमा प्रकाशित खण्डकाव्य र महाकाव्यमध्येबाट घनश्याम कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ मदन पुरस्कारका लागि मनोनयनमा परेको छ । महाभारतका एक सशक्त पात्र ‘धृतराष्ट्र’माथि यो खण्डकाव्य केन्द्रित छ । जसलाई ऐरावती प्रकाशनले बजारमा ल्याएको हो ।

२०७३ सालमा प्रकाशित नियात्रा संग्रहमध्येबाट जय छाङ्छाको नियात्रासंग्रह ‘दोहाको सीधा उडान’ मदन पुरस्कारका लागि मनोनयनमा परेको छ । साझा प्रकाशनले मुद्रण गरेको यो संग्रहमा लेखक छाङ्छाले दोहासहित विभिन्न ठाउँमा भ्रमण गर्दाका रोचक यात्रा कथा उतारेका छन् ।

२०७३ सालमा बजारमा आए पनि चर्चामा नरहेको पुस्तक ‘गुहा, गुहालेख, गुहाचित्र एवं अन्य सम्पदा’ पनि यसपटकका लागि मदन पुरस्कारको मनोनयन सूचीमा परेको छ । यो पुस्तक पुरुषोत्तमलोचन श्रेष्ठले लेखेका हुन् । पहिलो संस्करण उनी आफैंले प्रकाशन गरेको भए पनि यो पुस्तकको दोस्रो संस्करण केही दिनमै शिखा बुक्सबाट बजारमा आउँदै छ । जसमा ऐतिहासिक वास्तुकला तथा संस्कृतिलाई खोजमूलक रूपमा समेटिएको छ ।

यसरी विभिन्न स्वादका नौवटा पुस्तकलाई २०७३ को मदन पुरस्कारका लागि मदन पुरस्कार गुठीले चयन गरेको हो । यीमध्ये कुनले मदन पुरस्कार बाजी मार्ला भन्ने चर्चा परिचर्चा सुरु हुन थालेको छ । अाजको राजधानी दैनिकमा समाचार छ ।

Loading...