पचास प्रतिशत मात्र धान रोपाईँ सम्पन्न

चितवन । असार सकिन लागिसक्दा चितवनमा आधा क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालसम्म ५० प्रतिशतमात्र धान रोपिएको छ ।

कार्यालयले यसवर्ष जिल्लामा २९ हजार २ सय हेक्टर जमिनमा धान रोप्ने लक्ष्य राखेको छ । यसमध्ये अहिलेसम्ममा पुर्वी चितवनमा ९० प्रतिशत जमिनमा धान रोपिसकिएको छ भने पश्चिम चितवनमा मात्र ३० प्रतिशत जमिनमा धान रोपिएको छ । “गतवर्ष यो समयसम्म ८० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको थियो, जिल्ला कृषि विकास कार्यालयका प्राविधिक साहयक नोदनाथ लामिछानेले भने,यसवर्ष ढिलागरी मनशुन सुरु भएका कारण र सिचाई सुविधा नभएको स्थानमा रोपाइ हुन बाँकी छ ।”

उनले जिल्लामा ७० प्रतिशत जमिनमा सिंचाई सुविधा रहेको र ३० प्रतिशत आकाशे पानिको भर पर्नुपर्ने अवस्था रहेको वताए । चितवनमा यस वर्ष अधिकांश किसानहरुले सावित्री धान रोपेका छन् ।

कार्यालयले पनि सावित्री मध्यम,राधा र रामधान मसिना,राधा ४, हर्दिनाथ १ लगाएतका धान किसानलाई सिफारिस गरेको थियो । जिल्लाको साविकको गाविस पिप्ले,भण्डारा,कठार,कुमरोज र वढ्यौली धान उत्पादनका लागी पकेट क्षेत्र मानिन्छन् । जिल्लामा २ वर्षको समयअवधिमा ३ सय हेक्टर बराबरको धान उत्पादन हुने क्षेत्रफल घटेको कार्यालयले जनाएको छ ।

माछा पालन, केरा खेति तथा प्लटिङमा प्रयोग भएसँगै धान रोपाईको क्षेत्रफल घटेको हो । क्षेत्रफल घटेपनि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,विकसित प्रविधी लगाएतका कारणले उत्पादन वढ्ने कार्यालयको अनुमान छ ।

Loading...