डेंगु सार्ने लामाखुट्टे खोज र नष्ट अभियान

नवलपरासी । नवलपरासीको गैंडाकोट नगरपालिकामा डेंगो सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरिएको छ । जिल्लामा नै सबैभन्दा बढी डेंगो प्रभावित भनेर चिनिने गैंडाकोट नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ९ सम्म लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो ।

शनिबारसम्म सञ्चालन हुने अभियानमा त्यस क्षेत्रका प्रत्येक घरमा पुगेर महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरुले एडिस एजिप्टाई जातको लामखुट्टेको लार्भा खोजेर नष्ट गर्दैछन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका स्रोत व्यक्ति गौरीशंकर प्रसादका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगो सर्ने भएकाले उक्त लामखुटट्टेको वृद्धि विकास हुन नदिन खोज र नष्ट गर अभियान सुरु गरिएको हो ।

डेंगो ज्वरो खास गरि सहरी क्षेत्रमा फैलिने भएकाले त्यस क्षेत्रमा विशेष सतर्कता अपनाउनुपर्ने प्रसादले बताए । खास गरि फालिएका टायर, कुलर, फ्रिजको पानीमा डेंगो ज्वरो फैलाउने एडिज एजिप्टाइ जातको लामखुट्टेले फूल पार्ने भएकाले ती भाँडाहरुमा पानी जम्न नदिनु नै डेंगोबाट जोगिने उपाय भएको प्रसादको भनाइ छ ।विशेष गरि उक्त लामखुट्टे वर्षाको समयमा सक्रिय हुने र लामो समयसम्म जमेर रहेको सफा पानीमा फूल पार्ने भएकाले सबै जना सचेत हुनुपर्ने प्रसादले बताउनुभयो ।

चालु आर्थिक वर्षमा नवलपरासीमा १२ जनामा डेंगो ज्वरो देखिएकोमा गैंडाकोट क्षेत्रका मात्रै पाँच जना रहेका थिए । भरतपुरसँग जोडिएको क्षेत्र र शहरीकरणको विकास हुँदै गरेको क्षेत्रको रुपमा रहेको कारण गैंडाकोटमा डेंगोको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । गैडाकोटमा डेङगोको प्रकोप व्यापक रहेको गैडाकोट नगरपालीका नगरस्वास्थ्य संयोजक ईन्द्रराज सापकोटाले बताउनुभएको छ । गैडाकोटलाइृ फोकस गरेर जनचेतनामुलक साथै अन्य कार्यक्रमहरु संचालन गरिरहेको बताउनुभयो ।

 

Loading...