ठप्प मुग्लिन नारायणगढ सडक निर्माण

चितवन । आगामी मंसिर महिना भित्र निर्माण पूरा गरिसक्ने भनिएको नारायणगढ मुग्लिन सडकखण्ड बिस्तारको काम लगभग ठप्प भएको छ । असार महिना लागेदेखि नै काम सुस्त बन्दै गएको यो सडकखण्डको काम पछिल्ला दिनहरुमा लगभग ठप्प छ । सडकखण्डमा न त काम गर्ने मजदुर नै देखिन्छन् न त कुनै काम नै भएको छ ।अहिले सडकखण्ड निर्माणका लागि जम्मा ८३ जना मात्रै कामदार छन् ।

अधिकांश कामदारहरु घर फर्किएका छन् । केही स्थानमा पहिरो आए पन्छाउनका लागि भन्दै डोजरहरु राखिएका छन् । गएको असार २५ गतेदेखि रातीको समयमा सडक बन्द गरेपछि दिउँसोको समयमा सडकमा सवारी चाप पर्न थालेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरेर सडक निर्माणको काम गरिएको भनिए पनि सन्तोषजनक हुन सकेको छैन । ठेक्का अवधि सकिन ४ महिना बाँकी रहेकोछ भने सोमबार सम्ममा ५१.८ प्रतिशत मात्रै काम भएको आयोजनाका इन्जिनियर शिव खनालले नमस्ते टेलीभिजन संगको टेलीफोन बार्तामा बताउनुभएको हो ।

अहिले दिउसोको समयमा दोहोरो सवारी साधन कुदने भएकाले काम लगभग ठप्प भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । सामान्य मर्मत बाहेक अरु काम हुन नसकेको इन्जिनियर खनालले स्वीकार गरे ।

यसैबीच २ पटकसम्म म्याद थप गर्दा पनि लक्ष्य अनुसारको काम गर्न असफल ठेकेदारहरुको आयोजनाले पुनः तेस्रोपटक म्याद थप गरेको छ । आगामी २० फेब्रुअरी २०१८ सम्म निर्माण कार्य गरिसक्ने भन्दै २ जना ठेकेदारहरुको म्याद थप गरिएको हो । अँपटारीदेखि झण्डै १३ किलोमिटर सडकखण्ड निर्माणको जिम्मा लिएको बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी र सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम तथा रौताहा निर्माण कम्पनीको ठेक्का अवधि ६ महिना थप गरिएको छ ।

Loading...