७० वर्षमा एसईई पास गर्ने दुर्गे कामीको याचनाः साउदी जेलमा रहेका छोरालाई फिर्ता ल्याईदेउ

काठमाडौँ । ७० वर्षको उमेरमा एसईई उत्तीर्ण गरेर चर्चामा आएका स्याङ्जाका दुर्गे कामीले सरकारसँगै साउदीको जेलमा रहेका छोराको उद्दारका लागि याचना गरेका छन् ।

आईतबार सिंहदरबारमा पुगेर उपप्रधान तथा परराष्ट्रमन्त्री महरालाई कामीले यस्तो गुनासो गरेका हुन् । कामीले आफ्नो छोरा नरेन्द्र सुनार विक, साउदीको जेलमा रहेको जानकारी गराउँदै नेपाल फिर्ता ल्याउने पहल गरिदिन पनि अनुरोध गरेका हुन् ।

वैदेशिक रोजगारीको शिलशीलामा साउदी गएका छोरा विगत तीन वर्षदेखि जेलमा रहेको बताउँदै के कारण आफ्नो आफ्नो छोरा जेलमा परेको थाहा नभएको गुनासो गरे । तीन वर्ष हुँदा समेत सरकारले आफ्नो छोराको फिर्ताका लागि कुनै पहल नगरेको उनले गुनासो गरे ।

यसैबीच परराष्ट्रमन्त्री महराले नरेद्रको वास्तविक अवस्थाका विषयमा जानकारी लिने र नेपाल ल्याउन पहल गर्ने जवाफ दिएको परराष्ट्रमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले जानकारी दिए ।

यसैबीच उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग सत्तरी वर्षीया विद्यार्थी दुर्गे कामीले भेटी उच्च शिक्षा अध्ययनका लागि वातावरण मिलाई दिन अनुरोध गरेका छन् । परराष्ट्र मन्त्रालायमा आज मन्त्री महरालाई भेटी स्याङ्जाको श्री काला भैरव माविबाट एसइई परीक्षा पास गरेको जानकारी गराउँदै उनले थप अध्ययनका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

दुर्गे कामीले मन्त्री महरासँग भने, “मलाई ११÷१२ कक्षा पढ्ने इच्छा छ, यसका लागि सहयोग आग्रह चाहन्छु ।” उनले आफू सानो छँदा विद्यालय जान नपाएको गुनासो गर्दै आफू शिक्षक बन्ने लक्ष्य लिएको बताए ।

कामीले यसै वर्ष ‘डी’ ग्रेडमा एसईई उत्तीर्ण गरेका हुन् । कालाभैरव माध्यमिक विद्यालयका नियमिततर्फका परीक्षार्थी कामीले १ दशमलव २ जीपीए ल्याएर डी ग्रेड प्राप्त गरेका हुन् । उनी यस विद्यालयका नियमित छात्र हुन् । उनले ४ कक्षादेखिदेखि सोही विद्यालयका नियमित पढ्दै आएका थिए ।

चार छोरा, दुई छोरी र करिब डेढ दर्जन नातिनातिना धनी कामीको घर फेदिखोला गाविसको देउरालीमा पर्दछ

 

Loading...