मेरो जीवन रक्षा गर्ने यो महान देश यूएसएले गरेको छ, जसको गुण कसरी बिर्सिने -साहित्यकार अमरकुमार प्रधान

२०११ मंसीर १७ को दिन भीमेश्वर नगरपालिका २ नक्छेँ टोल, दोलखामा जन्मेका लब्धप्रतिष्ठित साहित्यकार अमरकुमार प्रधान यतिखेर आफ्नो जीवन संगिनी शशी प्रधानको साथमा  संयुक्त राज्य अमेरिकाको भ्रमणमा हुनुहुन्छ । नेपाल सरकारको निकायमा उपसचिव (सेवा निवृत्त), बालसंसार प्रा.लिका प्रबन्ध निर्देशकको रुपमा कार्यरत हुँदा पनि वहाँ नेपाल भाषा एकेडेमी, नेपाल बाल साहित्य समाज, भीम उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति, रमेश विकल साहित्य  प्रतिष्ठान, दोलखा पर्यटन विकास समिति,दोलखा विकास मञ्च,  द्वाल्खा गुठी, दोलखा स्रष्टा समाज, कालिञ्चोक युवा क्लब (पूर्व अध्यक्ष), भीम पुस्तकालयलगायत दर्जनौं सामाजिक संघसंस्थाहरुप्रति आवद्ध हुनुहुन्छ । झन्डै चार दशक अघि नै नेपालीमा एम.ए.गर्नु भएको प्रधानको साहित्यिक व्यक्तित्व र कृतिबारे एम.ए. थेसिस तयार गर्ने क्रममा  वहाँको साहित्यिक  योगदानबारे यादव श्रेष्ठ, समिरा बस्नेत र मन्दिरा दुलालले  अध्ययन अनुसन्धान गरिसक्नु भएको जानकारी प्राप्त भएको छ ।  प्रतिभा सम्मान २०५८ (प्रतिभा समूह काठमाडौ), तन्नेरी प्रतिभा सम्मान २०६१ (तन्नेरी द्वैमासिक), आमा सम्मान २०६३ (सुनकोसी साहित्य प्रतिष्ठान), दोलखाली रत्न सम्मान २०७० (ज्ञानगुन साहित्य प्रतिष्ठान), दीपा जनमत सम्मान २०७१, वैजयन्ती सम्मान २०७२ जस्ता सम्मानहरुबाट वहाँ सम्मानित हुनुभएको छ्र ।
उहाँसंगको छोटो भेटघाटको क्रममा डा.मधु माधुर्यले लिनुभएको विशेष अन्तर्वार्ता प्रस्तुत गरिएको छ–सम्पादक ।
 
आजसम्म विश्वका धेरै दिग्गजहरुले साहित्यबारे आआफ्नै परिभाषा दिएर व्याख्या गर्दै आएका छन्, साहित्यप्रति तपाईको निजि धारणा के हो ?
साहित्य त सहहित हो, सम्मानित राज्यनेता र विशिष्ट साहित्यकार वि.पि. कोइरालाले भनेझैँ । राजनीतिमा बन्धन हुन्छ । तर साहित्यमा अराजक हुन्छ । जुनसुकै विचारधारा वादका होला । जस्तो तेस्राआयाम अस्वीकृत जमात, तरलवाद, रङ्गवाद, फ्युजनवाद, भयवाद । नेपाली साहित्यको मन्दिर पुग्ने अनेक खुड्किलाहरु टेक्दै जाँदा कुनै खुड्किलाहरु भत्किन्छन्, कुनै दीर्घ रहन्छन्, अर्कोतिर प्रगतिशील र गतिशील साहित्यको कुरा छ । यसमा विभेदको मात्र एउटा अक्षरको छ । हाम्रो आँखा दुईवटा छन् । एउटा आँखाले हेरे प्रगति देखिएला अर्को आँखा चिम्ले गतिशील होला तर दुबै आँखा उधाएर हेर्दा सहि पूर्ण देखिएला । दुबै आँखा चिम्लेर भित्री आँखाले हेरे हुन्छ । 
 
हामीभित्र मन छ र मनुष्य कहलाएका हौँ । अक्षय हुनाले कहिले नाश नहुने अक्षर भएको हो । हाम्रो  पूर्खाले पनि उपन्यास, पुराण,रामायण, महाभारत, खण्डकाव्य लेखिका थिए । भगवान बुद्धको उपदेश त्रिपिटक पनि साहित्य हो ।
 
तपाईंले समालोचना र लेख लगायत नेपाली साहित्यको विविध विधामा कलाम चलाउनु भएपनि तपाईंको केन्दीय लेखनविधा कथा नै हो जस्तो लागेको छ, तपाईंको दृष्टिकोणमा नेपाली कथाको सामान्य रुपरेखा के हो ?
हेर्नुस् मेरो ‘अमरको कथा’ कथासंग्रहमा महाकवि लक्ष्मीप्रसाद देवकोटा को कथन उद्धृत गरेको छु ‘सानो कथा सानो झ्याल हो, जहाँबाट एउटा सानो संसार चियाइन्छ । हिन्दी साहित्यमा चन्दधरप्रसाद गुलेरीले मात्र तिनवटा कथा लेखे । त्यसमा ‘उसने कहाथा’बाट आधुनिक कथाको जन्म भयो । नेपाली साहित्यमा गुरुप्रसाद मैनालीको नामबाट आधुनिक कथा जन्मेको हो । म कथा पढ्छु र लेख्छु पनि । मैनालीदेखि पुस्कर सम्शेर, रमेश विकल, परशु प्रधान, महेश विक्रम शाह, विश्वम्भर चञ्चल, डा. कविताराम श्रेष्ठ, विजय चालिसे , तेजप्रकाश श्रेष्ठ अनि अमेरिका आएर पनि कथा लेख्ने निलम कार्की निहारिका, गोविन्द गिरी प्रेरणाका कथाहरु पठनीय छ । कथा लेखन क्रममा कविहरु पनि लागेका छन् । जस्तै एस.पी. कोइराला, धीर कुमार श्रेष्ठ आदि ।
 
कथा विधाको स्थान कहाँ छ ?
हुन त अचेल उपन्यासको बाढीले कथा सुस्ताएको छ । तर लघुकथाको फेशन बढेको छ । हुन पनि एकल बसाँईमा पढिसक्ने हुनाले  लघु कथाको प्रभाव सकारात्मक छ । तर जे भएपनि कथा कथा हो । नानीदेखि लागेको बानी हाम्रा आमाहरुले हामीलाई कथा सुनाई सुताउनुहुन्थ्यो । अहिले टि.भी., भिडियो, मोवाइल गेम हेर्ने, पढ्ने बानी छ । तर जेभएता पनि त्यसका कथा त चाहियो नै विना कथा न त चलचित्र बन्दछ, कथा विउ हो । त्यसैलाई विस्तारै गरेर ठूलो बढाइन्छ । वा पिपलको चौतारी बन्छ अथवा बोन्साइ गरेर गमलामा मात्र अटाइन्छ ।   
 
नेपाली कथा विधामा लागिपर्ने साहित्यिक व्यक्तित्वहरुको संख्या सानो देखिंदैन, त्यो क्षेत्रको एक श्रष्टाको रुपमा अनुभव गर्दा तपाईको साहित्य योगदान के छ ?
मलाई लाग्दछ, मैले विशेष केही गरेको छैन । विश्व ब्रह्माण्डको साहित्य भण्डार व्यापक र अनन्त छ । नेपालको पनि भण्डार भरिपूर्ण छ । त्यसैमा एउटा औँलासम्म भाँचेको हुँ । म ‘मास्टर अफ नन ज्याक अफ अल’ सम्म छु कि पाठक वर्गले मूल्याङ्कन गर्ने कुरा हो । 
 
 
साँग्रिला, आँखा, हलचल, जिज्ञासा, द्वाल्खा गुठी स्मारिका, भीमेश्वर मन्दिर जीर्णोद्वार स्मारिका, लायन्स क्लब दोलखा स्मारिका, दोलखा विकास मञ्च स्मारिका, दोलखा भीमेश्वर स्मारिका २०७३, भी.उ.मा.वि. रजत जयन्ती स्मारिका, सिंचाइ गतिविधि, जलस्रोत मन्त्रालय परिचय, रूम टु रिडबाट प्रकाशित बालकथाहरु आदिका सम्पादन गरेर तपाईंले नेपाली साहित्य र संस्कृतिको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएको छ, तपाईंका प्रकाशित कृतिहरूबारे जानकारी दिनुहुन्थ्यो कि ?
प्रकाशित कृत्तिहरु–त्रिविध (कथा संग्रह सहलेखन) २०४२, शान्ति कान्ति (कथा संग्रह २०५४, अनौठो कलम (सहलेखन बालकथा) २०६८, अमरका कथाहरु (कथा संग्रह) २०६९, कस्तो राम्रो चङ्गा (बालकथा) २०७०, मेरो भकुण्डो (बालकथा) २०७१, हाम्रा लोककथा  संकलन (सम्पादन) २०६६ जाम्बवती मास्के स्मृति (सम्पादन) २०६६, भीमेश्वरको उत्पत्ति (बालकथा) २०७४ । गोरखापत्र, मधुपर्क, जुनेली, साँग्रिला, आँखा, सासंक, चिमाल, सुनकोसी कान्तिपुर, तन्नेरी, धरातल, जनमत, दायित्व शब्दाअंकुर, नवप्रज्ञापन, नवश्रृंखला, वैजयन्ती, दैनिक पत्रिका कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोष्ट, नयाँपत्रिका, नागरिक आदि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना, संस्मरण, नियात्रा, कविता प्रकाशित छन्  ।
 
तपाईं बहुआयामिक अध्ययनमा रुचि राख्ने व्यक्ति, जीवन र जगत के हो ?
यो जटिल प्रश्न हो, अर्को सरल पनि हो । जीवन जन्म र मृत्युको अवधि हो । जगत ईश्वर प्राप्तिको अनन्त क्षण हो । त्यति हो सार्थक जीन्दगी जीवित रहन्छ भने निरर्थक जीन्दगी मृत्युतुल्य हुन्छ । महान् सन्त कविरले भनेझैँ “जव म जन्मे म रोएँ संसार हाँसे त्यस्तो कर्म गर्न सकूँ, जव म मरुँ संसार रोऊन् ।” 
 
तपाईको पाठकप्रति धारणा के छ ?
असल  लेखक पाठक पनि हो नपढी कोही विद्धान लेखक बन्दैन । डा. स्वामि प्रपन्नाचार्यले (काले राई) ३२ वर्षको उमेरमा क,ख,ग सिकी ४० वर्षको उमेरभित्र विद्यावारिधी गर्नुभयो । चन्द्रप्रसाद नाम मन नपरेर केवल नाम फेर्ने धुनमा किताब पढेर लेखक बनेका हृदयचन्द्र सिंह प्रधान नेपाली साहित्यले असल लेखक पाए । हुनत आफैँ मात्र लेख्ने  अर्काको नपढ्ने लेखक पनि हुन्छन् । तर असल लेखकले असल साहित्य पढी पाठकलाई असल साहित्यिक खुराक पस्कनुपर्छ ।
 
साहित्यिक सुरुवात कसरी भयो ? त्यसबेलाको परिवेश झल्कने गरी अलि विस्तृतमा बताइदिनु हुन्थ्यो कि ?
बुवाले ॐनम शिवाय भनी पाँच वर्षको उमेरमा धुलिखेलमा लेख्न पढ्न आरम्भ गराउनुभयो । दोलखा गएपछि भीम पब्लिक हाइस्कूलमा तीन कक्षामा भर्ना भएँ । यसअघि दोलखामै नरबहादुर गुरुसँग कालोपाटीमा काका रत्नप्रभात, दाइशरण र कान्छामामा अमन श्रेष्ठसँग गई कालोपाटीमा बाह्रखरीसम्म छिचोल्यौँ । भाइ सज्जनको मृत्युपछि बुवा विरक्तिएर धुलिखेलै फर्किनुभयो । केही महिनापछि आमा पनि धुलिखेल जानुभो । म सानीमा गंगालक्ष्मीको स्याहारबाट हुर्किएँ । साँहिलाबाजे  हरिबहादुर चरिकोटमा राइटर हुनुहुन्थ्यो । उहाँ मलाई चरिकोटमा पैसा फल्ने रुख छ, राम्ररी पढ्यौ भने टिपेर ल्याइदिन्छु,  भन्नुहुन्थ्यो । म त्यही लोभमा पढ्थेँ । जे किताब पाएपनि पढ्ने बानी भयो । स्कुलबाट तिलिङ्चो डाँडो  सरस्वतीथानमा वनभोज गयौँ । किताबहरु सरस्वतीकै अर्को रुप पछि सिकाइएको  थियो । वि.सं. २०१८ सालको दशैँ मनाए पछि म काका हेमबहादुरसँग धुलिखेल पुगेँ । केही महिनापछि काका शिवप्रसादले काठमाडौँ ल्याई प्रभात मिडिल स्कूलमा पाँच कक्षामा भर्ना गरिदिनुभयो । एकजना चन्द्रमान श्रेष्ठले लेखेको गणितको किताब पढ्नुपर्दथ्यो । सर आफैँले आफ्नो किताब पढाउँदा छक्क परेँ । सरस्वतीको रुप किताब हामी जस्तै ठूलाबडाले लेख्दारैछन् भन्ने बोध भयो । त्यसैबेला महात्मा गान्धीको जीवनी पढ्न पाएँ । ठूलोमामा जगतनारायण श्रेष्ठले  लिन आएपछि फेरि धुलिखेल पुगियो र ६ कक्षामा संजिवनी हाइस्कूलमा भर्ना भएँ । त्यहाँ वाचनालयमा उपलब्ध किताबहरु पढ्थेँ । मलाई गरीब, जेहेन्दार विद्यार्थी भनी  फि मिनाहा गरिएको थियो । त्यहाँ साहित्यिक गोष्ठी पनि हुन्थ्यो  । मैले कलम शीर्षकको कविता कोरेको थिएँ लगि सुनाएँ । नौ कक्षासम्म धुलिखेलमा पढेर छोडेपछि दोलखा गयौँ । किनकि बुवाको जागिर र मामा जगतको जागिर पनि सिन्धुलीमा भयो । हामीहरु मामाघर ट्वाल्चामा बस्न थाल्यौँ । हेडमास्टर भिमदल राई र अर्का शिक्षक बि. योञ्जन अचानक भागी गए । त्यसपछि स्वयम् सेवक शिक्षक माधवमणि राजभण्डारी कामुप्रअ. हुनुभयो । वर्षाको छुट्टीपछि राजभण्डारी र श्याम जोशी आउनुभएन । अनि प्रसिद्ध व्यवसायी र उद्योगपति इन्द्रमणि राजभण्डारीले सञ्चालक समितिका सेक्रेटरी खड्गबहादुर श्रेष्ठको जिम्मा लगाई रामबहादुर श्रेष्ठलाई दशैँ पछि कामुप्र.अ.को रुपमा पठाउनुभयो । दश सालमा स्थापित त्रिपुरा पुस्तकालय वि.सं.२०१४सालमा स्थापित भैरव लाइब्ररी  दुबै वि.सं. २०२३ साल जेठ ९ गते भीषण अग्नीकाण्डमा जलेको अवस्थामा जोगाउन काका भरतबहादुर श्रेष्ठले भीम पब्लिक हाइ स्कुलमा लगी राख्न भएको थियो । रामबहादर श्रेष्ठ अध्यक्ष, चोकबहादुर दाहाल उपाध्यक्ष, महासचिव,म विनोद श्रेष्ठ कोषाध्यक्ष बलराम श्रेष्ठ सदस्य भई भीम पुस्तकालय स्थापना  भएपछि विभिन्न  राजदूतावासहरुमा पत्राचार गर्न थाल्यौँ । अमेरिकन लाइब्रेरीले स्वतन्त्र विश्व, सोभियत दुतावासले सोभियत भूमि, चिनियाँ दुतावासले  सचित्र चीन, उत्तर कोरियाली दुतावास किम लि सुङको जीवनी पठाउन थाल्यो । त्यै बेला मैले कृष्णप्रकाश श्रेष्ठले अनुवाद गरेको महाकवि पुश्किनको जीवनी पढ्न पाएँ । मेघराज सर हेडमास्टर भएर आएपछि पुस्तकालयको स्थायी समिति गठनका लागि सार्वजनिक वैठक बस्यो । जसअनुसार हेडमास्टर पदेन अध्यक्ष, प्रधानपञ्च पदेन उपाध्यक्ष, रामबहादुर श्रेष्ठ महासचिव र कार्यकारी सहसचिव म भएँ । डायमण्डशमसेरको वसन्ती उपन्यास तेसैताका राति २ वजे पढेर सुत्न सकेँ । 
अब स्कुलमा हरेक शुक्रबार साहित्यिक गोष्ठी हुन थाल्यो । मैले लघुकथा सुनाएँ । दुबैसरले आधुनिक छ भनेर भन्नुभयो । श्यामजोशीको बुवा लालबहादुर जोशीको घरमा पनि साहित्यिक किताब धेरै थिए । मैले बर्षे विदामा मामाघरमाको भेडा चराउन जाँदा त्यही किताब लिई पढ्ने गर्थेँ । २०२५ को वर्षे विदाको छुट्टीमा पुस्तकालयको आयोजनामा बोक्सी भेट शीर्षक साहित्यिक गोष्ठी भयो । यो सार्वजनिक गोष्ठीमा मैले बोक्सीले भाइ मारेको भनाइ थियो । मामा जगतनारायणले पनि घण्टाकर्ण आँैशीको दिन बोक्सीले विद्या सिक्छ भनी सुनाउनु भएको थियो । गोष्ठीको सभापति ओखलढुंगाका प्रेमनारायण प्रेमी हुनुहुन्थ्यो । एउटा कुरा नबिर्सौँ । श्रेष्ठ र कोइराला सर मिली २०२४ साल माघ २४ गते सहिद दुर्गानन्द झाको जीवनीमा आधारित नाटक प्रदर्शन गरिएको  थियो । लेखनमा श्रेष्ठ सर उम्दा भएपनि शैलीमा कोइराला सर विशिष्ट हुनुहुन्थ्यो । 
श्रेष्ठसरको श्रीमति चन्द्राबाट छोरी रश्मी पैदा भईन् । जसको उपलक्ष्यमा ‘नौलो पाहुना’ शीर्षक कथा प्रतियोगिता भयो । मैले र चोकबहादुरले लेखेका कथाहरु उत्कृष्ट भएपनि नवजात शिशुको आगमनमा वियोगान्त कथालाई पुरस्कृत गर्न सकिन्न भनी कोइरालासरले उमेश श्रेष्ठको कथालाई उत्कृष्ट घोषणा गर्नुभयो । विस्तारै थाहा भयो श्रेष्ठ सर वामपन्थी, कोइरालासर दक्षिणपन्थी उहाँहरुको द्वन्द्वले हामीलाई फाइदा भयो । साम्यवाद के हो, पूँजीवाद केहो, पञ्चायती व्यवस्थाले कसरी दमन गरिरहेको छ । कोइरालासरको चक्रव्यूहमा परी नेपाली पढाउने गुरु नारायण गिरीले राजीनामा दिई हिँड्नुभयो । बद्रीमान सरले उच्च अध्ययनका लागि स्कूल छोडिसक्नु भएको थियो । वि.सं. २०२५ साल फागुनमा जब म पनि शिक्षक भएँ, कोइराला सरकै चक्रव्यूहमा परी रामबहादुर सर निष्काशित हुनुभयो । हुनत रामबहादुरसरले प्रशासनकै दवावमा उहाँलाई हटाइएका भन्नुहुन्थ्यो । पछि हुलाकबाट उहाँले राजीनामा पठाउनुभयो  अनिमात्र थाहा भयो रामबहादुर श्रेष्ठ त साहित्यकार कविताराम अस्विकृत संस्थाको संस्थापक, बुटपालिस आन्दोलनका अभियन्ता हुनुहुँदोरहेछ । उहाँले दोलखा छउञ्जेल कविताराम भनीकन चिनाउनु भएन । त्यो रहस्य नै छ । 
 
वि.सं. २०२६ सालको बडादशैँमा सयजना विद्यार्थीबाट जनही रु.पाँच उठाई मेघराज कोइरालाको प्रधानसम्पादनमा आँखा पत्रिका निकाल्यौँ । विशेषसल्लाहकारमा केशवराज घिमिरे हुनुहुन्थ्यो । मधु माधुर्यका पिता श्यामकृष्ण श्रेष्ठ सहित म सम्पादक भयौँ । त्यसमा मेरोकथा ‘चित्र बुद्धको’ छापियो । यसरी मेरो साहित्यिक यात्रा सुरु भएको हो ।
 
अमेरिका भ्रमणबारे तपाईको अनुभूति के छ ?
म १८ वर्षको उमेर हुँदा भीम पव्लिक हाई स्कूल दोलखाको शिक्षक थिएँ । त्यही बेला २०३० साल भदौ १८ गते म स्कूलमा सिकिस्त विरामी भएँ । त्यसै बेला मेरो मित्र अमेरिकी पिसकोर्समा कार्यरत भोलेन्टियर जिम गिस्सेनले हेलीकप्टर झिकाई काठमाडौँ ल्याई उपचारको प्रबन्ध मिलाई दिए । मेरो पेटका आवश्यक शल्यक्रिया गरी १९ दिन शान्त भवन अस्पतालमा उपचारार्थ बसी निको भएँ । हेलीकप्टरको दुई दिनको (अगिल्लो दिन फेला नपरे र) १०,०००।– (१० रु बराबर १ डलर हुनाले १०००।– डलर) भएछ । पिसकोर्स अफिसले जिम गिस्सेनलाई भनेछ, हामीले तिमी विरामी भएर हेलिकप्टर पठाएको  थियौँ । जिमको उत्तर थियो राम्रो गर्नु भयो । तर दुर्गम गाउँको साधारण शिक्षक जसको तलब मासिक १००।– रु हुन्छ । त्यो पनि भनेको बेला पाउँदैन कसरी तिर्न सक्छ । अन्तमा एपीसी नेपालको अफिसले निर्णय गर्नै सकेन, हेड अफिस यू एस ए पठाएछ । विदा लिन अघि सुखद् सूचना सुनाइयो उक्त रकम मिनाहा भएछ ।
 
यसरी मेरो जीवन रक्षा यो महान् देश यूएसएले गरेको छ । जसको गुन कसरी विर्सिने ? संयोगवश मेरो कान्छा छोरा अश्मन प्रधान पढ्नका लागि यहाँ आयो । २०६९ सालमा उसको स्नातक तहको दिक्षान्त समारोहमा आउन हामी दम्पतीलाई भिसा दिएन । यसपालि एम बि ए को दिक्षान्त समारोहमा आउन पायौँ । ठूलो छोरा शालिन र बुहारी मतिनाले पनि म्यान्मारदेखि आएर दिक्षान्त समारोहको कार्यक्रममा सरिक भए । अहिलेसम्म भर्जिनिया,न्यूयोर्क,वासिङ्गटन डि.सी. हेरिसकेँ । हाम्रो दोलखाली भाषामा पिएचडी गर्नुहुने विदेशी विदुषी क्यारोल गेन्नेटी क्यालिफोर्निया विश्वविद्यालय भाषाविभागको डिन भेट्यौँ । द्वाल्खा गुठी सदस्य भाञ्जा विमल श्रेष्ठले लसएन्जलस, लस भेगस्, हुभर ड्याम, हलिउड यूनिभर्सल स्टुडियो तारामण्डल हेर्ने गिफ्रिट अबीच्यूरी सबै ठाउँ घुमायो । भाइ पृथ्वीनारायण प्रधानले नायग्रा फल्स घुमायो । डा. मधुकृष्ण माधुर्यले पनि न्युयोर्क रमणीयस्थल घुमायो । उसको भाइ ज्ञानु श्रेष्ठले कनेक्टीका प्रान्त घुमायो । भाइ ई. लोकदर्शनले बाल्टीमोर र माउण्ट भर्भनको दर्शनीयस्थल देखायो । जे भनेपनि यूएसए अरुको नजरमा तानाशाह हो तर म भन्छु यसले आफैभित्र तानाशाह जन्मन दिदैन न त हुर्कने अवसर दिन्छ ।
 
 
 
 
 
 
 
 

 

Loading...