जुटेको एक वर्ष नपुग्दै फेरी फुट्यो राप्रपा, पशुपति शमसेरले बनाए राप्रपा प्रजातान्त्रिक

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका छन् । नयाँ गठन भएको पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राखिएको छ ।

अाइतबार नै नयाँ दल दर्ताका लागि निर्वाचन अायोगमा समेत निवेदन दिइएको छ । नयाँ दलमा तीन निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेका छन् । उनीहरुसहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य नयाँ पार्टीमा रहेको एक नेताले दाबी गरे ।

२४ सांसद रहेको राप्रपा नेपाल र १३ सांसद रहेको राप्रपाबीच गत मंसिर ६ गते पार्टी एकता घोषणा भएको थियो । पछिल्लो समय देउवा सरकारमा जाने कि नजाने भन्ने विवाद उत्पन्न भएपछि पार्टी विभाजनमा पुगेको हो । ६-९ फागुन ०७३ मा सम्पन्न एकता महाधिवेशनले राजासहितको प्रजातन्त्रको लाइन पारित गरेको थियो । फुटको विजारोपण पनि त्यही विन्दुमा भइसकेको थियो । त्यसलगत्तै डा. प्रकाशचन्द्र लोहनी नेतृत्वमा एक समूह चोइटियो र राप्रपा राष्ट्रवादी खडा गर्‍यो ।

सांसदहरु दिपक बोहरा, सुनिल थापा, विक्रम पाण्डे, रामकुमार सुब्बा, रेशमबहादुर लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, रमेश कुमार लामाको राणाको पक्षमा छन् ।

यसैगरी सइन्द्र वान्तवा, गिता सिंह, बबिना मोक्तान, धानो महरा, सिता लुइँटेल ज्ञवाली, राज्यलक्ष्मी देबी शाह, इस्तियाक अहमद खाँ, सरोज शर्मा, कमला देबी शर्मा, आनन्दी पन्त पनि राणा पक्षमा लागेका छन् । राप्रपासँग कुल ३७ सांसद थिए ।

यद्यपी राप्रपा अध्यक्ष कमल थापाले राणाले आफ्नो पक्षमा भएको भनेर दाबी गरेकाहरुको नामावलीका हस्ताक्षरहरु फर्जी भएको दाबी गर्दै आएका छन् ।

Loading...