जोखिमपूर्ण बस्ती स्थानान्तरण भएन्ः पहिरोले मानविय क्षती

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती भनेर पहिचान गरी स्थानान्तरणका लागि सिफारिस गरे पनि सो काम समयमा हुन नसक्दा पहिरोका कारण मानवीय र धनजनको क्षति भइरहेको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा पहिरो गएर चार जनालाई बेपत्ता बनाएको छ । त्यस स्थानमा भूकम्पका कारण डाँडाको माथिल्लो भागमा चिराचिरा परेकाले चिरामा पानी वा भेल पस्न नदिने उपाय गर्नुपर्ने निक्र्योल प्राधिकरणले गरेर सरोकारवालाहरूलाई जानकारी गराए पनि समयमा काम हुन नसक्दा र सार्नुपर्ने बस्ती समयमा नसार्दा क्षति हुन पुगेको प्राधिकरणले जनाएको छ ।

‘उक्त बस्तीमा जोखिम छ भनेर सार्नुपर्ने निक्र्योल भइसक्दा पनि काम हुन नसक्दा धनजनको क्षति भएको छ, अन्य स्थानमा पनि यस्तै अवस्था छ’, प्राधिकरणका नापी अधिकृत कमल घिमिरेले भने, ‘सरोकारवाला सबै निकायले उत्तिकै जिम्मेबारी बोध नगर्दा यो समस्या आइरहेको छ ।’

आवास बनाउने भनेर जग्गाविहीन भूकम्प पीडित र जोखिमयुक्त स्थानमा बस्दै आएका पीडितलाई सुरक्षित स्थानमा जग्गा खरिदको लागि दुई लाख रुपियाँ उपलब्ध गराउने भने पनि त्यस्ता पीडितको निवेदन पनि प्राधिकरणले अझसम्म लिएको छैन ।

प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरणको निर्देशक समितिको बैठकले प्रस्ताव गरेअनुसार मन्त्रिपरिषदबाट निर्णय भए पनि आन्तरिक तयारी नभइसकेका कारण तत्काल निवेदन नलिएको प्राधिकरणले जनाएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

Loading...