त्यो पिपलको रूख जसले १३ जनाको ज्यान जोगायो

काठमाडौं । माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी थिइन् । २७ वर्षीय समालाई आफ्नो भन्दा पनि चार सन्तान जोगाउनै मुस्किल पर्‍यो ।

घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् । त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए ।

८ जना बालबालिकासहित १३ जना पिपलको रूखमा बसेर जोगिएका हुन् । चार महिनाको बालकदेखि ११ वर्षकी बालिका थिए । समाका दुई छोरा दुई छोरी छन् । ‘राति सुत्न गएपछि बाढी आयो, न यता जान पाइयो न उता’, समाले रुँदै भनिन्, ‘पिपलको रूखमा बच्चा समातेर चार घन्टा बसियो ।’

बाढी पसेपछि उनको बस्ने बास छैन । माइत नजिक बसेकी समाका श्रीमान् अपांग छन् । ‘श्रीमान् काठमाडौं भएकाले बाँच्नुभयो नत्र बाढीले लाने रै’छ’, उनले भनिन्, ‘बासको व्यवस्था गरिदिए हुन्थ्यो ।’आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

अविरल वर्षाका कारण गत राति माडीमा बाढी आएको हो । दिउँसोदेखि सिमसिम पानी परे पनि राति ठूलो झरी पर्‍यो । खहरे खोला एक्कासि बढेर बस्तीमा पसेपछि स्थानीय त्रसित भएका थिए । ‘राति बाढी आएपछि वृद्ध र बालबालिका जोगाउन गाह्रो भयो । कतिले ज्यानको आस नै मारेका थिए । बाढीका कारण खाद्यान्न, लत्ता-कपडा, भाँडा बगाएको छ’, स्थानीयले भने ।

प्रारम्भिक जानकारीअनुसार माडीमा करिब ३ सय घरमा क्षति पुगेको छ ।रातभर सबै जाग्राम बसे । पानीको सतह बढेपछि यताउता जान सकेनन् । पटक-पटक बाढीले सताएर त्रसित बनेकाहरू यसपटक पनि ठूलै क्षति हुने आकलन गर्दै थिए । शनिबार पनि पानी पर्ने संकेत देखिएपछि उनीहरू झन् अत्तालिएका थिए ।

Loading...